सामाजिक विकासको अगुवा

तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा नम्वर २ साविक खाम्लालुङ गाविस वार्ड नं ९ साम्थाङमा २०५२ सालमा गठन भएको हो कार्तिके सामुदायिक वन उपभोक्ता समूह । समुह गठन हुनुभन्दा अगाडि नाङ्गो चौरको रुपमा रहेको यो ठाउँ गाईवस्तु र भेडाबाख्राको चरिचरन क्षेत्र थियो । स्थानीय बासिन्दाको सक्रियता र जिल्ला वन कार्यालयसहित सरोकार राख्ने संघ संस्थाहरुको सहयोगमा जनश्रमबाटै वृक्षरोपण गरेर द्दटद्द वन हुर्काइएको हो । हाल करिब ७० प्रतिशत क्षेत्रमा वन रहेको छ भने बाँकी ३० प्रतिशत क्षेत्रमा झाडी र खाली ठाउँ छ ।

वनमा पेटुला सल्ला, पात्ले कटुस, उतिस, लालीगुराँस, चाँप लगायत अन्य डालेघाँस प्रजातिका बोटबिरुवाहरु रहेका छन् भने गैरकाष्ट वनपैदावारमा लोक्ता, अर्गेली र जडीबुटीहरुमा चिराइतो चोथ्रो, मजिटो आदि पाइन्छ । समुन्द्र सतहबाट करिब १९०० मिटरदेखि २३५० मिटरको उचाइमा रहेको यो सामुदायिक वनको क्षेत्रफल ४०.८० हेक्टर रहेको छ । उपभोक्ताहरु ३३ घरधुरी छन् । नाङ्गो पाखोमा वृक्षरोपण गरेर वन बनाएका उपभोक्ताहरुले संरक्षणसँगै विकास र आयआर्जनका विभिन्न कामहरु गरेर नमुना प्रस्तुत गरेका छन् । उद्योग सञ्चालन– सामुदायिक वन उपभोक्ता समुहले २ वटा उद्योग सञ्चालनमा गरेको छ । डेरी उद्यम सञ्चालनले उपभोक्ताहरुलाई स्वरोजगारमूलक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

सबै उपभोक्ताहरुलाई कृषि तथा पशुपालन व्यवसायका लागि उत्प्रेरित गरेको यो उद्योग नमुनाका रुपमा पनि चिनिदै आएको छ । किनभने यसै उद्योगको प्रेरणाले निजी लगानीमा अन्य ३ वटा डेरी पनि सञ्चालनमा छन् । त्यस्तै हरेक उपभोक्ताहरुले कम्तिमा २ माउ गाई निजी लगानी र अति विपन्न परिवारलाई सामुदायिक वनले घुम्तीकोषको रकम लगानी गरेर शुरुमा बाच्छी खरिद गरिदिएको थियो । हाल उक्त कोषको रकम फिर्ता गरिसकेर अतिविपन्न परिवारका सदस्यहरुले पनि आम्दानीमा वृद्दि गरिसकेका छन् । सामुदायिक वनकै सहयोगमा गाउँमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएको छ भने आम्दानी पनि मनग्ये हुन थालेको छ । यसैगरी सामुदायिक वनमा रमिते हाते कागज उद्योग शुरु गरिएको छ ।

डिभिजन वन कार्यालय तेह्रथुम र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा तेह्रथमका ु े आर्थिक सहयोग तथा उपभोक्ता समुहको व्यवस्थापनमा सञ्चालित हाते कागज उद्योगबाट बार्षिक १५ देखि २० लाखको कारोवार गर्ने लक्ष छ । कोभिड १९ को कारणबाट हाल उद्यम सञ्चालनमा समस्या देखिएपनि निकट भविष्यमा जापानिज प्रविधिको द्दटघ कागज उत्पादनमा समुह लागिपरेको छ । कागज उद्योगलाई दिगो र स्वरोजगारमूलक बनाउन लोक्ता खेतीको शुरु गरिएको छ ।

कोभिडले रोकिएको उद्योग नियमित सञ्चालन भएपछि अप्रत्यक्ष १२ जना र प्रत्यक्ष २ जनाले रोजगार पाउने छन् । पर्यटन विकासः यो सामुदायिक वनक्षेत्र भित्रबाट ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्द तीर्थस्थल पाथिभराको मन्दिर, सुकेटार विमानस्थल, कुम्भकर्ण हिमाल, कञ्चनजंघा हिमश्रृङ्खला र संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गममा रहेको पर्यटकीय स्थल तिजुरेमिल्के जलजले र गुफापोखरी पनि देख्न सकिने हुनाले पर्यटन विकासका प्रसस्तै सम्भावना छन् ।

त्यसै अनुसारको काम पनि उपभोक्ता समुहले अघि बढाएको छ । वनभोजका लागि पर्याप्त पानीको सुविधा भएको हुनाले र फाँटिलो क्षेत्रसमेत रहेको तथा झाँक्रीगुफा पनि सामुदायिक वनभित्रै भएकोले पर्यटन पूर्वाधारका कार्यहरु शुरु गरिएको छ । झाँक्रीगुफासम्म सिंढी निर्माण, प्रतिक्षालय निर्माण, जोरपोखरी संरक्षण, जुकेपानी मुल संरक्षण र युवाहरुका लागि खेलमैदान निर्माण गर्ने र वनभोज खान र रमाउन आउने समूहका लागि सहजताका लागि शौचालय समेत निर्माण गरिसकिएको छ । रमिते डाँडामा भ्यू टावर निर्माणका लागि समुहले आवश्यक प्रकृया अघि बढाईसकेको अध्यक्ष गोपी ढुङ्गानाले जानकारी दिनुभयो । यसैगरी सामुदायिक वनले मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि उपभोक्तालाई सघाएको छ ।

त्यसैले उनीहरुले तरकारी खेतीबाट मनग्ये आम्दानी लिन सुरु गरिसकेका छन् र सदस्यहरु खासै वैदेशिक रोजगारीको शिलशिलामा प्रवास जानुपरेको छैन् । युवाहरुको सक्रियतामा हरेक परिवारमा आम्दानीका श्रोतहरुको पहिचान गरी सोही बमोजिमका नगदेवाली जस्तै अलैची, अम्लिसो, दुध बिक्री, तरकारी खेतीमा आलु, बन्दाकोपी, रायो, मुला तथा अन्य खेतीले व्यवसायिक रुप लिइसकेको छ । अब दिगो बजार व्यवस्थापन र सहज सडक हुने हो भने उपभोक्ता सदस्यहरुमा आर्थिक समृद्धिको ढोका खुल्ने निश्चित छ । द्दटद्ध कार्तिके सामुदायिक वन उपभोक्ता समुह सिंगो जिल्लाकै नमुना बनेको छ ।

संस्थागत विकासका लागि उपभोक्ताद्धय घनश्याम दाहालले २ आना तथा गोपी ढुङ्गानाले ४ आना जग्गा सामुदायिक वनकै नाममा प्रदान गरी सहयोग गर्नुभएकोले त्यसैमा कार्यालय व्यवस्थापन र हाते कागज उद्यम सञ्चालन भएको छ । सामुदायिक वन उपभोक्ता समुहको नाममा व्यक्तिले जग्गा प्रदान गरी पुर्वाधार निर्माण गरेको गाउँपालिका भित्रको पहिलो सामुदायिक वन हो ।

यसैगरी समुहले महिला, विपन्न, दलित तथा पछाडि पारिएका उपभोक्ताहरुको क्षमता विकास, संस्थागत विकासका लागि लेखा व्यवस्थापन र पारदर्शिता, वन पैदावार संरक्षण तथा सदुपयोगमा न्यायोचित वितरण, सीपमूलक तालिम र काठ, फर्निचर चिरानी मिल सञ्चालन, उत्पादित वस्तुको बजारीकरणका काम पनि गर्दै आएको उपभोक्ता समुहका सदस्य विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । यी समग्र कामले सामुदायिक वनको माध्यमबाट उपभोक्तहरुको सामाजिक, आर्थिक र शैक्षिकस्तर उकास्दै सामाजिक विकासको सुरुवात सामुदायिक वनबाट गर्न सकिने रहेछ भन्ने दरिलो उदाहरण कार्तिके सामुदायिक वन उपभोक्ता समुहले देखाएको छ ।

प्रकाशित मिति : 28 अप्रिल 2022, बिहिवार
प्रतिक्रिया दिनुहोस