भूकम्पपीडितको राहत, उद्धार र पुर्नस्थापनामा जुट्नमा महासंघको आव्हान

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन उपभोक्ता समूहहरुलाई भूकम्पपीडितको राहत, उद्धार र पुर्नस्थापनामा जुट्नमा आव्हान गरेको छ ।
महासंघका अध्यक्ष ठाकुर भण्डारीले जाजारकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्बाट क्षति भएपछि समुदायका यूवाहरु परिचालन गरेर राहत, उद्धार र पुर्नस्थापनामा जुट्न आह्वान गरेका हुन । उनले सामुदायिक वन उपभोक्ता महासंघ र नेपालका सवै संरचना लाई समेत सक्रिय रुपमा सहयोगमा जुट्न अपिल गरेका छन ।

एक विज्ञप्ती जारी गर्दै अध्यक्ष भण्डारीले सम्भावित घटनाहरुबाट सचेत रहन स्थानीयस्तरमा रहेका संचार माध्यम, सामाजिक संजाल मार्फत व्यापक रुपमा सचेतीकरण अभियानमा लाग्नुपर्ने बताएका छन ।

“यस विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु र सरोकारवालाहरुले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा ध्यान दिदै जोखिममा परेका समुदायहरुलाई सुरक्षित स्थानमा लगेर राखी गास, वास तथा स्वस्थ्य सुरक्षाको प्रवन्ध मिलाउन र थप जोखिमवाट बचाउनका लागी हार्दिक अनुरोध गर्दछौ,” विज्ञप्तिमा भनिएको छ, “साथै महिला बालबालिका, गर्भवती महिला, दलित, असक्त र विपन्न वर्गहरुलाई बिशेष प्राथमिकताका साथ राहत, उद्धार र पुर्नस्थापनाका लागी हार्दिक अपिल गर्दछौं ।”

जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।

जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ८५ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका छन ।

घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार जारी छ।

महासंघले देशभर रहेका २२ हजार भन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहहरुले यस विपदको घडीमा राहत, उद्धार र पुर्नस्थापनामा जुट्न आग्रह गरेको छ ।

भूकम्पबाट ठुलो जनधनको क्षति भएको खबरले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्तब्ध भएको महासंघले उल्लेख गरेको छ ं। भूकम्पमा ज्यान गुमाउनु हुने जाजरकोट र रुकुम पश्चिम लगायतका सामुदायिक वन उपभोक्ता तथा सर्वसाधरण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भूकम्पबाट घाइतेहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रकाशित मिति : 5 नोभेम्बर 2023, आइतवार
प्रतिक्रिया दिनुहोस