महिला सक्रियताले वनबाट सम्वृद्धि

सप्तरीको अग्निसाइर कृष्णासवर गाउँपालिका–६ मौली भन्ने बित्तिकै सामुदायिक वनले आमुल परिर्वतन ल्याएको गाउँका रुपमा चिनिन्छ । हुनपनि सामुदायिक वनबाट समुदायको आर्थिक सम्वृद्धिमा कायापलट भएको यो ठाउँमा एउटा यस्तो सामुदायिक वन छ, जहाँ १६० घरधुरी छन् र कार्यसमितिमा सबै महिलाहरु मात्रै छन् । अर्थात, मालती महिला सामुदायिक वन नै महिलाहरुले चलाएका छन् । महिला नेतृत्वले वन संरक्षण त भएको छ नै, गाउँमा होमस्टे सञ्चालन भएको छ । हरेक उपभोक्ता आत्मनिर्भर छन् ।

२०५० सालमा रातोमाटोको रित्तो पाखोलाई महिलाहरुले सामुदायिक वन बनाउने गरी संरक्षण थालेका थिए । त्यसयता यतिधेरै परिर्वतन भएको छ कि, स्वयं संरक्षणकर्ताहरु नै छक्क र मख्ख छन् । चुरेको फेदमा रहेको वनमा महिलाहरुले घाँस रोपे । खोला खोल्साले बर्खामा दिने दुखबाट आजित भएका उनीहरुले त्यहाँ बाँस, खन्यूँ, अम्रिसो जस्ता घाँस लगाएपछि भूक्षय नियन्त्रणमा सहयोग पुग्यो । घाँस लगाएपछि महिलाहरुले गाईवस्तु पाल्न थाले । त्यहीबाट शुरुभएको प्रगतिले यहाँसम्म आईपुग्दा आफ्नो बैकं ब्यालेन्स छ, छोराछोरी अध्ययनमा युरोप अमेरिका पुगेका छन । अनि वन हराभरा छ ।

हरेक उपभोक्ता महिलाहरुलाई वन क्षेत्र छुट्याएर संरक्षण र उपयोगका लागि दिइएको छ । त्यसमा घाँस रोपेर घरमा २–३ वटा गाईभैसी र ५–६ वटा बाख्रा नपालेको त घरै छैन् । हेरक दिन उनीहरुले दुध बेच्छन् भने यहाँका बाख्रा नपुगेको जिल्ला सायदै होलान् । ‘सामुदायिक वन भएपछि त कल्पनै नगरेको परिर्वतन आएको छ । गाई पालेर दुध नबेच्ने घर नै छैनन्, बोका र उन्नत बाख्राका पाठी अधिकांश जिल्लामा लगेका छन् ।

हामीले माग नै धान्न सकेका छैनौं ।’ मालती महिला सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष रमादेवी कोइरालाले भन्नुभयो । समुहले संरक्षण गरेको वन ८० हेक्टरमा फैलिएको छ । गाउँमा पहिला जीवन निर्वाह गर्न नै मुस्किल थियो । तर जब सामुदायिक वन भयो, अनि पशुपालन शुरु भयो । दाउरा बेचेर जीविका चलाउँदै आउनुभएकी देवीमाया नेपालीले गाई–बाख्रा पाल्न थालेपछि राम्रै कमाई गर्नुभएको छ ।

गिता मगर, मेनुका बस्नेत, अम्विका कोइराला लगायत महिलाहरुले पशुपालन गरेपछि आर्थिक अवस्था धेरै परिर्वतन भएको छ । समुहले सघाएपछि पशुपालन गरेका उपभोक्ताले दुग्ध सहकारी चलाएका छन भने बचत समुहहरु पनि बनाएका छन् । सहकारी मार्फत बोर्डिङ स्कूल सञ्चालन गरिएको छ । अध्यक्ष कोइरालाले भन्नुभयो– ‘घरको तालाचावीभन्दा वनको
महत्व बढी छ ।’

महिला उपभोक्ता समुहले विद्यालय निर्माण र शिक्षकलाई मासिक पारिश्रमिक दिन समेत महत्वपूर्ण योगदान गरेको छ । कतिसम्म भने, हरेक घरधुरीले प्रत्येक महिना १ देखि ३ लिटरसम्म दुध विद्यालयका नाममा दिन्छन् । त्यो दुधबाट हुने आम्दानीले मोहनपुर आधारभूत विद्यालयमा ४ जना शिक्षक स्थानीय श्रोतबाट राखिएको छ । पढाई अब्बल छ र विद्यार्थी पनि धेरै छन् । मालती महिला सामुदायिक वनले शिक्षामा ठूलो लगानी गरेको छ भन्दा फरक पर्दैन् । गाउँको मुहार न फ ै ेर्नेगरि काम गरेकोले मालती महिला सामुदायिक वनले सर्वोत्कृष्ठ गणेशमान सिंह पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।

आफ्नो खातामा पैसा नभएका बेला समेत समुहले पाएको पुरस्कार वापतको एक लाख रुपैंया विद्यालय निर्माणका लागि दिएर अर्को नमुनायोग्य काम गरेको छ । अध्यक्ष कोइरालाले खुसी हुँदै भन्नुभयो–‘सामुदायिक वनले घाँस दियो, घाँस खाएपछि गाईले दुध दियो, दुध हामीले स्कूललाई दियौं, स्कूलले शिक्षा दियो, शिक्षाले चेतना दियो, रोजगारी भयो अनि हामीले वन जोगायौं, त्यसले हामीलाई पुरस्कार दियो ।’

समुहका हरेक महिलाका बैंक, सहकारी र बचत समुहमा खाता छन् । गाई, बाख्रा, कृषिका अलग–अलग समुह छन्, त्यहाँ महिनैपिच्छे बचत गरिन्छ । आवश्यक पर्दा चाहिने पैसा कसैसँग माग्नु पर्दैन । बरु महिलाहरुले नै निधक्र्क भएर दिन्छन् । आत्मनिर्भर बन्न सामुदायिक वनले सघाएको उनीहरुको भनाई छ । वनको योगदानले भएको अर्को परिर्वतन भनेको
गाउँका धेरैले आफ्नै व्यवसाय गरेका कारण रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता छैन् ।

त्यसो हुँदा गाउँबाट बसाई सराई पनि खासै हुन्न् । ‘घरपरिवार सँगै मिलेर काम गर्दाका फाईदा कति छन् कति । अब बुहारी पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर उनीहरुलाई जिम्मेवारी सुम्पिने र हामीले सरसल्लाह दिने योजना छ ।’ अध्यक्ष कोइरालाले भन्नुभयो । सामुदायिक वन र उपभोक्ताको सम्वन्ध अत्यन्तै राम्रो छ । सहकारी भएकोले रोजगारीको समस्या छैन् । सामुदायिक वनले आयआर्जनमा सघाएपछि गाउँमा अध्ययन तथा अवलोकनका लागि विभिन्न जिल्लाबाट आउनेहरु बढ्दै गएका छन् । त्यसलाई आयआर्जनसँग जोड्न घरकै दुध, दही, मही, ध्यूर आफ्नै उत्पादन खुवाएर पर्यटक तान्ने योजनासहित २३ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ ।

गाउँलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने र त्यसका लागि भ्यूटावर तथा अन्य पूर्वाधार बनाउने योजना उपभोक्ता समुहको छ । तर यसपाली कोरोनाका कारण होमस्टेमा पाहुनाहरु खासै नआएका र आएकाहरुलाई पनि राख्न नसकिएको होमस्टे सञ्चालक समेत रहनुभएकी अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । कोरोना महामारी कमपछि होमस्टे लयमा फर्कने उहाँहरुको विश्वास छ ।

प्रकाशित मिति : 26 अगस्ट 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस