अग्नि नियन्त्रण र सुशासनको सारथी

सुन्दर सामुदायिक वन, मकवानपुर अग्नि नियन्त्रण र सुशासनको सारथी आ–आफ्नो क्षेत्रमा जवाफदेहीता र जिम्मेवारी पदमा हुने वा नहुने हरेक व्यक्तिको हुन्छ । त्यसैले त मकवानपुरको सुन्दर सामुदायिक वन उपभोक्ता समुहको नेतृत्वले भन्ने गर्छ– घाँस दाउरा र काठपातका लागि मात्रै वन चाहिने हैन, हर तरहले संरक्षण गर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैले हामी केवल काठमात्रै चाहिने काठे उपभोक्ता नवनौं है । हो, यही नाराले नाममा सुन्दर सामुदायिक वन जति राम्रो छ, काममा पनि अब्बल छ ।

अग्नि नियन्त्रण– नेपालका वन जंगलको डरलाग्दो क्षतिको एउटा महत्वपूर्ण कारण वनेको आगलागी नियन्त्रणमा यो सामुदायिक वन उपभोक्ता समुहले देशमै नमुनाका रुपमा नाम कमाएको छ । वनमा आगो लाग्न नदिन र आगलागी भैहालेमा नियन्त्रणमा लिन तालिमप्राप्त दक्ष र विशेष दस्ता नै खडा गरिएको छ । सरकारले डढेलो दिवस मनाउनु अघि नै यहाँ वनलाई डढेलोबाट बचाउने अभियान जारी राखिएको थियो । वनमा डढेलो लागेको थाहा पाउने द्दघद्द बित्तिकै कम्तिमा एकसय जनाको दस्ता तयार हुन्छ, निभाउने काममा खटिन ।

त्यसैले २०६७ सालमा सरकारले डढेलोविरुद्धको दिवस मनाउँदा सुन्दर सामुदायिक वन कुशल व्यवस्थापकका रुपमा पुरस्कृत समेत भएको थियो । जवाफदेही कार्यसमिति– समुहको कार्यसमितिमा बस्नेले वनको नेता भएर मात्रै सुख पाइदैन, पढेलेखेको छु भनेर मात्रै पनि पुग्दैन, सामुदायिक वनको सिमाना, प्लट अनुसार बिरुवाको प्रजाति र जडिबुटीको अवस्था, वन्यजन्तुको बासस्थान, पानीको श्रोत र मुहानको स्थिति, वनको कुल क्षेत्रफल र घरधुरी उपभोक्ता जस्ता कुरा ।

त्यो नजान्ने नेतृत्वलाई निरक्षर मानिन्छ । उपभोक्ता समुहका अध्यक्ष कमलबहादुर लामा भन्नुहुन्छ– ‘सबैमा जिम्मेवारी बोध र जवाफदेहिता होस् भन्ने हामी चाहन्छौं ।’ राजाले नसकेको उपभोक्ताले सके– हेटौडा शहर नजिकैको यो वनको आफ्नै कथा छ । कुरा, २०४२ सालतिरको हो । तत्कालिन राजा विरेन्द्र क्षेत्रीय भ्रमणमा निस्कँदा अहिलेको सामुदायिक वन क्षेत्र रित्तिदै गएको देखेपछि उनले रानीवन बनाउने निर्देशन दिँदै अर्कोपटक आउँदा हराभरा देख्न चाहेको बताएका थिए ।

त्यसपछि वन कार्यालयका कर्मचारीले दिनरात खटिएर काम थाले । तर वनमा पाइने र झट्ट हेर्दा भलायो जस्तो देखिने प्यारी नामको रुख फडानी भने रोकिएन् । अन्ततः सरकारले वन जोगाउन नसकेपछि २०५६ सालमा यो वन समुदायलाई हस्तान्तरण गरिएको हो । अहिले यो वन संरक्षणसँगै हराभरा मात्रै भएको छैन, यसले सुशासनमा नाम कमाएको छ र पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । राजाले भन्दासमेत जोगिन नसकेको भनिने यो वनलाई नमुना बनाउन र सुशासन कायम गर्न सबै उपभोक्ता हरसम्भव प्रयासमा छन् । त्यसैले कुनै बेला चर्केको विवाद पनि पछि परिस्थितिसँगै समाधान भयो ।

सुशासनमा अव्वल– सामुदायिक वनको सुशासन अवस्था आंकलन गर्दा यसले सहभागिता, दूरदर्शीता, जवाफदेही र पारदर्शीतामा उत्कृष्ट नजिता हासिल गरेको छ । हरेक पाँच बर्षमा हुने यो अध्ययनमा सुन्दर सामुदायिक वनले १६ पूर्णाकंमा १४ अंकसम्म प्राप्त गर्दै आएको छ । अब थप अंक प्राप्त गरेर झन उदाहरणीय बन्ने योजनमा छ यो समुह ।

प्रकाशित मिति : 24 अप्रिल 2022, आइतवार
प्रतिक्रिया दिनुहोस