काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा मौसम तथा जलवायुजन्य विपद न्यूनिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।
तीन दिनसम्म चलेको तालिमको मुख्य उद्देश्य जिल्लास्तरमा मौसम तथा जलवायुसम्वन्धी विपद् कम गर्न दक्ष प्रशिक्षक तयार गरी जिल्ला जिल्लामा सामुदायिक वनका उपभोक्ताहरुलाई यससम्बन्धी विपदबारे पूर्व सूचना लिने दिने कार्यमा सबल बनाउने र सावधानी अपनाउँदै क्षति रोक्नु हो ।
तालिममा कोशी प्रदेशका झापा, मोरङ, इलाम तथा मधेश प्रदेशका धनुषा, रौतहट, सर्लाही, सिराहा, महोत्तरी,बागमती प्रदेशका भक्तपुर, काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुपाल्चोकका प्रतिनिधि तालिममा सहभागी हुनुहुन्थ्यो । यसैगरी गण्डकी प्रदेशबाट नवलपुर, तनहुँ, म्याग्दी, पर्वत जिल्लाबाट, लुम्बिनी प्रदेशका बाँके, गुल्मी, बर्दिया, कर्णाली प्रदेश: सल्यान, दैलेख, सुर्खेत र सुदूरपश्चिम प्रदेश: कैलाली, कञ्चनपुर, डोटी जिल्लाका प्रतिनिधि गरी कुल २५ जनाको तालिममा सहभागिता थियो ।
सहभागीहरूलाई मास्टर ट्रेनरको रूपमा तालिम प्रदान गरी उनीहरुलाई जिल्लास्तरीय तालिम र अभिमुखीकरण सत्रहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले सञ्चालित प्रशिक्षक प्रशिक्षण तालिम चलाइएको हो । बीबीसी मिडिया एक्सनले तालिमको सहजीकरण गरेको थियो । तालिम लिएका प्रत्येक प्रशिक्षकले जिल्लास्तरीय ४ वटा अभिमुखीकरण सत्र सञ्चालन गर्नेछन् ।
ती प्रत्येक सत्रमा करिब २५ जना सहभागी समावेश गरिने छ । प्रत्येक प्रशिक्षकले जिल्लामा अभिमुखीकरण कार्यक्रम गर्ने र अभिभुखीकरणमा सहभागी हुनेले समूह समूहमा जानकारी पुर्याउने छन् ।
तालिम उद्घाटन समारोहमा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले मौसम तथा जलवायुजन्य विपद न्यूनिकरण गर्न महासंघले निरन्तर कामहरु गर्दै आएको बताउँदै यस तालिमबाट तयार भएका सहजकर्ताहरूले मौसम तथा जलवायुजन्य विपदबारेका सन्देश र ज्ञान समुदायसम्म पुर्याउने, मौसम र जलवायु सम्बन्धी जानकारीमा समुदायको सचेतना र बुझाइ सुधार गर्न योगदान दिने बताउनुभयो ।
प्रशिक्षकका रुपमा महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले मौसम, जलवायु र विपद्को बुझाइ, स्रोत पहिचानलगायतका विषयवस्तुमा प्रकाश पार्नुभएको थियो ।
महासंघका महासचिव पार्वता गौतमले मौसम र जलवायुजन्य विपदबाट महिलाहरु बढी प्रभावित हुने गरेको बताउँदै समग्र विपदको जोखिम कम गर्न तालिम उपयोगी हुने बताउनुभयो ।
तीन दिनको तालिम अवधिमा प्रशिक्षकका रुपमा फेकोफनका सचिव डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपानेले समुदायलाई विपद जोखिमबाट जोगाउँन र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन तालिम महत्वपूर्ण हुने बताउँदै विषयवस्तुको जानकारी गराउनुभएको थियो ।
तालिममा बीबीसी मिडिया एक्सनका किरण भण्डारी, एनडीआरआरएमएका राजेन्द्र शर्मा, मौसमविद विभूति पोखरेल, अन्जु भट्ट, कार्यक्रम अधिकृत आरती बोहरा, श्रुति झा, सम्भव नेपाल, भुवन तिमिल्सेना लगायतले तालिम र विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
प्रकाशित मिति : 9 अप्रिल 2026, बिहिवार






