सामुदायिक वनमा महिला र संचारकाे भुमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की अध्यक्ष भारती पाठकले सामुदायिक वनमा ५० प्रतिशत महिला सहभागिता प्रावधानलाई अझै पनि पटक पटक घटाउनुपर्ने प्रस्ताव आएको बताएकी छिन् । सोमबार फेकोफनले काठमाडौँमा आयोजना गरेको “सामुदायिक वनमा महिला र संचारको भूमिका” विषयक छलफलको क्रममा अध्यक्ष पाठकले यस्तो बताएकी हुन् ।

विगतमा मुस्किलका साथ लडेर सोही व्यावस्था कायम गरिएपनि कार्यन्वयन पक्षले सहर्ष पुर्णता नपाउँदै उक्त सहभागितामा समर्थन गर्नु भन्दा पनि घटाउने प्रस्ताव गर्नु लज्जासपद रहेको उनको भनाई छ ।

वनसँग प्रत्यक्ष रुपमा महिला बढी रुपमा जोडिने तर लिडरसीपको लागि भने पुरुष नै अगाडी बढ्ने परम्परावादी व्यवस्थालाई दुर गर्दै फेफोकनले महिलाको सहभागितालाई विशेष प्राथमिकता दिँदै आएको उनले बताईन् ।

विगतमा वनविकास गुरु योजना बनाउने समयमा २०४६ सालमा महासंघले ५० प्रतिशत महिला सहभागिताको प्रस्ताव उठाएपनि त्यसलाई समर्थन गर्न नसक्दा ३३ प्रतिशत कायम भएको उनले जानकारी गराईन् ।

महासंघको स्थापना भएपछि करिब आवाज उठेको करिब छ वर्षपछि २०५२ सालमा महासंघको विद्यानमा महिला नेतृत्वको सहभागिता ५० प्रतिशत निकै संघर्षका साथ कायम गरिएको स्मरण गराईन् । २०६५ सालमा वन विकास मार्ग दर्शन बन्ने समयमा ५० प्रतिशत सामुदायिक वनको नेतृत्वमा र घरमुली जहिले पुरुष मात्रै नभई महिलालाई बनाउनुपर्ने प्रावधान गरिएको उनले बताईन् । मार्ग दर्शनमा यो निती पास गराउन पनि २ वर्षजति संघर्ष गर्न लागेको समेत उनले भनिन् ।

उनले थपिन “यहि संघर्षका कारण अहिले महिला नेतृत्व उत्साहजनक र यो बढ्दो क्रममा छ ।” साथै महासंघमा आवद्धताको लागि राजनैतिक हस्तक्षप समेत नरहेको उनले स्पष्ट पारेकी छिन् ।

प्रकाशित मिति : 28 अक्टोबर 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस