उजाड वन हराभरा, लघु उद्यममा आम्दानी

काठमान्डाै । बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ७ रहेको शंकरपुर गाउँमा पर्छ शान्ति सामुदायिक वन । पहिले यहाँ घना जंगल थियो । तर मानिसको चाप बढेसँगै जंगल मासिँदै गएर उजाड भयो ।

गरिबीका कारण अधिकांश मानिस कामका लागि भारत जाने र त्यही कमाईले घरखर्च चलाउने परम्परा जस्तै भैसकेको अवस्थामा बिस्तारै स्थानीय बासिन्दाहरु वन जंगल संरक्षणमा पनि जुट्दै गए र, अहिले सामुदायिक वनका रुपमा घना जंगल भैसकेको छ ।

शान्ति सामुदायिक वन उपभोक्ता समुहमा एक सय ११ घरधुरी संख्या छन् । वन २४.१८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । २०५७ सालमा सामुदायिक वन दर्ता भएपनि कार्ययोजना भने यहाँको २०६१ सालमा मात्रै स्वीकृत भएको थियो ।

घद्द उपभोक्ता समुहले वन संरक्षणलाई पहिलो प्राथमिकता दिएर हुर्काएको हुनाले अहिले वन एकदमै राम्रो छ । त्यहीभित्र बेतबाँस हुर्काएर उद्यमशिलताको योजनासमेत समुहले अघि बढाएकाले त्यसै अनुसार काम भैरहेको छ । बेतबाँसबाट कुर्ची, टेवुल, ह्याङ्गर, लगायतका फर्निचरका सामग्री बनाउने र त्यसबाट समुहका उपभोक्ताको आयआर्जन बढाउने उद्धेश्य छ । उपभोक्ता समुहले एक महिने तालिम दिएर दक्ष जनशक्ति नै तयार पारेको छ ।

अब उनीहरुको सिप प्रयोग गर्दै समुहमै बेतबाँस उद्योग सञ्चालन गर्न लागिएको उपभोक्ता समुहका अध्यक्ष गंगाबहादुर महताराले जानकारी दिनुभयो । समुहका पदाधिकारी वा सदस्यकै नामबाट घरेलु कार्यालयमा उद्योग दर्ता गरेर सञ्चालन गर्दा कानूनी सहजता हुने भएकोले त्यसै अनुसार काम भएको छ । ‘उद्योग सञ्चालन नै भैसक्थ्यो, तर कोरोना महामारी र लकाउनले ढिला हुन गयो ।’–अध्यक्ष महताराले समुहको योजना र तयारीमा केही ढिलाई भएकोबारे भन्नुभयो ।

बेतबाँस उद्योगबाट समुहलाई उद्यमशिल बनाउने र आयआर्जन बढाउने लक्ष्य छ । उद्योग सञ्चालनपछि समुहका सदस्यहरुको आम्दानी बढ्नेछ भने उनीहरुलाई उद्योग सञ्चालनमा प्रोत्साहन गरिनेछ । त्यसले वनमा बेतबाँसको खेती फस्टाउँदा संरक्षणमा फाइदा पुग्ने र आर्थिक रुपमा सबल हुन सघाउने विश्वास उपभोक्ताहरुले गरेका छन् । समुहले बेतबाँस खरिदका लागि उपभोक्तालाई सुलभदरमा पचास हजार लगानी गरेको छ ।

समुहले आयआर्जनका अरु काम पनि गरेको छ । बेसार खेती, पिपला खेतीलाई अझै परिस्कृत र उन्नत रुपमा अघि बढाउने योजना छ । वन्यजन्तु र जैविकविविधता संरक्षणम समेत समुहले काम गर्दै आएको छ । सामुदायिक वनभित्र एक सय पाँच मिटर लम्वाई र २८ मिटर चौडाई भएको आहाल निर्माण गरेर वन्यजन्तु तथा पशुपंक्षीलाई पानी उपलब्ध गराईएको छ । घुम्तीकोषबाट पशुपंक्षी पालनमा समेत रकम उपभोक्ताहरुलाई प्रदान गर्दै आएको छ ।

सामुदायिक वनभित्र भए गरेका काम, नक्सा, वन्यजन्तुको घघ तस्वीर र संरक्षण तथा सचेतनामुलक सन्देशबारे जानकारी दिनेगरि भित्ते लेखन तथा वोर्ड निर्माण गरेको छ । पर्यटन आकर्षण गर्न वनभोज स्थल निर्माण, आफ्नो कार्यालय भवन निर्माण समेत गरेको छ ।

सामुदायिक वनलाई नमुनका रुपमा विकास गर्न फेकोफन लगायतले पनि सघाएका छन् । संस्थागत क्षमता विकासमा नमुना सामुदायिक वनको दुर दृष्टि कार्ययोजना, कार्यशाला, उपभोक्ता समुहको संस्थागत क्षमता विकास परिचालन, झाडी सफाई, वन्यजन्तुका लागि आहल निर्माण लगायतका काम भएका उपाध्यक्ष भिमकली राईले बताउनुभयो ।

यसैगरी संस्थागत क्षमता विकास गर्दै समुहलाई बर्दिया जिल्लामा नमुना सामुदायिक वनको रुपमा लैजान सबै उपभोक्ता सदस्यको सकृय सहभागिता गराउने छ । त्यसका लागि समुहका सबैजसो उपभोक्ता र कार्यसमितिका सबैको संस्थागत विकासमा ध्यान दिइनेछ ।

वन संरक्षण, आयआर्जन, उद्यमशिलता र सचेतनाका कृयाकलापमा स्वयं उपभोक्तालाई जागरुक बनाउन सके दीर्घकालीन फाईदा हुने बुझेर संस्थागत विकासको योजना अघि सारिएको हो । भारतको उत्तर प्रदेशसँग सिमाना जोडिएको शान्ति सामुदायिक वनमा टिक, सिसौं, सिमल, भेलर, मसलाका रुखहरु छन् । यस्तै पिपला, सिकाकाइ, नरकट, बाँस, पनि पाइन्छ ।

यस्तै बाँदर, बँदेल, स्याल, चितुवा, चित्तल, कोइली, मयुर, मैना, सुगा लगायतका पशुपंक्षीको बसोबास रहेको उपभोक्ता समितिकी सचिव सरस्वती चौधरीले जानकारी दिनुभयो । शान्ति सामुदायिक वन उपभोक्ता समुहमा रहेका १११ घरधुरीको सम्पन्नताको स्तरीकरण अनुसार सम्पन्न वर्ग २५, मध्यम वर्ग ४९ विपन्न वर्ग ३० र अतिविपन्न वर्ग ७ घरधुरी छन् ।

जातीय अवस्था हेर्दा जनजाती ८६, बाहुन, क्षेत्री तथा ठकुरी २३, दलित १ र मधेशी समुदायका एक छन् ।

प्रकाशित मिति : 29 अगस्ट 2021, आइतवार
प्रतिक्रिया दिनुहोस