जटायु र जडीबुटीको संगम

पाल्पाको तानसेन, प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । तानसेन बजार, रमणीय श्रीनगर तथा मदनपोखराको काखमा बसेका समतल फाँट । पाल्पाको पर्यटकीय आकर्षण अनुपम छ । तानसेनबाट १० कि.मि. दक्षिण पश्चिम हालको तानसेन नगरपालिका वडा नम्वर ९ तथा साविकको मदनपोखरा गाविसमा पर्छ, अँधेरी छरछरे सामुदायिक वन ।

यो वनलाई वि.सं. २०२०÷०२१ सालबाटै स्थानीय जनताले आफैले वृक्षरोपण, रेखदेख र संरक्षण गरेर हुर्काउन थालेका थिए । तर वनको आकार ग्रहण गर्दा–नगर्दै २०४६ सालको परिवर्तनसम्म आइपुग्दा फेरि विनास भयो । करिब सखाप भैसकेको वन क्षेत्रलाई पुनरुत्थान गर्दै समुदायको सहभागितामा संरक्षण र व्यवस्थापन हुँदै आएको यो वन वि.सं. २०५२÷०५३ सालमा वन ऐन २०४९ तथा नियमावली २०५१ अनुसार जिल्ला वन कार्यालयबाट समुदायमा हस्तान्तरण भएको हो ।

त्यसपछि उपभोक्ता समुहले सामुदायिक वनलाई जोगाएको मात्रै छैन, जैविक विविधता संरक्षणका कार्यहरु गर्दै आएको छ । टद्द कुल क्षेत्रफल २४.१८ हेक्टर रहेको र १७५ घरधुरी उपभोक्ता सदस्यहरु आवद्ध यो सामुदायिक वनमा सिमलका रुखहरु बाक्लै छन् र तिनलाई जतनका साथ संरक्षण गरिएको छ ।

यसबाहेक कटुस, राजु, चिलाउने, जामुन लगायत विभिन्न प्रजातिका जडीबुटीहरु र विभिन्न प्रजातिका पशुपंक्षीहरु तथा जनावरहरु पाइन्छ । जैविक विविधता संरक्षण र पारिस्थितिकीय सेवा प्रणाली समेतको कार्यसहित वन विकास, संरक्षण र व्यवस्थापनबाट मात्र समृद्धि र दीगो विकास हासिल गर्न सकिन्छ भन्ने मूल अभिप्रायका साथ संरक्षणको महाअभियानमा लागेको अँधेरी छरछरे सामुदायिक वन जटायू(गिद्ध) संरक्षणमा चर्चित छ ।

जसले गर्दा पर्यटकहरुको आकर्षण पनि बढ्दो छ । वि.सं.२०६५ सालदेखि लोपोन्मुख पंक्षी जटायु(गिद्ध)को संरक्षण गर्दै पाल्पा जिल्लालाई डाईक्लोफेनेक मुक्त जिल्ला घोषण गर्न यो सामुदायिक वन उपभोक्ता समूहको महत्वपूर्ण योगदान छ । आनो समूहमा मात्र नभई पाल्पा जिल्लामै जटायु संरक्षणको बारेमा प्रचारप्रसार गर्दै जटायु संरक्षणको अभियानमा समुह निरन्तर सक्रिय छ ।

यसका अलावा सामुदायिक वन क्षेत्रभित्र अम्रिसो, कफी, दालचिनी, अमला, बोधिचित्तजस्ता जडीबुटीको अलग्गै ब्लक निर्माण गरेको छ । जसले वनको दिगो आर्थिक व्यवस्थापन हुनुको साथै संरक्षण, व्यवस्थापन र वन विकासका कार्यहरुमा थप सहयोग मिलेको छ । ५० भन्दा बढी पानीका मुहानहरुको संरक्षण, हरित विकासको अवधारण अनुरुप भू–क्षय नियन्त्रण, कटुसको ब्यवस्थापन गर्दै सिताके च्याउ खेती मार्फत वन उद्यम प्रवद्र्धन गरिएको छ ।

गिद्ध (जटायु) ब्लक: अँधेरी छरछरे सामुदायिक वनमा जैविक विविधता संरक्षण अन्तर्गत संसारबाट लोपन्मुख एवं प्रकृतिका कुचिकारका रुपमा परिचित गिद्धहरुको बासस्थान संरक्षणलाई विशेष महत्व दिइएको छ । सामुदायिक वनको सिमलगैरा क्षेत्रमा रहेका थुप्रै सिमल संरक्षण गरिएको छ । वनको एउटा सबैभन्दा बुढो सिमलको नाम नै धेरै वर्ष पहिलेदेखि गिद्धे सिमल रहन गएको छ । उपभोक्ता समुहले नेपाल पंक्षी संरक्षण टघ संघको विशेष सहयोगमा गिद्धहरुको संरक्षणका लागि सचेतनामुलक कार्यहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ ।

अमला: करिब १० रोपनी जग्गामा करिब ५०० बोट अमला रोपेर अमला ब्लकको रुपमा स्थापना गरिएको छ । धोन्द्रे खोलाको बीचबीचमा आँपका बिरुवासमेत रोपेर अमला ब्लकलाई थप व्यवस्थित गरिएको छ ।

अम्रिसो: सामुदायिक वनबाट आय आर्जनका लागि करिब १५ रोपनीमा रोपिएको अम्रिसोको फूलबाट कुचो उत्पादन हुँदै आएको छ । त्यसबाहेक पातलाई घाँस र काण्डलाई दाउराका रुपमा प्रयोग गर्न सकिने अम्रिसो विभिन्न ठाँउमा रोपिएको छ । उन्नत घाँस ः यस वनको आर्थिक स्रोतका रुपमा दालचिनी पछि उन्नत घाँस रहेको छ । त्यसैले अलग्गै ब्लक बनाएर विभिन्न २१ स्थानमा करिब ५० रोपनी क्षेत्रफलमा उन्नत जातका मोलासिस, स्टाइलो, नेपियर आदि घाँस लगाइएको छ ।

दालचिनी: कटुस र चिलाउनी प्रजातिका पुराना रुखहरु रहेको जंगलमा कटानी छटानी गरेर र खाली रहेको जग्गामा दालचिनीका बिरुवाहरु लगाइएको छ । औषधी तथा मसलाको रुपमा प्रयोग हुने दालचिनीको पात र बोक्रा आम्दानीको मुख्य स्रोत हो ।

वनमा वृक्षारोपण गरि हुर्काईएका परिपक्व २००० बोटबाट समूहले आम्दानी गरि काठदाउरा मात्रै आम्दानीको श्रोत होईन भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ । त्यसबाहेक बोधिचित्तनमूना प्लट, नर्सरी ब्लक समेत छ ।

करिब १० रोपनी क्षेत्रफलमा अन्य सामुदायिक वनसँगको संयुक्त पहलमा विभिन्न ३० प्रजातिका बिरुवाहरु उत्पादन र अन्य जिल्लामा समेत वितरण हुँदै आएको छ । वन तथा जैविक विविधता संरक्षण र जडीबुटी खेतीमा उत्कृष्ठ काम गरेकोले अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले २०७५ सालमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रथम, २०६६ सालमा वन प्राविधिक संघबाट वनदेवी पुरस्कार र जिल्ला वन कार्यालयबाट पटक पटक पुरस्कार प्राप्त गरेको छ ।

प्रकाशित मिति : 14 सेप्टेम्बर 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस