जापानी प्रविधिमा प्राकृतिक वन

प्राकृतिक रुपमा हुर्केको वन र बिरुवा रोपेर हुर्काइएको वन फरक हुन्छ । त्यसैले वृक्षरोपण गर्ने तर त्यो वन आफ्नै स्वरुपमा हुर्केको वनजस्तै हुने मियावाकी विधि जापानले अपनाउने गरेको छ । त्यही विधिलाई नेपालको भक्तपुरस्थित चाँगुनारायण सामुदायिक वनले पनि अवलम्वन गरेको छ । चाँगुनारायणको प्राकृतिक वन जंगलको पुनस्र्थापनाका लागि मियावाकी विधि ५ बर्षअघि शुरु गरिएको हो । ४६. ४७ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा अवस्थित छ ।

नेपालकै प्रसिद्ध धार्मिक सम्पदा चाँगुनारायण मन्दिरको चारैतिर फैलिएको यो वनमा २५५ घरधुरी उपभोक्ता आवद्ध छन् । जिल्ला वन कार्यालयले २०५१ सालमा सामुदायिक वनका रुपमा स्थानीय उपभोक्ताहरुलाई हस्तान्तरण गरेको थियो । ज्ञछद्द धार्मिक सम्पदा क्षेत्रभित्र पर्ने भएकोले यहाँको वनलाई प्राकृतिक रुपमै हुर्काउने र खाली क्षेत्रमा पनि वृक्षरोपण गरेर प्राकृतिक वनकै स्वरुपमा ढाल्ने उद्धेश्यले चाँगुनारायण सामुदायिक वन उपभोक्ता समुहले जापानको मियावाकी विधि अपनाएको छ ।

मन्दिरको दक्षिणपट्टीको खाली, पाखो क्षेत्रमा अत्यन्तै उन्नत विधि र सावधानी सहित जापानी वन प्राविधिकहरुकै सहयोगमा २८ हजार बिरुवा रोपेर हुकाईंदै छ । चाँप, रुद्राक्ष, खरी, पैंयू, कटुँस, काफल लगायतका विभिन्न चौडापाते प्रजातिका बिरुवाहरु हुर्कदै छन् । उपभोक्ता समुहका अध्यक्ष बलबहादुर श्रेष्ठका अनुसार यसअघि खाली रहेको र सल्लाको जंगलले पानीको श्रोत सुकेपछि प्राकृतिक रुपमै वन हुर्काउन जापानी विधि अवलम्वन गरिएको हो । हुन पनि पहिला वन क्षेत्रमा नौ वटा दह थिए ।

तर दक्षिण भेगका सल्लाको जंगलका कारण ती दह समयक्रममा अहिले सबै सुकेका छन् । शालीनदीमा तीर्थका लागि जाँदा नुहाउँने नागदह थियो पहिला । त्यसमा पानी सुकेपछि श्रीस्वस्थानी व्रतको समयमा पानी भरेर नुहाउने बनाउनु परेको छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘पानीको श्रोत नै सुकेर मरुभूमि होला भन्ने खतरा देखियो । त्यसैले जापानी विधिबाट रोपेका बिरुवालाई प्राकृतिक वनको स्वरुप दिन खोजिएको छ ।

रोपेका बिरुवाहरु हुर्कदैं जाँदा अहिले चिस्यान बढ्दै छ । केही बर्षपछि पानीको श्रोत फर्कने आशा गरिएको छ ।’ त्यसैले समुहले चाँगुनारायण मन्दिरको पश्चिम भेगमा पनि नमुना प्लट बनाएर तेजपात, ओखर, टिमुर, अमला लगायत विभिन्न जडीबुटीका १२ सयभन्दा बढी बिरुवाहरु रोपिएको छ । त्यसको माथिपट्टी थप तीन सय बिरुवा रोपेर हुर्काइदैं छ । त्यैसले चाँगुनारायण सामुदायिक वन नमुना वृक्षरोपण र प्राकृतिक स्वरुपमा उदाहरणीय वनका रुपमा विकास हुँदैछ ।

राजधानीसँगैको र ऐतिहासिक सम्पदा क्षेत्र भएकोले सामुदायिक वन उपभोक्ता समुहले पर्यापर्यटनबाट आयआर्जन गर्ने योजना पनि अघि बढाएको छ । पर्यटन मन्त्रालय मातहतबाट १० वटा पिकनिक सेटहरु ज्ञछघ बनाइएको छ । त्यसमा उपभोक्ता समुहले समन्वय गरेको छ । तर लाभ बाँडफाँटमा स्थानीय तहसँग सहकार्य हुन नसक्दा केही समस्या भने देखिएको समुहले जनाएको छ । पर्यटक आकर्षित गर्ने र शान्त वातावरणमा रमाउने परिस्थिति सिर्जना गर्न समुहले थप योजना पनि बनाउँदैछ ।

यस्तै बालउद्यान, वृद्धवृद्धाका लागि शितलपाटी निर्माण, कुवा तथा दह संरक्षणमा पनि समुहको विशेष भूमिका छ । यस्तै आयआर्जनका लागि चम्पापुर कृषि सहकारीसँग मिलेर आम्दानी र बचतका कामहरु गरिएको छ । समुहले सहकारीसँगको सहकार्यमा कृषि तथा पशुपालनमा उपभोक्तालाई सघाउँदै आएको छ । अनुदान उपलब्ध गराउने, तालिम दिने जस्ता काममा समुहले सहजीकरण गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उपभोक्तालाई घाँस दाउरामा पनि सुविधा दिने गरिएको छ । जडीबुटीबाट आम्दानी बढाउने लक्ष्य छ । यसैगरी चाँगुनारायण मन्दिरको मेला, पुजा र अन्य धार्मिक परम्परा सञ्चालन गर्दा सामुदायिक वनले सघाउने गर्छ । शिवरात्रीमा र महास्नान पर्वमा काठ दाउरा, चाँप फुल्दा मन्दिरमा चढाउने परम्परा लगायतका धार्मिक र सांस्कृतिक पक्षमा उपभोक्ता समुहले सहयोग गर्दै आएको छ । यस्तै वन संरक्षणका लागि २ जना हेरालु राखिएको छ ।

तारबार गर्ने, अग्निरेखा र पदमार्ग निर्माणका काम भएका छन् । यसैगरी सालक, कछुवा, कालिज, मृग लगायतका वन्यजन्तु संरक्षण गर्ने र उपभोक्तालाई सचेत बनाउने काम गरिएको छ । यसरी वन संरक्षण र वृक्षरोपणको नयाँ विधि लगायतका कामहरुमा अगुवाई गरेर उदाहरणीय बनेकोले चाँगुनारायण सामुदायिक वन उपभोक्ता समुहलाई जिल्ला वन कार्यालयले उत्कृष्ठसहित चार पटक पुरस्कृत गरिसकेको छ ।

प्रकाशित मिति : 9 नोभेम्बर 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस