वन पैदावार निकासी उपभोक्तामैत्री बनाउन फेकोफनको माग

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सामुदायिक वनभित्रका वनपैदावार निकाल्न अहिले पनि अवरोध भैरहेको बताउनु भएको छ ।

कानुनले दिएको अधिकार बमोजिम समेत वन पैदावार निकाल्न नपाउँदा त्यसको असर वन संरक्षणमा देखिन थालेको उहाँले बताउनुभयो । घाटगद्दी भएका बाहेक कानुनले दिए बमोजिम समेत वनपैदावार निकाल्न नपाउने हो भने उपभोक्ताहरूको अावश्यकता परिपुर्ती नहुने र संरक्षणका काम समेत प्रभावित हुने अध्यक्ष पाठकले स्पष्ट पार्नुभयो । वन उपभोक्ताको अधिकार सुनिश्चित गर्न सरकारहरूले उदासिनता देखाउने गरेको पनि उहाले बताउनुभएको छ ।

हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाठकले कानुनले उपभोक्ताहरूलाई प्रयाप्त अधिकार दिएपनि विभिन्न बाहानामा सरकार पक्षबाट अवरोध अाउने गरेको प्रष्ट पार्नुभयो ।

वर्तमान सरकारले बैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेर स्वागतयोग्य काम गरेको तर प्रशासन संयन्त्रले त्यसको कार्यान्वयनमा अझैपनि अानाकानी गरेको अध्यक्ष पाठकको भनाई छ ।

उहाँले मुलुक संघियतामा गएको तर वन प्रशासनको पुनर्संरचना नभएको बताउनुभयो ।

साधारणसभामा समूहका अध्यक्ष कृष्ण बिडारीले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७७/०७८ का लागि करिब ६० लाख रूपैंयाको अनुमानित आयव्यय विवरण पेश गर्नुभएको थियो ।

साधारणसभा उद्घाटन समारोहमा फेकोफन बागमती प्रदेश सदस्य खडानन्द चौलागाई र महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले उपभोक्ताहरूको हक अधिकार र सामुदायिक वन संरक्षणमा भैरहेका कामहरूबारे प्रकाश पार्नुभएको थियो ।

यस्तै समारोहमा हेटौंडा-६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोला, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने,सव-डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा,स्थानीय वन महासंघ हेटौंडाका अध्यक्ष शम्भु न्यौपाने, सव-डिभिजन वन कार्यालय हर्नामाडीका सहायक वन अधिकृत दीपक पुडासैनी, चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी,नौलो बिहानी सहकारीका अध्यक्ष भरत सापकोटा, वशंगोपाल माविका प्रधानाध्यापक रमेश लामिछाने, प्रज्वल शिक्षा सदनका प्रधानाध्यापक गणेश श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यस अवसरमा वन संरक्षण र समुदायको हितका पक्षमा काम गर्ने अग्रज, समाजसेवी, सञ्चारकर्मी लगायत ८ जनालाई सम्मान गरिएको थियो।

रानी सामुदायिक वन उपभोक्ता समूहमा ९ सय उपभोक्ता आबद्ध रहेका छन्।

प्रकाशित मिति : 21 फेब्रुअरी 2021, आइतवार
प्रतिक्रिया दिनुहोस