जलविद्युतमा लगानीले गाउँ झिलिमिली

हुम्ला जिल्लाको सर्केघाट गाउँपालिका वडा नम्वर ७ मा रहेको धौलापानी सामुदायिक वन एउटा यस्तो वन हो, जसले आजभन्दा १५ बर्ष अघि नै लघुजलविद्युत आयोजनामा लगानी गरेर गाँउ झिलिमिली पारेको थियो । हुम्ला अहिले पनि विकट जिल्लाकै रुपमा चिनिन्छ, पूर्वाधारमा राज्यको उचित ध्यान नपुग्दा र भौगोलिक विकटताले गर्दा हुम्ला अहिले पनि धेरै पछाडि पारिएको छ । तर त्यही जिल्लामा सामुदायिक वनले २०६३ सालमै जलविद्युतमा लगानी गरेर उपभोक्तालाई बिजुली बाल्न सघाउँदै नमुना काम गरेको छ ।

धौलापानी सामुदायिक वन उपभोक्ता समुहका तत्कालिन सचिव स्वर्गीय हर्कबहादुर शाहीका पालामा समुहको निर्णय अनुसार एकलाख रुपैंया निर्माणाधिन लघु जलविद्युत आयोजना लगानी भएको थियो । त्यसै अनुसार उपभोक्ताले बिजुली पाल्न पाएका हुन् । वनका उपभोक्ताले प्रति महिना एकसय रुपैंया बुझाएपछि आफूलाई चाहिएजति बिजुली उपयोग गर्न पाउँछन् । समुहका अध्यक्ष रत्न शाहीले विद्युत उत्पादन भएपछि रोडीकोट ठूलागाउँ झिलिमिली भएको तथा समुहको सक्रियताले बत्ति बाल्न पाएपछि वनमा आवद्ध ४ सय घरधुरी उपभोक्तालाई धरै राहत भएको बताउनुभयो । ९० किलोवाटको लघु जलविद्युतबाट अरु गाउँलेलाई पनि फाईदा भएको छ ।

त्यसैले सामुदायिक वनको योगदानलाई स्थानीय उपभोक्ता मात्रै हैन, टाढाका गाउँलेहरुले पनि सम्झने गर्छन् । ३७२ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन २०५३ सालमा उपभोक्ता समुहलाई हस्तान्तरण भएको हो । त्यसयता वन संरक्षण, व्यवस्थापन र उपभोक्ताको हित नै समुहको प्राथमिकतामा रहेको अध्यक्ष शाहीको भनाई छ । जडीबुटी यहाँको अर्को श्रोत हो । जटामसी, पदमचाल, कुट्की, वन लसुन, सेतोचिनी, लगायत एक दर्जनभन्दा बढी जडीबुटी पाईन्छ यो वनमा ।

तर समुहको कार्ययोजना अनुसार र कानूनी अधिकार भएपनि आयआर्जनका लागि जडीबुटी निकाल्न खोज्दा वन कार्यालयबाट सहयोग नपाएको समुहको गुनासो छ । यसपाली मात्रै समुहले जिल्ला वन कार्यालय पुगेर त्यसबारे जानकारी गराएको छ । तर बिक्री गर्न सहज अनुमति दिइएको छैन् । जसले गर्दा समुहले आयआर्जनका काम गर्न सकेको छैन् । उपभोक्ताहरुले पनि संकलन गर्न नपाउँदा उनीहरुको आम्दानी समेत प्रभावित भएको छ । तरपनि समुहले वन संरक्षण र सम्वद्र्धनका काम रोकेको छैन् । वन हराभरा भएको छ ।

चोरी निकासी रोक्न उपभोक्ताहरु आफैं जंगल जाने, जडीबुटी र रुखहरु जोगाउन अनुगमन गर्ने काम गर्दै आएका छन् । वन नियमित हेर्नेगरी एकजना हेरालु राखिएको छ भने आवश्यकता अनुसार कहिले २ जना राख्ने गरिएको उपभोक्ता समुहका अध्यक्ष शाहीले जानकारी दिनुभयो । गरिबी न्यूनिकरणका लागि सघाउन विपन्न उपभोक्तालाई काठ दाउरा छुट दिने गरिएको छ । समुहले अति विपन्नलाई औषधी उपचारमा सहयोग गरेको छ । यसैगरी सामुदायिक वनको वरिपरिको नक्सा नै तयार गरेर द्दद्धण् क्षेत्र पहिचान गरिएको छ ।

संरक्षण सम्वन्धी तालिम दिने, सचेतना, नेतृत्व विकासका छलफलहरु चलाउने लगायतका कामहरु समुहले गर्दै आएको छ । यो सामुदायिक वनमा पर्यटन विस्तारको समेत सम्भावना छ । समुहका अनुसार वनभित्र चारवटा ठूला–ठूला तालहरु छन् । तर आर्थिक अभाव, यातायातको पहुँचको समस्या लगायतका कारणले त्यसलाई पर्यटकीय गन्तव्यस्थल बनाउन सकिएको छैन् । वनभित्रै धामी–झाँक्रीले पुजापाठ गर्ने मन्दिर समेत छ । भेडा तथा चौरी चराउनेहरुले पुज्ने मन्दिरलाई संरक्षण गरिएको छ ।

त्यसैले समुहले पर्यापर्यटनमा पनि पहल गरिरहेको छ । तालहरुको संरक्षण र त्यहाँसम्म आन्तरिक र बाह्य पर्यटक पुग्ने गरि बाटो बनाउने, प्रचार प्रसार गर्ने योजना सामुदायिक वनको छ । त्यसो गर्न सकेमा थप आयआर्जन हुने र त्यसले स्थानीय उपभोक्ताको मात्रै हैन, मुलुककै पर्यटन विस्तारमा टेवा पुग्ने विश्वास समुहले गरेको छ ।

प्रकाशित मिति : 25 अप्रिल 2022, सोमवार
प्रतिक्रिया दिनुहोस