लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा राष्ट्रपतिकाे प्रमुख आतिथ्यतामा सम्पन्न (फाेटाेफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीतिनिर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिएकी छिन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सामुदायिक वन उपभोक्ता महासङ्घले आइतवार गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले मानव अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएकाले विकास गर्दा यसको संरक्षणमा ध्यान दिनुपर्ने धारणा राखिन् ।

राष्ट्रपति भण्डारीले वनजङ्गलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्काेतिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासङ्घलाई धन्यवाद दिइन् । उनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गरिन् ।

महासङ्घले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना ब्यक्त गरिन् ।

समाजमा अझै पनि लैङ्गिकंिहंसा विभिन्नरूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषयभएको उल्लेख गर्दै राष्ट्रपतिले थपिन्,–“एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न सङ्घर्ष गर्नुपरेको छ भने अर्काेतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रूप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकातर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछु ।”

कार्यक्रममा महासङ्घकी अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मूलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र सामाजिक संस्था जिम्मेवारीपूर्वक लाग्नुपर्ने धारणा ब्यक्त गरिन् ।

प्रकाशित मिति : 5 डिसेम्बर 2021, आइतवार
प्रतिक्रिया दिनुहोस