थरीथरीका गुराँसले ढकमक्क हुने तिनजुरे मिल्के–जलजले क्षेत्र

वनको बीचमा रहेको रातपोखरी र थाप्लोमा तिनजुरे पहाड । यही स्थानीयपनको समिश्रणबाट बनेको हो तिनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समुहको नाम । सिजनमा थरीथरीका गुराँसले ढकमक्क हुने तिनजुरे मिल्के–जलजले क्षेत्र यही आसपासको भएकोले यो नेपालकै आकर्षक पर्यटकीय क्षेत्र हो ।

इतिहासको एउटा कालखण्ड अर्थात राणाकालमा मझियाहरुको खर्कको रुपमा रहेको र पछि स्थानीय बासिन्दाले बस्तुभाउ चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएको यहाँको वन सरकारको मातहतमा आएपछि विनासको बाटोमा थियो । त्यसैले तेह्रथुमको यो वन जागाउन फेरि उपभोक्ता नै सक्रिय हुनुपरेको थियो ।

अहिले त्यही वन हराभरा र आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । संरक्षण, संवर्धन र उपयोग गर्ने गरी वन कार्यालयले २०५२ साल भदौंमा स्थानीय समुदायलाई हस्तान्तरण गरेको तिनजुरे रातपोखरी सामुदायिक वन त्यसयता उपभोक्ताहरुकै सक्रियतामा संरक्षण गरेर हराभरा पारिएको छ । समुद्र सतहबाट २१०० मिटरदेखि २९०० मिटरको उचाइमा छट रहेको तिनजुरे–जलजले क्षेत्र गुराँसको राजधानीको रुपमा परिचित छ । जैविक विविधताको हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्रको रुपमा रहेको छ ।

त्यसैले पर्यापर्यटनको लागि धेरै संभावना भएको क्षेत्रको रुपमा विकास गर्न उपभोक्ता समुहले काम गरिरहेको छ । समुहका अध्यक्ष छत्रबहादुर खड्का भन्नुहुन्छ– ‘सामुदायिक वनमा पर्यटन विकासलाइ मूख्य आम्दानीको स्रोतको रुपमा विकास तथा बिस्तार गर्ने कार्यको सुरुवात भएको छ । सामुदायिक वनको बीचमा रहेका खाली स्थानमा फलफुल जातका बिरुवा रोप्ने, सिमसार क्षेत्रको संरक्षण गरी पोखरी निर्माण गर्ने, पूर्वाधारमा ध्यान दिने लगायतका पर्यटकीय गन्तव्य बनाउने गरि थप विभिन्न कामहरु गर्ने योजना अघि बढेका छन् ।’

रातपोखरी, पात्ले पोखरीको मर्मत सम्भार गरी आकर्षक पारिएको छ । सामुदायिक वन भित्रका सिमसारको संरक्षण तथा व्यवस्थापन भएपछि विभिन्न घुमन्ते चराहरु आएका छन । नेपालमा पाइने ३१ प्रजातिका गुराँस मध्ये करिब २८ प्रजातिका गुराँसहरुको संरक्षण गरिएको छ । समुहका अध्यक्ष खड्काका अनुसार ५२३.१६ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन भित्र गुराँस नमुना प्लट छ । यसैगरी चाँपको, लौठसल्लाको, पाउलोनियाको नमुना प्लट टथा व्यवसायिक नर्सरी समेत निर्माण गरिएको छ ।

गुराँस फुल्ने सिजनमा त यो क्षेत्रमा आन्तरिक पर्यटकको घुईँचो लाग्छ । त्यसैले वनभोज स्थल समेत निर्माण गरिएको छ । नागीहरु, चउरहरुको व्यवस्थापन गरी भेडा, च्याङ्ग्रा र चौंरीपालनलाई थप व्यवस्थित पारिएको छ । गैह्रकाष्ठ वन पैदावारका रुपमा वनमा चिराइतो, अर्गेली, लोक्ता, सतुवा, सुनलहरो, पाँचऔंले जस्ता जडीबुटीको संरक्षणसँगै खेती गरिएको छ । सिमसार क्षेत्रको संरक्षण र ठाउँ ठाउँमा पोखरी निर्माण गरेपछि जंगली जनावर र चराहरुलाइ पिउने पानीको सुविधा भएको छ ।

वन क्षेत्रमामृग, चित्तल, भालु, स्याल, चरीबाघ, लगायतका जंगली जनावर पनि देख्न सकिन्छ । आक्कलझुक्कल रेडपाण्डा अर्थात हाब्रे पनि आवतजावत गरेको भेटिन्छ । चराचुरुङ्गीहरुमा कोइली, डााँफे, वनकुखुरा, लाटोकोसेरो, कालिज पाइन्छ । जंगली जनावर र चराचुरुङ्गीहरुलाइ पानी पिउन छठ सहज होस् र चिस्यानको लागि समेत रातपोखरीलाइ व्यवस्थित गरिएको छ । सामुदायिक वनको व्यवस्थापन तथा संरक्षण, संवर्धन र उपयोग ३४७ घरधुरी उपभोक्ताले गरिरहेका छन् ।

सामुदायिक वनलाई विभिन्न ८ वटा ब्लकमा विभाजन गरिएको छ । उपभोक्ताहरुले खाली र नाङ्गा ठाउँमा वृक्षारोपण गरी वनमा परिणत गरेका छन् । सामुदायिक वन उपभोक्ता समूह आफैले नर्सरी गरी बिरुवा उत्पादन गरी खाली भागमा रोप्नका साथै अन्यत्र पनि बिक्री गर्दै आएको छ । समुहलाइ हस्तान्तरण भएको २३ बर्षको अवधीमा उल्लेखनीय परिवर्तन भएको छ । रोपिएका बिरुवाहरु हेरालु राखेर हुर्काइएका छन । चोरी शिकारी र वन पैदावार चोरी नियन्त्रण गर्न पालो–पहरा पद्धति अपनाइएको छ ।

वनको संरक्षण तथा ब्यवस्थापन समुहका सबै उपभोक्ताहरु मिलेर गर्ने गरेका छन । सामुदायिक वनबाट घाँस बाह्रै महिना निकाल्न दिइएको छ भने दाउरा र काठका लागि हिउँदे भेला गरी माग र वन पैदावरको संचिती बमोजिम उपलब्ध गराईने गरिएको छ । सामुदायिक वन बाट गरिब तथा विपन्न उपभोक्ताहरुले न्युन शुल्क तिरी बाह्रै महिना घाँस उपयोग गर्न पाउने र सामुदायिक वनमा प्रसस्त घाँस रहेकाल उपभा े ेक्ताहरुले पशुपालनलाइ विशेष जोड दिएका छन ।

अर्गानीक तरकारी खेती गरी मनग्ये आम्दानी गर्दै आएका छन । उद्यमशिल समुहबाट अति गरिबलाइ ६ प्रतिशत ब्याजमा ऋण सापटीको सुविधा छ । समुहका अध्यक्ष खड्काका अनुसार यहाँका उपभोक्ताहरुले उत्पादन गरेको तरकारी धरान, विराटनगर र भारतको सिलिगुडीसम्म निर्यात हुन्छ ।

सामुदायिक वनले ८ लाख रुपैया घुम्तीकोषको रुपमा ऋण सहयोग गरेको छ । ऋण सहयोग पाउनेमा पहिलो प्राथमिकतामा समुदायका सबैभन्दा विपन्नहरु पर्दछन । जलवायु परिवर्तन र मानव स्वास्थ्यलाइ ध्यानमा राख्दै इको भिलेजको अवधारणा सुरु गरेको छ ।

फोहोर ब्यवस्थापन, वातावरणमैत्री इको भिलेज निर्माण गरिएको छ । रासायनिक मल र बिषादीको प्रयोग न्युन गरेको छ । सामुदायिक वनको कोषमा करिब २० लाख रुपैँया बचत घुम्तीकोषको रुपमा छ । यस समुहले स्कुल वन पाठशालाको अभ्यास गरेको छ । माध्यामिक विद्यालयका विद्यार्थीलाई जलवायु परिवर्तन अनुकुलन सम्वन्धी आधारभुत सचेतनाका कक्षाहरु संचालन गरेको छ ।

प्रकाशित मिति : 13 सेप्टेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस