काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघको ३१ औ स्थापना दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । केन्द्रदेखि प्रदेश तथा जिल्ला र पालिकास्तरमा फेकोफन स्थापना दिवसका अवसरमा कार्यक्रमहरु गरिएका छन् ।
“वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नाराका साथ ३१ औं महासंघ स्थापना दिवसको अवसरमा संघीय महासंघले काठमाडौंमा भव्य कार्यक्रमसहित शुभकामना आदान प्रदान गरेको छ ।
त्यस अवसरमा सामुदायिक र समुदायका क्षेत्रमा काम गर्ने करिब ५० वटा नागरिक संगठनका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल फेकोफनको स्थापना २०५२ साल जेठ १८ गते भएको हो । त्यसैले प्रत्येक वर्ष जेठ १८ गते फेकोफन स्थापना दिवस मनाउने गरिन्छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनका उपभोक्ताले प्राकृतिक श्रोत संरक्षण र सामुदायिक अधिकार स्थापनामा गरेको योगदान अतुलनीय रहेको बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सामुदायिक वन एक सिकाई केन्द्रको रूपमा स्थापित भएको बताउँदै उहाँले सामुदायिक वनको मर्म र भावना अनुसार वन व्यवस्थापन कार्यक्रम सफल भैरहेको बताउनुभयो ।
समुदायले वन संरक्षण गरेकै कारण नेपालको वन क्षेत्र बढेको र प्राकृतिक श्रोतबाट अधिकतम् लाभ लिन सक्ने अवस्था सिर्जना भएको भन्दै उहाँले अब वनबाट सम्वृद्दिको लक्ष्यमा पुग्नुपर्नेमा जोडदिनुभयो ।
अहिले सरकारले ल्याएको बजेटको स्वागत गर्दै अध्यक्ष भण्डारीले बजेट सकारात्मक भए पनि आफूहरुले कार्यान्वयन हेर्ने बताउनुभयो । उहाँले सरकारका तर्फबाट उपभोक्तालाई अधिकारबाट बन्चित गर्ने प्रयास भए सडकमा जान पछि नपर्ने भन्दै खवरदारी पनि गर्नुभयो । अधिकारमाथि अंकुश लगाउने काम भयो भने आन्दोलनमा जाने बाटो खुला भएको उहाँको भनाइ छ ।
फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले नेपालको सामुदायकि वनले विश्वलाई सामुदायिक वनको देश भनेर चिनाएको बताउँदै २९ प्रतिशतबाट बढेर वन क्षेत्र ४६ प्रतशित पुगेको उल्लेख गर्नुभयो । त्यो १४ प्रतशित उपभोक्ताले नै जोगाएर र संरक्षण गरेर बढेको वन क्षेत्र भएको उहाँको भनाइ छ । तर उपभोक्तालाई झन समस्या बढेका र आफैले जोगाएको र व्यवस्थापन गरेको वनबाट प्राप्त हुने काठ उपभोग गर्न उपभोक्ताले नै नपाएका शाहीको दाबी छ । सरकारले उपभोक्ता समूहप्रति विश्वासघात गरेको भन्दै उहाँले भन्नुभयो – वन जोगाउनुस् हुर्काउनुस् र आम्दानी गर्नुस् भनेर दिइयो । तर अहिले उपभोगको अधिकार कुण्ठित गर्न खोजिएको छ ।
फेकोफनकी महासचिव पार्वता गौतमले प्राकृतकि श्रोत व्यवस्थापन, लैंगिक समानता, सामाजिक समावेशीकरणसहित सुशासन र आर्थिक सम्वृद्दि नै महासंघको लक्ष्य भएको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्यका १७ मध्ये १६ वटा लक्ष्यमा सहयोग पुग्ने गरी सामुदायिक वनले काम गरिरहेको जानकारी पनि दिनुभयो ।
फेकोफनका संस्थापक अध्यक्ष हरि न्यौपानेले सरकारले वन उपभोक्तालाई उद्यमशील बनाउँदै थप स्वायत्तता दिनुपर्नेमा जोडदिनुभयो ।
पूर्वअध्यक्ष भिमप्रसाद श्रेष्ठले सामुदायिक वन र समूले गरेका कामको सही मूल्यांकन नभएको बताउनुभयो ।
सल्लाहकार तथा निवर्तमान अध्यक्ष भारती पाठकले उपभोक्ताको हक अधिकारलाई थप बलियो बनाउँदै महासंघ अघि बढ्नुपर्ने बताउनुभयो ।
समारोहमा नागरिक तथा सामुदायिक संगठनका अगुवाहरुले प्राकृतिक श्रोतमा समुदायको अधिकार बलियो नभएसम्म वनको दिगो व्यवस्थापन र वातावरणीय न्याय हुन नसक्ने बताउनुभएको थियो । गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नागरिक संगठनलाई बलियो बनाउन सके लोकतन्त्र र प्राकृतकि श्रोतमाथ जनताको पहुँच बलियो हुने बताउनुभयो ।
यसैगरी डिमानका अध्यक्ष सूर्यबहादुर थापा, विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवाली लगायतले नागरिक अधिकार बलियो बनाउन उपभोक्ताको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सचिव डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपानेले सहभागीहरुलाई रुद्राक्षको माला लगाएर स्वागत गर्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन हो ।
हाल देशभर २३,०८९ सामुदायिक वन हस्तान्तरण भएका छन् जसमा ३५,२०,०९६ घरधुरीले २५,१७,७६५.५५ हेक्टर वनको व्यवस्थापन गर्दै आएका छन् ।







