भारती पाठक
विश्व मानव जगतलाई अत्याउने गरी २०७६ बाट शुरु भएको कोरोना महामारीको विभिन्न पटकको भेरियन्ट हुँंदै अहिले दोस्रो लहर चलिरहँदा नेपालमा पनि धेरै व्यक्ति संक्रमित भैरहेका छन् भने दैनिक २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना प्रत्येक व्यक्ति, घर परिवार र समुदायसम्म पुगेको छ । के धनी, के गरीब, को ठूलो को सानो, अहिलेको महामारीबाट कोही अछुतो छैन् ।
कोभिड महामारीको यो विकराल अवस्थाबाट गरीब, विपन्न, महिला, आदिवासी जनजाती, दलित र बिहान बेलुका श्रम गरेर छाक टार्ने श्रमिकहरु अझबढी प्रभावित छन् । एकातिर महामारीबाट जीवन र स्वास्थ्य सुरक्षा गर्नुपर्ने अवस्था सबैभन्दा जटिल बनेर आएको छ भने अर्कोतिर सिंगो मानव समुदाय त्रसित भएको र लामो समयदेखि समुदायमा निरन्तर गरिने कार्य चलायमान नहुंदा प्राकृतिक श्रोत संरक्षण र व्यवस्थापनमा काम गर्ने किसान तथा स्थानीय उपभोक्ताहरुमा परेको प्रभाव कम गर्न अन्य वैकल्पिक कामहरु पनि अघि बढाउनुपर्ने स्थिति छ ।
महामारीका कारण स्वास्थ्य समस्या हुनेहरु तनावमा छन भने दैनिक कार्य संचालनमा समस्या भइ आर्थिक रुपमा परनिर्भरता दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो अवस्थामा सरकारले आव्हान गरेको निषेधाज्ञालाई कार्यान्वयन गर्दै एक जिम्मेवार नागरिक संगठनको हिसावले देशभरी छरिएर रहेका सामुदायिक वन उपभोक्ता समुह तथा तिनको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघले कोभिड रोकथाम, नियन्त्रण र अप्ठ्यारोमा परेका नागरिकलाई सक्दो सहयोग गरिरहेको छ ।
आजको अवस्थामा कोरोनाविरुद्ध जसरी राज्य लडिरहेको छ, त्यसैगरी आआफ्नो ठाउँबाट सघाउनु हामी सबैको दायित्व बनेको छ । त्यसैले पनि देशभरि रहेका सामुदायिक वन समुह र महासंघको तहगत संरचनाहरुले विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरी सहयोगी मनहरु मार्फत हातेमालो गर्ने काममा अग्रपंक्तिमा लागि परेका छन् ।
समुह र महासंघले स्वास्थ्य सामाग्री वितरण, सचेतना अभिवृद्धि, आइसोलेसन सेन्टरको लागि सामुदायिक वन र जिल्ला महासंघको भवन प्रयोग, हिंसा विरुद्धको अभियान तथा सचेतिकरण, यूवाहरुको समुह निर्माण गरी परिचालन, अक्सिजन प्लान्ट निर्माणमा समन्वय र सहकार्य तथा नेतृत्वदायी भूमिका, अस्पतालहरुलाई सामाग्री हस्तान्तरण, कोरोना परास्त गर्न सामुदायिक कोष निर्माण, मनोपरामर्श संचालन गर्दै आएका छन् । देशभरका १४ सयभन्दा बढी सामुदायिक वनका भवन कतै आइसोलेन र क्वारेन्टिनका लागि प्रयोग भैरहेका छन् भने कतै तयारी अवस्थामा राखिएको छ ।
यस्तै, बिहान बेलुका ज्यालादारी गरेर खाने समुदायलाइ खाद्यान्न सहयोग, वन क्षेत्रको चोरी तस्करी रोक्न उपभोक्ता सकृय, कोरोनाबाट जीवन गुमाएका व्यक्तिको शव व्यवस्थापनलाई स्थान र दाउरा उपलब्ध गराउने काम महासंघ र समुहहरुमार्फत भैरहेको छ । यस्तै स्थानीय सामुदायिक रेडियोहरु, माइकिङ गरी गाउँ सचेतना अभियान संचालन, समस्या परेका विरामी उपभोक्तालाइ सामुदायिक वनका स्थानीय नेतृत्वले डाक्टरसँग परामर्श गरी समन्वय र सहयोग, आयूर्वेदिक डाक्टरले प्रमाणित गरेको वन तथा सामुदायिक वनमा पाइने विभिन्न औषधीजन्य जडिबुटी संकलन गरि समुदायलाई वितरण गर्ने काम भैरहेको छ ।
यसैगरी सामुदायिक वनले पहिचान गरेका गरीव तथा विपन्नलाइ घरै बसी आम्दानी गर्न सकिने खालका आयआर्जनको क्रियाकलापमा सहयोग लगायतका धेरै गतिविधिमा पनि सामुदायिक वनको योगदान बढ्दै गएको छ । महामारी नियन्त्रण र जनजीवनमा आइपर्ने अप्ठ्यारा कम गर्न जे जति काम फेकोफन र यस मातहतमा भैरहेका छन्, त्यसले समुदायका लागि सामुदायिक वन कति महत्वपूर्ण छ भन्ने पनि पुष्टि गरेको छ ।
त्यसो त सामुदायिक संगठन मध्ये मुलुकमै सबैभन्दा सक्रिय फेकोफनले देश अप्ठ्यारोमा परेको बेला सधै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । भुकम्पका बेला होस् वा बाढीपहिरो र अन्य प्राकृति विनासमा पनि महासंघले सक्रियतापूर्वक अब्बल भूमिकासहित सहयोग गर्दै आएको विदितै छ । अहिले पनि यो महामारीमा महासंघले स्थानीयस्तरदेखि नै सहयोग र सहकार्य गरिरहेको छ ।
यसरी आपतकालिन अवस्थामा सहयोग पुर्याउने महत्वपूर्ण समुहको छाता संगठन सामुदायिक वन उपभोक्ता समुहले देशभरका समुहलाइ समन्वय गरी कोभिड महामारीलाइ परास्त गर्न राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्था र सरकारसँग मिलेर अब पनि अघि बढ्न चाहन्छ । स्थानीय समुदायका गरीब विपन्न र महिलालाइ थप सहयोग गर्न पनि हामीले सरकारलाई आग्रह गर्दछांै ।
यो महामारीको समयमा तीनै तहको सरकारले ल्याउने निति कार्यक्रम र वजेटमा पनि समुदायमैत्री होस्, सामुदायिक वनले भोग्दै आएको तेहोरो कर, आयकर र प्यान जस्तो जटिल समस्या समाधान गरी समुदालाइ हौसला गर्न सरकारले थप भूमिका खेल्न सक्यो भने यसको सकारात्मक प्रभाव अझ बढी पर्नेछ । सामुदायिक वनलाइ राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा घोषणा गरी समुदालाइ आर्थिक उपार्जनमा लगाउन उर्जा थप्ने गरी तीनै तहको सरकारले नीति तथा कार्यक्रम र वजेट तयार गर्नु अहिलेको आवश्यकता हो ।
कोभिड महामारीविरुद्ध जुध्न सरकारले ल्याउने निति कार्यक्रम र वजेटले वन र कृषि क्षेत्रबाट गरीव विपन्न र महिलाहरु तथा स्थानीय समुदायको भूमिका र उत्पादन बढाउँदै समुदायले फाइदा पाउने खालको हुनुपर्छ । महामारीको यस्तो बेलामा सरकारले परिचालन गर्ने र प्रोत्साहन गर्ने भनेकै समुदायलाई हो ।
(लेखक सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष हुनुहुन्छ)