मुक्त कमैंया महिलालाई वनकै माया

काठमाण्डौ । पुस्तौसम्म अर्काको घरमा कमैया बस्न बाध्य कमैयाहरुलाई सरकारले मुक्तिको घोषणा गरेपछि पुनस्र्थापना गरेको थियो । त्यसैक्रममा सुदुरपश्चिमका केही मुक्त कमैयाहरुलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राखियो । त्यही कृष्णपुरका मुक्त कमैयाहरुले आफ्नो बसोबास क्षेत्र आसपासको वन संरक्षण गरेर जयलक्ष्मी महिला सामुदायिक वनका रुपमा विकास गरेका छन् । त्यो पनि महिलाहरुकै अगुवाईमा ।

कृष्णपुर नगरपालिका वार्ड नं. २ र ५ मा मछेली नदीको वारिपारि दुवै क्षेत्रलाई जयलक्ष्मी महिला सामुदायिक वनले जोडेको छ । एक सय २ उद्यम तथा आयआर्जन द्द ९ हेक्टरको यो वन क्षेत्रलाई स्थानीय महिलाहरुले संरक्षण गर्दै आएका छन् । उपभोक्ता समुहमा दुई सय ८९ घरधुरी आवद्ध छन् । संरक्षणको अगुवाई थालेका मुक्त कमैया महिलाहरुले पुरुषहरुको समेत साथ लिएर वनलाई हराभरा र नमुना बनाएका छन् । स्थापनादेखि तीन कार्यकाल वसन्ती रानाले नेतृत्व लिनुभएको थियो भने अहिले लिला चौधरी उपभोक्ता समुहको अध्यक्ष भएर काम गरिरहनुभएको छ ।

सबै उपभोक्तासँग समन्वय गरी विजयसाल संरक्षणका कार्यक्रम यहाँको नमुना काम हो । यसैगरी वृक्षरोपण, जैविक तटवन्ध निर्माणमा पनि मुक्त कमैयाहरुले उत्तिकै महत्वका साथ काम गरेका छन् । विजयसाल संरक्षण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरले पनि सघाएको छ । पूर्व पश्चिम राजमार्ग किनारमा पर्ने भएकाले सामुदायिक वनलाई विजयसालबाट चिनाउन र पर्यटक आकर्षण गर्न नमूना प्लट बनाइएको छ । ९० बोट पुराना रुख भएको सामुदायिक वनमा तीन सयभन्दा बढी विजयसालका बिरुवा पुनःउत्पादन गरिएको छ । त्यसैले अवलोकन तथा अध्ययन गर्न आउनेहरुको संख्या बढ्दो छ ।

आदिवासी, जनजाति समुदायको विजयसालसँग पुरानो सम्वन्ध छ । उनीहरुले विजयसाललाई पहिले मादल बनाउन प्रयोग गर्थे । तर विनास हुँदै गएपछि मादल बनाउनै छाडिएको छ । त्यसैगरी विजयसालबाट तयार हुने काठको भाडामा राखेर पानी पिउँदा मधुमेह, शरीरको दुखाई लगायत स्वास्थ्यलाई पनि हितगर्ने भएकोले यसको महत्व झन बढी छ ।

सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष चौधरी भन्नुहुन्छ– ‘स्वास्थ्यका हिसाबले महत्वपूर्ण छ भने विजयसालबाट आदिवासी समुदायले मादल बनाउने परम्परा नै हो । तर विनास हुँदै गएपछि पेशा नै हराएको छ । त्यसैले पनि सामुदायिक वनलाई विजयसालको माध्यमबाट चिनाउन खोजेका छौँ ।’ वन संरक्षणमा खटिँदा घरपरिवारसँग धेरै समय बिताउन समेत नपाएको बताउनु हुने अध्यक्ष चौधरीले विजयसाल बाटै मनग्ये आम्दानी गर्ने लक्ष्य समुहले लिएको जानकारी दिनुभयो ।

वनका अभियन्ता महिलाहरुले सामुदायिक वनबाटै होमस्टे पनि चलाएका छन् । समुहमा पाँचवटा होमस्टे सञ्चालन गरिएको छ । विजयसाल संरक्षण गर्दै पर्यापर्यटन विकास गर्न होमस्टे समेत सञ्चालन भएपछि मुक्त कमैया महिलाहरुको आर्थिक अवस्थमा समेत सुधार भएको छ । ‘कोरोनाले प्रभावित नगरेको भए यतिञ्जेलसम्म थप होमस्टे स्थापना भैसक्थे’ –अध्यक्ष चौधरीले भन्नुभयो ।

यस सामुदायिक वनमा साल, खयर, अर्रो लगायत अन्य प्रजातिका बिरुवाहरु पनि छन् । चौधरी नेतृत्वको ११ सदस्यीय महिला उपभोक्ता समुहले वन संरक्षणका लागि नयाँ योजनासमेत बनाएको छ । झाडी सफाई, अग्नि नियन्त्रणरेखा, बाटो निर्माण लगायतका कार्य गरिएका छन् । यसैगरी समूहको कार्यालय भवन बनाउने र चरिचरन वन्द गर्ने अभियानलाई थप प्रभावकारी बनाउँदै लगिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

समुहले दुनाटपरी उद्योग स्थापना गरेर महिला दिदी–बहिनीहरुलाई आयआर्जनमा थप सहयोग गरेको छ । यस्तै थारु संस्कृति संरक्षणका लागि परम्परागत पोशाक लेहेंगा बुन्ने तालिम चलाउने, सिलाई कटाई तालिम सञ्चालन गर्ने जस्ता आयमुलक र संस्कृति संरक्षण मुलक तालिमहरु सञ्चालन गर्दै आएको छ । यसले महिलाहरुलाई आफ्नै काम गर्न प्रोत्साहन पनि मिलेको छ ।

अब समुहको लक्ष्य थारु संस्कृति प्रदर्शन गर्दै पर्यटक आकर्षण बढाउन नाचघर बनाउने लक्ष्य लिएको छ । पहिला ऋणमा समेत काम गरेका उपभोक्ताहरुले घुम्ती कोषबाट बंगुर, कुखुरा, बाख्रा पालनमा सघाएको छ । खेती र खुद्रा पसल सञ्चालनमा पनि घुम्तीकोष परिचालन गरिएको समुहका कार्यालय सचिव प्रवेश चौधरीले जानकारी दिनुभयो । वन संरक्षणका लागि आफै खट्दै आएका महिलाहरुले हेरालुसमेत राखेका छन् । यसरी वन संरक्षण र आयआर्जनमा मुक्त कमैया महिलाहरुले गरेको योगदान नमुना बनेको छ ।

प्रकाशित मिति : 19 अगस्ट 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस