आयआर्जनमा अब्बल

स्याङ्जा जिल्लाको सदरमुकामदेखि उत्तर–पश्चिम पुतलीबजार नगरपालिका वडा नम्वर १३ मा पर्ने सालघारी सामुदायिक वन २०४९ सालमा उपभोक्ता समुहका नाममा स्वीकृत भै हस्तान्तरण गरिएको थियो । ३२.५ हेक्टरमा फैलिएको यो सामुदायिक वनमा २ सय १५ घरधुरी आवद्ध छन् । पहिला निकै घना रहेको यहाँको वन २०३६ सालको आसपासमा निर्दल र बहुदलको निर्वाचनका बेला व्यापक फडानी भएको थियो । त्यसपछि उपभोक्ताहरु वन संरक्षणमा कस्सिएर लागेका थिए ।

बहुदल आएपछि फेरि राजनीतिक स्थीरताको समय शुरु भयो । अनि २०४८ सालमा अमरनाथ मिश्रको पहलमा दोबबहादुर कार्की, तेजबहादुर रोका, दुर्गाबहादुर रोका लगायतका अगुवाहरुको सक्रियतामा संरक्षण अभियान थालेर सामुदायिक वनका रुपमा समुदायको जिम्मामा ल्याउने काम भएको थियो । त्यसयता वन संरक्षण र उपभोक्ताको हितमा काम गर्दै आएको सालघारी सामुदायिक वनले आयआर्जनलाई विशेष प्राथमिकता दिँदै आएको छ । खासगरि विपन्न समुदायलाई गरिबीको रेखाबाट माथि उठाउन समुहले ज्ञघण् घुम्तीकोष नै बनाएर परिचालन गर्दै आएको छ । समुहको सक्रियतामा कोषलाई पाँच लाख दश हजार रुपैंया पु¥याइएको छ ।

वनलाई जोगाउनु र वनश्रोतको सदुपयोग गरेर उपभोक्ताको जीवनस्तर उकास्न सहयोग गर्नुलाई समुहले प्राथमिकता दिएकै कारण गाउँको आर्थिक कारोवार पनि बढेको छ । उपभोक्ताहरुले व्यवसायिक सोच नै बनाएर काम गर्न थालेका छन् । समुहका सानातिना सहयोगले पनि परिवर्तनको गोरेटो निर्माण गर्न सघाउँछ र जनजीवन सहज हुँदै जान्छ भन्ने एउटा उदाहरण हो, सालघारी सामुदायिक वन । किनभने, आयआर्जनकै लागि सञ्चालित घुम्तीकोषबाट पाएको रकमबाट उपभोक्ताले पनि लोभलाग्दो प्रगति गरेका छन् । त्यसै मध्येका एक हुनुहुन्छ्, दया अर्याल । उहाँले सामुदायिक वनको घुम्तीकोषबाट लिएको रकमले शुरुमा २ वटा बाख्रा किन्नुभएको थियो । अहिले उहाँसँग १६–१७ वटा बाख्रा पुगेको छन् ।

बाख्रा पालेर उहाँल ै े आफ्नो घरखर्च चलाउने र छोराछोरीको पठनपाठनको जोहो गर्दै आउनुभएको छ । उहाँजस्तै अन्य उपभोक्ताले पनि बाख्रा पालेर सजिलैसँग बर्षमा ५०–६० हजार आम्दानी गर्दै आएका छन् । त्यसले घरखर्च चलाउन सहज भएको उनीहरुको भनाई छ । यस्तै अरु उपभोक्ताले पनि विभिन्न पशुचौपाया पालेर आयआर्जन बढाएका छन् । सामुदायिक वनमा आवद्ध भएर वन जोगाउँदै आएका उपभोक्ताहरु समुहले आर्थिक आम्दानीमा सक्दो सघाउने र बाटो देखाउने गरेकोमा दंग छन् । आयआर्जनमा सक्रियता देखाएकै कारण सामुदायिक वनले जिल्ला र राष्ट्रियस्तरबाट पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।

अब्बल सामुदायिक वन व्यवस्थापनका रुपमा समुहले पाएको सफलताले उपभोक्ताहरुको मन जित्दै आएको छ । यसैगरी समुहले पर्यापर्यटनलाई पनि अघि बढाउँदै छ । सामुदायिक वनको शीरमा रहेको शितलादेवीको मन्दिर छ । त्यसैले पर्यटन विकासका लागि मन्दिरलाई व्यवस्थित गर्ने र अन्य पूर्वाधार विकास मार्फत पर्यटक आकर्षित गर्ने योजना समुहले बनाएको छ ।

प्रकाशित मिति : 27 अक्टोबर 2021, बुधवार
प्रतिक्रिया दिनुहोस