वन्यजन्तु संरक्षण ऐनले पारेका अप्ठ्याराबारे अन्तर्कृया

चितवन। राष्ट्रिय निकुञ्ज तथा त्यस अासपासका स्थानीय उपभोक्तालाई परेका समस्या र अप्ठ्याराबारे छलफल भएको छ ।

चितवनको माडीमा भएको अन्तर्कृयामा माडी गाउँपालिकाका अध्यक्ष ठाकुर प्रसाद ढकाल, बघौडा संरक्षण समितिका अध्यक्ष राम प्रसाद तिवारी, शोमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष झलकराम बराल, बोटे समुदायका सन्तोष बोटे लगायतको उपस्थितिमा भएको छलफलमा गाउँपालिकाले समेत निकुञ्जलाई कर तिरी विकास निर्माणको लागि ढुंगा, गिटी, बालुवा उपलब्ध हुने गरेको, स्थानीय समुदायले वनबाट निगुरो, पात समेत टिप्न नपाएको जानकारी गराउनु भयो ।

सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले वन्यजन्तु संरक्षण ऐन 2029 र त्यस अन्तर्गत बनेका नियमावलीहरुले समुदायमा पारेको असर र प्रभावबारे प्रकाश पार्नु भएको थियो । सचिव भण्डारीले निकुन्ज अासपासका जनतालाई प्राकृतिक श्रोतमाथिको अधिकार बाट बन्चित गरिएको र कानुन पनि स्थानीय उपभोक्ताको हित प्रतिकुल भएको बताउनुभयो ।

उहाँले स्थानीयले सारा दुख र समस्या सहेर वन र वन्यजन्तु जोगाउने गरेका तर त्यसबाट हुने लाभ भने सरकारले उनीहरूलाई नदिएको भन्दै उपभोक्ताको अधिकारका लागि महासंघले प्रयास गरिरहेको बताउनुभयो ।

अन्तर्कृयामा सहभागी स्थानीयले पनि वन्यजन्तु संरक्षण ऐन 2029 र त्यस अन्तर्गत बनेका नियमावली उपभोक्तामैत्री नभएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : 9 फेब्रुअरी 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस