विपतको जोखिम कम गर्दै प्रभावितको उद्दार तथा राहतमा ध्यान दिन फेकोफनको आग्रह

काठमाडोैं । सामुदायिक वन उपभोक्ता महासंघले बाढी,पहिरो, डुवान लगायतका प्राकृतिक विपतको जोखिम कम गर्न र प्रभावितहरूलाई समयमै जोगाउन सरकारलाई आग्रह गरेको छ ।

महासंघकी अध्यक्ष भारती पाठकद्वारा जारी विज्ञप्ति मार्फत महासंघले विपतमा परेकाहरूको उद्दार, राहत र पुनस्थापना गर्न पनि माग गरेको छ ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केही दिन यता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुवानले ठूलो मात्रमा जनधनको क्षति भैरहेको उल्लेख गर्दै फेकोफनले सतर्क रहेर राहत तथा उद्दारमा सघाउन मातहतका संरचनाहरूलाई अपिल समेत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष विगत वर्षमाभन्दा बढी पानी पर्ने र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सम्भावित जोखिमवाट प्रभावित सुची अनुसार २३ जिल्लाका १७ लाख स्थानीय समुदायहरु बाढीबाट प्रभावित हुने र २६ जिल्लाका १ लाख २० हजार स्थानीय समुदायहरु पहिरोवाट प्रभावित हुने अनुमान गरेको स्मरण गर्दै फेकोफनले यस यस विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा ध्यानदिनुपर्ने उल्लेख गरिएको छ । महासंघले जोखिममा परेका समुदायहरुलाई सुरक्षित स्थानमा लगेर राखी गास,बास तथा स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाउन र थप जोखिमबाट बचाउनका लागी सरकारसंग अनुरोध गरेको छ ।

साथै महिला बालबालिका, गर्भवती महिला, असक्त र विपन्न वर्गहरुलाई बिशेष प्राथमिकताका साथ राहत, उद्धार र पुर्नस्थापनाका लागि पनि महासंघले हार्दिक अपिल गरेको छ।

फेकोफनले भनेको छ “देशभर रहेका २२ हजार भन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहहरुले यस विपदको घडीमा राहत, उद्धार र पुर्नस्थापनामा जुट्न र सम्भावित घटनाहरुबाट सचेत रहन स्थानीयस्तरमा रहेका संचार माध्यम, सामाजिक संजाल मार्फत व्यापक रुपमा सचेतीकरण अभियानमा लाग्न र समुदायका यूवाहरु परिचालन गर्न सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका सवै संरचना तथा सरोकारवालाहरुलाई समेत सक्रिय रुपमा सहयोगमा जुट्न हार्दिक आव्हान गर्दछौ ।”

प्रकाशित मिति : 16 जुन 2021, बुधवार
प्रतिक्रिया दिनुहोस