विद्यार्थी पढाएको सामुदायिक वन

गरिबी, अशिक्षा र स्वास्थ्य समस्या, छुवाछुतप्रथा लगायतका कारण बारम्बार चर्चामा आउने गरेको जाजरकोट जिल्लामा पछिल्लो समय परिवर्तन र सुधारका कामहरु भैरहेका छन् । विकास निर्माण र चेतनामुलक गतिविधिले विस्तारै जाजरकोटको पुरानो स्वरुप फेरिँदै छ । तर गर्नुपर्ने कामहरु अझै धेरै बाँकी छन् । परिर्वतन र सुधारका काममा जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समुहहरुले पनि सहयोग गर्दै आएका छन् ।

वन संरक्षणका अलावा शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, आयआर्जन, गरिबी न्यूनीकरण, महिला, दलित, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायको हकअधिकार स्थापना गर्न स्थानीय उपभोक्ता, सामुदायिक वन उपभोक्ता समुह र महासंघबाट भएका पहलहरु सकारात्मक देखिएका छन् । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नम्वर १२, कार्की गाउँमा पर्छ चामेपातल सामुदायिक वन । यो सामुदायिक वन उपभोक्ता समुहले स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

शिक्षा र कृषि सडकमा यसले गरेको योगदान नमुनाकै रुपमा रहेको छ । २०५२ सालदेखि संरक्षण वन गरेर जोगाउँदै र उपयोग गर्दै आएको समुहमा १३२ घरधुरी उपभोक्ता आवद्ध छन् । वन क्षेत्र करिब ४१७ हेक्टरमा फैलिएको छ । उपभोक्ता समुहले बिग्रदै गएको वनको स्तर सुधार मात्रै गरेको छैन् । शिक्षा क्षेत्रका लागि लाखौं लगानी गरेको छ । गाउँमा विद्यालय नहुँदा बालबालिकाले पढ्न नपाएका र विद्यालय भएपनि शिक्षक अभावमा पठनपाठन प्रभावित भएको अवस्थामा सामुदायिक वनले आफ्नो आम्दानी शिक्षामा लगानी गरेको छ ।

सरस्वती आधारभूत विद्यालयलाई शिक्षक राख्न र उनीहरुको तलवकै लागि १४ लाख ९२ हजार ९ सय रुपैंया अनुदान दिएको छ । यस्तै जनविकास प्राविलाई अनुदान रकम ६० हजार, नारायणी माविलाई ४५ हजार अनुदान दिएको उपभोक्ता समुहका अध्यक्ष जयबहादुर सिंहले जानकारी दिनुभयो । समुहले आर्थिक सहयोग गरेर शिक्षक राख्न सकिएकोले सामुदायिक वनले स्कूल चलाएको र विद्यार्थी पढाएको हो भन्दा फरक पर्दैन् । उपभोक्ताहरुको आयआर्जन बढाउने गरी विभिन्न कामहरु गर्दै आएको छ ।

सामुदायिक वनको घुम्तीकोषबाट १० हजार सहयोग पाएपछि ३५ भन्दाबढी घरधुरीले बाखा्रपालन गरेर आम्दानी बढाएका छन् । यस्तै खुद्रा पसल, कुखरापालन, खेतीपाती लगायतमा पनि समुहको सहयोग प्रभावकारी देखिएको छ । समुहले सहयोग गरेपछि उपभोक्ताको आम्दानी बढेको छ । उनीहरुलाई घरखर्च चलाउन सजिलो भएको त छ नै, आफैले केही गर्नुपर्दो रहेछ भन्ने भावनाको पनि विकास भएको छ ।

स–साना आर्थिक सहयोगले काम थाल्न प्रोत्साहन गर्छ, अनि थोरैधेरै रिनधन गरेर अघि बढ्दा स्वरोजगार सृजनामा सघाउँछ र त्यसले आम्दानीका अन्य विकल्पहरु तर्फ पनि स्थानीय समुदायलाई आकर्षित गर्छ भन्ने नमुना चामेपातल सामुदायिक वनले देखाएको छ । संरक्षण गरेकै कारण अहिले वन घना भएको छ । सिसौं, काउलो लगायतका बिरुवाहरु रोपेर खाली क्षेत्रलाई जंगल बनाइएको छ भने अग्निरेखा निर्माण गरेर आगलागी नियन्त्रण गद उपभोक्ताहरुको संरक्षणकै कारण अहिले जंगल घना बनेको छ ।

चोरी निकासी हुन नदिन समुहले एकजना वन हेरालु राखेर रोजगारी समेत दिएको छ । उपभोक्ताहरुले समुहको नीति अनुसार काठदाउरा र घाँसपात उपयोग गर्न पाउँछन् भने झाडी सफाई र काटछाँटमा उनीहरुकै संलग्नताले झन सहज भएको छ । वन आफ्नै भन्ने ठानेर उपभोक्ताहरुले संरक्षण गर्दै आएको पनि अध्यक्ष सिंहले बताउनुभयो । उपभोक्ता सचेतनाका लागि सामुदायिक वनले संरक्षणबारे तालिमहरु दिने गरेको छ ।

यस्तै वन व्यवस्थापन, लेखा प्रणाली, वृक्षरोपण विधि, नेतृत्व विकास, महिला सशक्तिकरण, पशुपालन लगायतका तालिम पनि हुँदै आएकोले स्थानीयहरुमा आयआर्जन गर्नुपर्छ, स्वरोजगारीले गरिबी न्यूनीकरणमा सघाउँछ र जीविकोपार्जनमा मद्धत पुग्छ भन्ने चेतना बढेको छ । सामुदायिक वनले सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । सोतखोलादेखि झाँक्रीगाउँ जाने कृषि सडक निर्माणमा समुहले ७ लाख २५ हजार अनुदान सहयोग गरेको छ ।

यस्तै क्षितिज युवा क्लवलाई १० हजार, शौचालय निर्माणमा ४५ हजार, आमा समुहको भवनमा १४ हजार अनुदान दिएको छ । छिमेकी सामुदायिक वनलाई दर्ता र हस्तान्तरण प्रकृयाका लागि एकलाख रुपैंयासम्म सहयोग गरिएको अध्यक्ष सिंहले जानकारी दिनुभयो । यस्तै सडक दुर्घटनामा घाईत भएका विपन्न परिवारका सदस्यको उपचारमा एकजनालाई एक लाख रुपैंयासम्म सहयोग गरेको र इलाका प्रहरी चौकीलाई दश हजार रुपैंया अनुदान दिएको उहाँको भनाई छ ।

समुहको नियमित बैठक, भेला आयोजना, लैङ्गिक हिंसा विरुद्धका जनचेतनामुलक कार्य पनि हुँदै आएका छन् । सामाजिक रुपान्तरणमा सामुदायिक वनको योगदानले उपभोक्ताहरुमा सकारात्मक परिर्वतनका संकेतहरु देखिएका छन् । जुन राज्यले मोटो रकम खर्चेर गरेको भन्दापनि राम्रो हो । हामीले थोरै पैसाबाट पनि समाजमा परिर्वतनका बाटाहरु कोर्न सकिन्छ भन्ने देखाएका छौ–अध्यक्ष सिंहले भन्नुभयो ।

प्रकाशित मिति : 22 मे 2022, आइतवार
प्रतिक्रिया दिनुहोस