ताप्लेजुङ।सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा हिमाली क्षेत्रमा जडिबुटीहरुको व्यवस्थापन, व्यापारका सम्भावना र चुनौतीसम्बन्धी अन्तर्कृया कार्यक्रम ताप्लेजुङको फुङलिङमा सम्पन्न भयो ।
फेकोफनका संघीय अध्यक्ष ठाकुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता सुरज ओझाले गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख अतिथी भण्डारीले सामुदायिक वनलाई सरकारले सहयोग गर्ने र कानुनी अल्झन नहुने हो भने उपभोक्ता समूहहरुमा जडिबुटीको अपार सम्भावना रहेको बताउनुभयो । हिमाली क्षेत्रमा पाइने जडिबुटीको सही व्यवस्थापन र देशभित्रै प्रशोधन हुनसकेमा आर्थिक सम्वृद्दिमा टेवा पुग्ने उहाँको भनाइ छ ।
जडिबुटी संकलनबाट मात्रै पनि समुदायको जिविकोपार्जनमा सहयोग पुगेको बताउँदै अध्यक्ष भण्डारीले कार्ययोजनाको समयअवधि सकिँदा पनि नविकरण नहुनु, हाइड्रोपावरले खण्डीकरण हुनु, जडिबुटी भएको क्षेत्रको सिमा नीजिस्तरबाट मिचिनु लगायतका कारणले आश्रित समुदायको आम्दानी घट्दै गएको बताउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता समूहहरुले पान नम्वर लिन समस्या भोग्नुपरेको भन्दै सरकारको कानुनले पारेका बाधाहरुबारे पनि विस्तृत प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा फेकोफनकी महासचिव पार्वता गौतमले नेपाल जैविक विविधताको धनी देशका रूपमा विशिष्ट पहिचान बोकेकाले यहाँका हिमाली क्षेत्र तथा पहाडी भागमा पाइने जडीबुटी तथा सुगन्धित बोटबिरुवाहरु महत्त्वपूर्ण भएको्ल बताउँदै सामुदायिक वनका उपभोक्ताहरुले संरक्षण र व्यवस्थापन गरेको क्षेत्रका जडिबुटी संकलन र प्रशोधनका लागि सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, कञ्चनजंगा संरक्षण क्षेत्रका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र डिभिजन वन कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
अतिथि वक्ताहरु तथा सहभागी फेकोफनका अगुवा एवं उपभोक्ता प्रतिनिधिहरुले जडिबुटी संकलन गर्दा पनि ध्यान नपुग्ने गरेको विषय उठाउँदै भण्डारनमा समस्या भएको, युरियाको बोरामा जडिबुटी राख्ने गरिएको, ग्रेडिङ र सरसफाइमा ध्यान नपुगेको, प्याकेजिङ, लेबलिङ, र ब्राण्डिङ राम्रोसँग हुन नसकेको भन्दै जडिबुटीको समर्थन मुल्य तोक्नुपर्ने बताउनुभएको थियो ।
बढी गुणस्तर भएको र कम गुणस्तर भएको जडिबुटीको छोडपूर्जी तिर्दा बराबर तिर्नुपरेको, बिउ उत्पादनमा ध्यान नपुगेको, उत्पादन कहाँ भएको भन्ने प्रमाणिकरण नहुने गरेको जस्ता समस्या औल्याउँदै उहाँहरुले भ्यू टावर बनाउनुभन्दा जडिबुटी संकलन केन्द्र बनाउन पनि माग गर्नुभयो । नेपालमा सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका २ हजारभन्दा बढी बहुमल्य जडीबुटीहरु पाइन्छ ।



