फेकोफनको सातौ राष्ट्रिय महाधिवेशनः प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको गरीमामय सातौ राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने भएको छ । यहि जेष्ठ ९, १० र ११ गते काठमाण्डौंको प्रज्ञा भवनमा हुने महाधिवेशमा देशभरबाट करिव आठसय प्रतिनिधिहरुको सहभागिता हुने महासंघका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो । महासंघ स्थापनाको २७ औं बर्षको अबधिसम्म आईपुग्दा ६ वटा महाधिवेशन र एउटा विशेष महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक अभ्यासलाई संस्थागत गरिसकेको छ । यसै सन्दर्भमा विधानले व्यवस्था गरे बमोजिम यस महासंघले आफ्नो सातौ राष्ट्रिय महाधिवेशन “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नारा राखेको छ ।

देशभरी क्रियाशिल उपभोक्ता समूहहरुको सकृयतामा वि.सं. २०५२ सालमा, प्रतिनिधिमूलक छाता संगठनको रुपमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको स्थापना भएको हो । महासंघले स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा समेत वन, वातावरण व्यवस्थापन तथा जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनमा क्रियाशिल रहेको छ । राज्यको पुर्नसंरचनासंगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पुर्नसंरचना भई ५४० भन्दा बढी पालिकास्तरमा स्थानीय महासंघ ७७ जिल्लामा जिल्ला महासंघ सातवटै प्रदेशमा प्रदेश महासंघ गठन भई सकृय रुपमा क्रियाशिल रहेका छन् ।

सामुदायिक वन विकास कार्यक्रम नेपाल सरकारको वन तथा वातावरण संरक्षण र प्रवर्धनको क्षेत्रमा बहुचर्चित, वहुआयामिक जन सहभागितामूलक सार्थक विकास अभियान हो । २०४६ सालको परिवर्तन संगै सुरु भएको यस अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफलता प्राप्त गर्न सफल भएको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरु गोलबद्ध गर्दै हाल सम्म देशभर २२,४१५ हस्तान्तरण भएका सामुदायिक वनमा २९,०७,८७१ घरधुरीले २२,३७,६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन् । जसका कारण वन क्षेत्रको दीगो व्यवस्थापनमा करिब १ करोड ५० लाखको हाराहारीमा स्थानीय उपभोक्ताहरु यसै सामुदायिक वन कार्यक्रमको माध्यमबाट वन संरक्षण, सवर्धन, र उपयोगमा क्रियाशिल रहदै आएका छन् ।

महासंघलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यहासम्म पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण सुभचिन्तकमा तथा वन अधिकारकर्मिहरुमा हार्दिक आभार प्रकट गर्दे महाधिवेशनलाई सफतला पूर्वक सम्पन्न गराउनका लागि अध्यक्ष पाठकले आग्रहसमेत गर्नुभएको छ ।

प्रकाशित मिति : 22 मे 2023, सोमवार
प्रतिक्रिया दिनुहोस