सभ्यता संरक्षणमा सामुदायिक वन

तपाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देही देवदह नगरपालिकाको खैरेनी बजारबाट करिब ३ किलोमिटर उत्तरतर्फ लाग्नुभयो भने वनभित्र एउटा रमणीय उद्यानमा पुग्नुहुन्छ । जहाँ नेपालकै नमुना कला देख्न पाइन्छ । पुराना, थोत्रा र मुढा काठमा आकर्षक र कलात्मक मूर्तिहरुले जो कसैको पनि मनै लोभ्याउँछ ।

काठमा श्रीबच्च, अष्ठभगत, देवदहको नक्सा र पाकरी वृक्षको आकृति, वायुको चित्र, सिद्धार्थ गौतमलाई आमा मायादेवीले लुम्विनीमा जन्म दिदै गर्दाको र सिद्धार्थ सात पाइला हिँडेको, बौद्ध भिक्षु ध्यानमा बसेको, पञ्चशील सिद्धान्त झल्काउने चक्र, कोलिय गणराज्यका राजा सुप्रबुद्धको मूर्ति, ज्ञानको खोजीमा भारत बोधगया नजिकै तपस्यामा रहेका बुद्धको द्दछद्ध जीर्ण भएको शरीरको अर्धकद लगायत सिद्धार्थ गौतमको जन्मदेखि ज्ञान प्राप्तिसम्मका मुख्य घटनाक्रमको प्रतिरुप झल्काइएको छ ।

बुद्धको मावली देवदहको चिनारी पनि देखाइएको छ । वनमा कुहिएर जाने वा आगो बालेर सिध्याइने काठका ठुटा र जराहरुलाई बुद्ध र उनको परिवारका सदस्यको आकृतिमा बदल्ने काम गरेर कलाले नै ज्ञान, सिद्धान्त र दर्शन बचाउन सक्छ भन्ने देखाएको रुपन्देहीको बुद्ध सामुदायिक वन उपभोक्ता समूहले हो । बुद्धको महत्व अझै बढाउने र पर्यटन विकासमा मद्धत पुर्याउने उद्धेश्यले अरुभन्दा फरक काम गरेका छौ– समुहका अध्यक्ष टेकबहादुर रानाले भन्नुभयो ।

सामुदायिक वनभित्र छुट्टै विशेषतासहितको आकर्षक पर्यटकीय स्थल बनाउने लक्ष्य अनुसार ८ हेक्टर जग्गालाई राष्ट्रिय उद्यानका रुपमा विकास गरि बुद्धलाई जोडेर देवदहको पर्यटन विकास गर्ने र कम्तीमा एकदिन पर्यटकको देवदहमा बसाई होस् भन्ने उद्देश्यका साथ काम अगाडि बढाइएको छ । गुल्मी, रुपन्देही, चितवन, रौतहट, इलाम, झापा र काठमाडौं जिल्लाबाट आएका १७ जना मूर्तिकारले त्यहाँ काठमा कला भरेका हुन् ।

ड्रिम देवदह युनिटी फर चेन्जको सहकार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसमेतको सहयोग लिएरसामुदायिक वनले २०७६ सालमा काष्ठकला कार्यशाला नै आयोजना गरेको थियो । ‘सामुदायिक वनभित्र बन्ने गौतमबुद्ध पार्कलाई बुद्धसँग सम्बन्धित काष्ठकलाले सजाउने र राष्ट्रियस्तरमा चिनारी दिलाउने उद्धेश्य राखिएको र उद्यानमा विभिन्न पर्यटकीय पूर्वाधारहरु बनाउन हालसम्म ३० लाख रुपैयाँभन्दा बढी खर्च भैसकेको सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।

समुहको लक्ष्य छ– मानिसहरु घण्टौं कलाकृति भित्र मानवीय जीवनको मूल्यबोध गर्न घोत्लिउन् र फरक अनुभूत गरुन् । अनि यिनै प्रतीक चिन्हहरुले मृत्युपर्यन्त मानिस, सभ्यता, संस्कृतिलाई बचाउन सकुन् । पुस्तौं पुस्तासम्म ज्ञान प्रसार गर्न दिगो तरिका अपनाउने रउद्यान तथा मन्दिरहरु मन बहलाउने मात्रै हैन, मानव ज्ञान र मानवता विस्तारका स्थल समेत बनाउने गरि पर्यटक आकर्षण गर्न खोजिएको छ ।

सामुदायिक वनको द्दछछ अगुवाईमा देवदहलाई कोलीय सभ्यताको पहिचान दिनेतथा पर्यटकहरुको बसाई लम्ब्याउन पर्यटन पूर्वाधारको विकास गर्ने उद्धेश्यले काठमा कला भर्ने योजना अघि सारिएको हो । सामुदायिक वनभित्र निर्माण गरिएको उद्यानमा काष्ठकलामा निर्मित मूर्तिहरुले करिब एक दिन पर्यटकलाई देवदह अड्याउन सकुन् र देवदहको समृद्धि हासिल गर्न सहयोग पुगोस् सामुदायिक वनसँग सहकार्य गरिएको ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।

बुद्ध सामुदायिक वन देवदह नगरपालिकाको वडा नम्वर ६ र ७ मा १ सय ९५.३९ हेक्टरमा फैलिएको छ । वन संरक्षणलाई प्रभावकारी बनाउन टिक, बकाईनो, मसला, सिसौ, जामुन बिउ बाँस लगायतका बिरुवा रोपेर हुर्काउने काम भैरहेको छ । संरक्षणका लागि तारबार लगाइएको छ । पर्यटन विकासका अलावा सामुदायिक वनले गरिबी न्यूनिकरणमा पनि योगदान दिएको छ । महिलाहरुलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने, घुम्तीकोष मार्फत आयआर्जनका काममा विना व्याज वा सर्वसुलभ रुपमा सहयोग गर्ने काम समुहले गरेको छ ।

जसले गर्दा उपभोक्ताहरुको जीविकामा समेत सुधार आएको छ भने वन संरक्षण तथा सदुपयोग प्रति उपभोक्ताहरु पनि सचेत भएर लाग्दै आएका छन् । पर्यटन विकासबाट भविश्यमा हुने आम्दानीलाई पनि समुहकै हितमा र वन संरक्षणमा उपयोग गर्ने योजना सामुदायिक वनको छ ।

प्रकाशित मिति : 27 अप्रिल 2022, बुधवार
प्रतिक्रिया दिनुहोस