सिमसार क्षेत्र संरक्षणमा वन उपभोक्ताको योगदान महत्वपूर्ण-अध्यक्ष पाठक

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले नेपालका सिमसार क्षेत्र संरक्षणमा सामुदायिक वनका उपभोक्ताहरूको योगदान महत्वपुर्ण भएको बताउनु भएको छ ।

प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष पाठकले सिमसार संरक्षण गर्दै अाएका उपभोक्ताहरूलाई राज्यले सहयोग र प्रोत्साहन गर्न नसकेको बताउनुभयो।

ललितपुरको गोदावरीस्थित नोैधारा सामुदायिक वनमा आयोजित कार्यक्रममा उहाँले जल,जमिन र जंगलसँग जोडिएकोले सिमसार क्षेत्रले जैविक विविधता संरक्षणमै टेवा पुर्याएको बताउनुभयो ।

देशभरका झण्डै २३ हजार सामुदायिक वनले जोगाएकोले नेपालमा सिमसार क्षेत्र राम्रो अबस्थामा रहेको उहाँको भनाई थियो ।

महासंघका सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गोैतम, केन्द्रीय सदस्यहरू र उपभोक्ता समुहका सदस्यहरू समेतको उपस्थितिमा कार्क्रम भएको थियो ।

यो बर्ष नेपालमा पनि ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको हो । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्र समेतलाई जनाउँछ । देशैभर अन्य उपभोक्ता समुहहरूले पनि सिमसार दिवस मनाएका छन् ।

विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि १९७१ फेब्रुअरी २ मा इरानको रामसार शहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीमा विश्व सिमसार दिवस मनाउने गरिएको हो । नेपाल १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो ।

नेपालको कुल पाँच प्रतिशत क्षेत्रफल सिमसार क्षेत्रका रूपमा रहेको छ । तर सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजातिको अतिक्रमणले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ । समुदायले संरक्षण गरेकै कारण सिमसार क्षेत्र जोगिएको हो ।

प्रकाशित मिति : 2 फेब्रुअरी 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस