शान्ति र सद्भावका लागि फेकोफनको अपिल

काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुनसरी जिल्लाको देवानगंज गाउँपालिकामा केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थितिले झडपको रुप लिएको र गोली चल्दा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिराहमा गणेश यादवसमेत तीन जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

पछिल्ला घटनामा अन्य धेरै नागरिकहरु गम्भीर घाईते भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै फेकोफनले मृतकहरु प्रति श्रद्दान्जली तथा घाईतेहरुको स्वस्थ्यलाभको कामना गरेको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारहरुलाई उचित राहत तथा घाईतेहरुको उपचार खर्च र राहत उपलब्ध गराउन माग पनि गरिएको छ।

समाजमा द्धन्द्ध निम्ताउने र समाजलाई विखन्डन गर्ने प्रवृति समाधान हुनुको सट्टा झन उग्र हुँदै जानु दुःखद परिस्थिति भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकलाई एक आपसमा विभाजित गर्दै हिंसा भड्काउने षडयन्त्रहरु प्रति सवै सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

अध्यक्ष भण्डारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘विषम परिस्थितिमा देशका सवै राजनीतिक दलहरु, विभिन्न धार्मिक संस्थाहरु, नागरिक संघसस्थाहरु सवैले आपसी प्रतिष्प्रर्धा, आरोप प्रत्यारोपभन्दा माथि उठेर मूलुक र समाजमा शान्ति, सुरक्षा, स्थायित्व, सामाजिक सत्भाव र एकता कायम राख्न सहकार्य गर्नु आवश्यक रहेको छ’ भनिएको छ।

यसैगरी समाजमा शान्ति सुरक्षा कायम गर्नु नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको अहंम् दायित्व र भूमिका हो भन्दै फेकोफनले ‘शान्ति सुरक्षाको नाममा अत्याधिक बल प्रयोग गर्नु कदापि उचित होईन सुरक्षा निकायहरुले संयमता अपनाउन जरुरी छ भने स्थानीय स्तरमा सवैले हिंसात्मक आन्दोलन तथा गतिविधि तत्काल रोक्न र अविलम्व सम्वाद, वार्ता र छलफलको माध्ययमवाट समस्याको समाधान खोज्न आग्रह गर्दछौ ।’ भनेको छ।

महासंघले आम जनसमूदायमा सामाजिक संजाल मार्फत धार्मिक वा सामाजिक द्वैश फैलाउने, शान्ति सुरक्षामा असर पार्ने किसिमका समाचार, अफवाह, फोटो तथा भिडियो पोष्ट, शेयर वा टिकाटिप्पणी नगर्न समेत अनुरोध गरेको छ ।

द्वन्द्व र हिंसाको समाधान भनेको आपसी सम्वाद, सहमति र सहकार्य भएको उल्लेख अध्यक्ष भण्डारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाइएको छ।

शान्ति, सुरक्षा र सामाजिक सद्भाव माथि संकट आउन लागेको अवस्थामा सम्पुर्ण राजनीतिक दल, नागरिक, बृद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक संघसस्थाका नेता अगुवाहरुलाई शान्ति स्थापनाका लागि एकतावद्ध हुन पनि सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सबैलाई हार्दिक आव्हान गरेको छ।

प्रकाशित मिति : 1 अगस्ट 2026, शनिबार
प्रतिक्रिया दिनुहोस