पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले मुलुकको आर्थिक विकास र उपभोक्ताको सम्वृद्धिका लागि पर्यापर्यटनको योगदान अतुलनीय हुने भन्दै सामुदायिक वनहरुमा पर्यापर्यटन विकासमा स्थानीय श्रोत साधन र स्थानीय ज्ञान सीपको प्रयोग बढाउनका लागि जोडदिएको छ ।
सामुदायिक वनका सवालगत छलफलहरुलाई स्थानीय स्तरसम्म पुर्याइरहेको फेकोफनले सामुदायिक वनमा पर्यापर्यटन विकास र विस्तारले समुदायका उपभोक्ता र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने भन्दै पर्यापर्यटनका योजनालाई तिव्रता दिन र त्यसरी काम गर्दा स्थानीय काठ, माटो, ढुंगा र अरु श्रोत पनि स्थानीय नै प्रयोग गर्नुपर्ने आग्रह गरिरहेको छ ।
सामुदायिक वनमा पर्यटन विकासका पूर्वाधार निर्माण गर्दा स्थानीय श्रोत साधन र ज्ञान सीप प्रयोग गर्दा त्यसको लाभ समुदायमै रहने पनि महासंघले आग्रह गर्दै आएको छ ।
सामुदायिक वनमा छड सिमेन्ट प्रयोग नगरी स्थानीय उत्पादनका रुपमा काठ, ढुंगामाटो लगायतका श्रोत साधन प्रयोग गर्दा मोटो रकम विदेशीनबाट जोगिने र वातावरणीय हिसावले पनि राम्रो हुने सामुदायिक वन उपभोक्ता महासंघको भनाइ छ ।
फेकोफनद्धारा पाल्पामा आयोजना भएको सामुदायिक वनका सवालगत र सांगठनिक कार्ययोजना छलफलमा महासंघका अध्यक्ष ठाकुर भण्डारीले फेकोफनले सामुदायिक वनमा पर्यापर्यटन विकासमा जोड दिएको बताउँदै पूर्वाधार निर्माणमा स्थानीय श्रोत साधन र ज्ञान सीपको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सामुदायिक वनमा भएको काठ, माटो ढुंगाको प्रयोगले आम्दानी गाउँमै जाने र छड सिमेन्ट जस्ता आयातित सामान किन्न मोटो रकम विदेशीनबाट पनि जोगिने बताउनुभयो । स्थानीय श्रोत र सिप प्रयोग गरेर पर्यापर्यटनका काम गर्दा पर्यटक आकर्षण पनि बढ्ने र वातावरणमैत्री विकास पनि हुने उहाँको भनाइ छ ।
सामुदायिक वनमा पर्यापर्यटन विकासका लागि काम भैरहे पनि प्रदेश सरकार र स्थानीय तहले सहयोग र समन्वय गर्नुको साटो कानुनी अल्झन र असहयोगले उपभोक्तामा निरासा छाएको बताउनुभयो ।
फेकोफन लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वनमा पर्यापर्यटन विकासलाई उपभोक्ताहरुले निकै प्राथकिता दिएको बताउँदै सरकारको नीति भने उपभोक्ता मैत्री नभएको गुनासो गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव डिल्ली गिरीले कार्ययोजनामै आर्थिक लाभ र वातावरणीय पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यापर्यटन, उद्यम विकास र युवा सहभागितालाई अघि बढाएर सामुदायिक वनको कार्ययोजना नविकरण गर्दै जानुपर्ने सुझाव उहाँको थियो ।
दुईदिनसम्म चलेको कार्यक्रममा फेकोफन पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नवलपरासी अध्यक्ष शारदा पोखरेल, गुल्मी अध्यक्ष विष्णु पौडेल, स्थानीय महासंघका तर्फबाट रुपन्देहीको तिलोत्तमा महासंघका अध्यक्ष लिलबहादुर क्षेत्री, पाल्पाको रामपुर नगर महासंघ अध्यक्ष विन्दु श्रेष्ठ लगायतले आआफ्नो धारणा राख्दै सामुदायिक वनहरुले पर्यापर्यटन विकास र उद्यमका काम गर्न खोज्दा भोग्नुपरेका समस्याहरुबारे पनि बोल्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ , नेपालको संस्थागत र कानूनी क्षमता अभिवृद्धि सम्बन्धी छलफल कार्यक्रममा ६ जिल्लाका अध्यक्षहरु, स्थानीय महासंघ अध्यक्षहरु लगायतका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।






