सामुदायिक वनका महिलाको उदाहरणीय काम : खाजा खान दिएको रकमबाटै उद्यम

– मीना घोरसाइने

चितवन, पुस ६ । भरतपुर ११ की ४१ वर्षीय कविता सुनार पूर्ण रुपमा श्रीमानमा अश्रित हुुनुहुन्थ्यो । श्रीमानको वैदेशिक रोजगारीबाट प्राप्त कमाईले उहाँको परिवार सामान्य गुजारामा मात्र सीमित थियो ।

आफ्नै खेतीपाती नहुँदा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न किनेर खानुपर्ने बाध्यता थियो उहाँको परिवारको । कुरा २०६९ सालको हो । एकदिन उहाँले भरतपुर २ स्थित जलदेवी सामुदायिक वन उपभोक्ता समूहले हरियो वन कार्यक्रममार्फत महिलाहरुलाई आत्मनिर्भरतासम्बन्धी १६ हप्ते तालीन दिन लागेको जानकारी पाउनुभयो ।

त्यसपछि उहाँ पनि सो तालीममा सहभागी हुनुभयो । त्यतिबेला खाजा खान भन्दै दैनिक रु ३० दिइन्थ्यो । “आफ्नै कमाइ नहुँदा ३० रुपैंया हाम्रो लागि धेरै ठूलो रकम थियो”, उहाँ थप्नुहुन्छ, “सबै महिलाले खाजा खान दिएको रकमबाट आकाशदेवी कृषि सहकारी दर्ता गर्ने निर्णय गर्याै र सो रकम त्यहीँ जम्मा गर्याैँ ।”

तालीम पश्चात आफैंले व्यवसाय सञ्चालन गर्न परिवारको सहमती पाएपछि उहाँले सो कृषि सहकारीमार्फत रु २० हजार ऋण लिनुभयो र मासु व्यापार सञ्चालन गर्नुभयो । उहाँ भन्नुहुन्छ, “सुरुमा दैनिक रु ५ हजारको मासु ल्याएर बिक्री गर्न थालेँ । त्यसबाट रु एक हजार नाफा हुँदै गयो ।” आम्दानी बढ्दै गएपछि सानो पसलबाट उहाँले बिस्तार गर्दै जानुभयो । त्यसपछि उहाँले पसलका लागि आवश्यक सामान पनि थप्दै जानुभयो । उहाँ भन्नुहुन्छ, “व्यापारबाट मैले नसोचेको सफलता हाँसिल गरें ।” सो व्यपारबाट आफूले बचत समेत गर्न थालेको उहाँले जानकारी दिनुभयो । व्यापारसँगै उहाँमा अब आत्मनिर्भर भईसकें भन्ने आत्मविश्वास जाग्दै गएको छ ।

सुनारले मासु व्यापारबाटै वार्षिक रु ४ लाखसम्म वचत गर्दै आउनुभएको थियो । तर कोभिड १९ का कारण सरकारले लगाएको लकडाउनका कारण केही समय व्यवसाय ठप्प भएको गुनासो उहाँले गर्नुभयो । लकडाउन खुलेसँगै उहाँले सोही व्यापारलाई नै निरन्तरता दिँदै आउनुभएको छ । सुनारजस्तै त्यहाँकी ३१ वर्षीय सुनिता विश्वकर्मा पनि पूर्ण रुपमा श्रीमानमा नै आश्रित हुनुहुन्थ्यो ।

श्रीमानसँग पूर्ण रुपमा निर्भर रहँदा उहाँमा आत्मग्लानीको महसुस हुने गर्दथ्यो । त्यतिबेला उहाँमा आफैं आत्मनिर्भर भएर काम गर्न सकिन्छ भन्ने कुनै ज्ञान समेत थिएन । सुनारसँगैको तालीम समूहमा उहाँले पनि सहभागीता जनाउने अवसर पाउनुभएको थियो ।

तालीमपछि भने उहाँले बाख्रापालन व्यवसाय सञ्चालन गर्ने निर्णय गर्नुभयो । बाख्रापालनका लागि भन्दै उहाँले सोही कृषि सहकारीमार्फत नै रु १५ हजार ऋण लिनुभयो । सो रकमबाट उहाँले एउटा माउ बाख्रा सहित दुई पाठा ल्याउनुभयो । एक वर्षपछि नै बाख्रा बिक्रीबाट रु ३५ हजार आम्दानी गर्नुभयो । श्रीमान वैदेशिक रोजगारीमा भएका कारण परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने जिम्मेवारी उहाँमा नै थियो ।

बाख्रा पालनका लागि आफूसँग समय नभएकाले विश्वकर्माले सबै बाख्रा बिक्री गरेर केही समयपछि लोकल कुखुरामा लगानी गर्नुभयो । बजारमा लोकल कुखुराको माग बढी भएकाले त्यसबाट मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो । हाल उहाँले कुखुरा पालनबाटै खर्च कटाएर वार्षिक रु दुई लाख वचत गर्दै आउनुभएको छ । सो सामुदायिक वनकी अर्की उपभोक्ता राममाया परियारले पनि बाख्रा पालनबाटै आत्मनिर्भर बन्दै आउनुभएको छ ।

प्रकाशित मिति : 21 डिसेम्बर 2020, सोमवार
प्रतिक्रिया दिनुहोस