संरक्षण र आयआर्जनको त्रिवेणी

धार्मिक मान्यता र किम्वदन्ती अनुसार गंगा नदी र कमला नदी दिदीबहिनी हुन् । गंगालाई भारतको प्रसिद्ध तीर्थस्थलका रुपमा हिन्दू धर्मावलम्वीहरुले पुज्ने र मान्ने गर्छन् । कमला नदी नेपालमा पर्छ । त्यसको उद्गमस्थल सिन्धुलीमा छ । कमला र गंगा दिदीबहिनीका बारेमा धेरै लामो किम्वदन्ती नै छ । त्यही कमला नदीको मुहान रहेको क्षेत्र हो, कमलाजी जन्मस्थान सामुदायिक वन ।

कमलामाई नगरपालिका वडा नम्वर ८ मा रहेको यो सामुदायिक वन ३३१.७१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । २०६० सालमा उपभोक्ताले संरक्षण थालेको यो वन समुहलाई हस्तान्तरण भएको भने २०६५ सालमा हो । धार्मिक महत्वको क्षेत्र र नदीको शीर तथा सिमसार क्षेत्र समेत भएकोले संरक्षण र पर्यटन विकासका रुपमा कमलाजी जन्मस्थान सामुदायिक वन जिल्लाकै अव्बल र उदाहरणीय बनेको छ । यो सामुदायिक वन क्षेत्रमा एकसय मिटरभन्दा धेरै सिमसार क्षेत्र छ ।

त्यसको संरक्षण गर्दै उपभोक्ता समुहले मुख्य चासो दिएको छ । धार्मिक द्दज्ञघ र पर्यटन विकासको आधार बनेकोले यहाँ ५० मिटर लम्वाई र ४० मिटर चौडाईको पोखरी बनाईको छ । पोखरीमा माछा पाल्ने र डुङ्गा चलाएर पर्यटक आर्कषण बढाउने र आम्दानी गर्ने गरी समुहले काम गरिरहेको छ । उपभोक्ताको आयआर्जन बढाउन यी योजना कार्यान्वयनमा लगिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चित्रनारायण श्रेष्ठले जानकारी दिनुभयो । समुहमा १४५ उपभोक्ता घरधुरी आवद्ध छन् ।

जिल्ला वन कार्यालयसँग समन्वय गरी धार्मिक तथा पर्यटकीय क्षेत्रलाई टेवा पुग्ने काम अघि बढाइएका छन् । वन क्षेत्रको क्षति हुन नदिन तटवन्ध समेत निर्माण गरिएको छ । सदरमुकामबाट जम्मा १४ किलोमिटरको दुरीमा रहेकोले पर्यटन प्रवद्र्धनको सम्भावना धेरै छ । त्यसैले उपभोक्ता समुहले मन्दिर र धर्मशाला बनाएर धार्मिक पर्यटक र धर्माबलम्वीहरुलाई आकर्षित गर्दैछ । वनभोज स्थल बनाईएको छ । यस्तै सुन्दर र हराभरा बगैंचा स्थापना समेत गरिएको छ । दानवीरको सहयोगमा धर्मशाला समेत बनिरहेको छ ।

त्यहाँसम्म पुग्ने सडक कालोपत्रे गरेर स्तरोन्नती गर्न समुहले नगरपालिका र प्रदेश सरकारसँग पहल गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उपभोक्ताहरुको आयआर्जनका लागि सामुदायिक वनमा अम्रिसो खेती, घाँसखेती, बाँसको मुडा बनाउने तालिम दिइएको छ । सबै उपभोक्तालाई टोल टोलमा उपसमितिहरु नै बनाएर तालिम दिइएको छ । बाख्रापालनमा विशेष गरेर प्राथमिकता दिइएकोले यहाँका अधिकांश घरमा अतिरिक्त आयका लागि बाख्रापालन गरिएको छ ।

समुहका उपभोक्ताले व्यवसायिक रुपमा बाख्रा पालेका छन् । अध्यक्ष श्रेष्ठले समेत ठूलोस्वारा बाख्रा फर्म दर्ता गरेर एक सयभन्दा बढी बाख्रा पालेर अरुलाई पनि उदाहरणीय बन्नु भएको छ । उहाँका अनुसार टिकाराम थिङ, पदमा दोर्जे लामा, लक्ष्मण रुम्वा लगायतले बाख्रापालनबाट राम्रो आम्दानी गर्नुभएको छ । उहाँहरुसहित धेरैका घरमा २० देखि २५ वटासम्म बाख्रा छन् । सामुदायिक वन उपभोक्ता समुहले सहयोग गर्ने र व्यवसायका लागि प्रोत्साहन गरेकोले उपभोक्ताहरु आयआर्जनका लागि द्दज्ञद्ध बाख्रा पाल्न अघि सरेका हुन् ।

विपन्न उपभोक्ताहरुलाई समुहले बढी प्राथमिकता दिने गरेको छ । नेतृत्व विकास, गरिबी न्यूनीकरण, महिला तथा दलीत सचेतनाका कार्यक्रमहरु, लैङ्गिक हिंसा अन्त्य जस्ता सामाजिक बिषयमा पनि समुहले काम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै सामाजिक कृयाकलाप अन्तर्गत विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, शिक्षा र स्वास्थ्यमा सहयोग गरिएका छन् । वन संरक्षणमा पनि धेरै काम भैरहेका छन् । त्यसैले वनको स्तर धेरै सुधारिएको छ । चोरी निकासी रोकिएको छ ।

वन हेरालु राखेर समुहले नियमित गस्ती गर्दै आएको छ । उपभोक्ता तथा समुहका पदाधिकारी र सदस्यहरुले पनि अनुगमन गर्ने, काम कारवाहीको निरीक्षण गर्ने गर्छन् । वनमा आगलागी हुन नदिन विशेष सर्तकता अपनाउने गरिएको छ । अग्निरेखा निर्माण गरिएको छ । यस्तै वनको वृद्धि मापन गर्न नमुना प्लट बनाइएको छ । बर्षमा कति वन बढ्यो, रुख बिरुवा कति हुर्के ? जस्ता विषयको पहिचान र अध्ययन गरिन्छ यहाँ ।

त्यसैले पनि वन संरक्षण, पर्यटन प्रवद्र्धन, गरिबी न्यूनीकरणमा कमलाजी जन्मस्थान सामुदायिक वनले नमुनाका रुपमा आफ्नो पहिचान बनाएको छ । समुहको आम्दानी सामान्य वनपैदावार बिक्रीबाट आउने रकम मात्रै हो । त्यसैले चाहेर पनि डढेलो नियन्त्रणमा यान्त्रिकरणको उपयोग गर्न नसकिएको, आन्तरिक खपतका लागि पनि उपभोक्ताले नियम अनुसारका वन पैदावार निकाल्न नपाइएको जस्ता समस्या भएको समुहले जनाएको छ ।

तर सबै समस्याका बावजुत पनि संरक्षण र सम्वद्र्धनका कामलाई समुहले रोकेको छैन् । बरु झन बढाएको छ । वन राम्रो बनाउने, धार्मिक क्षेत्र र सिमसार जोगाउँदै आयआर्जन बढाउने र उपभोक्ताको हितमा काम गर्ने लक्ष्यमा समुह छ ।

प्रकाशित मिति : 3 जनवरी 2022, सोमवार
प्रतिक्रिया दिनुहोस