सप्ताहव्यापी कार्यक्रम गरेर सामुदायिक वन दिवस मनाउन सुरू

काठमाडौँ ।  सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालले सप्ताहव्यापी कार्यक्रम गरेर सामुदायिक वन दिवस मनाउन सुरू गरेको  छ । “अबको सामुदायिक वन, युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने नारासहित यस वर्ष महासंङ्घले सप्ताहव्यापी रूपमा सामुदायिक वन दिवस मनाउन सुरु गरेको छ।

फेकोफनले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी साउन १९ देखि २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी दिवस भव्य रूपमा मनाउन लागिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन दिवसको अवसरमा एक सातासम्म विभिन्न गतिविधि हुने र यही साउन २५ गते विशेष कार्यक्रम गरिने बताउनुभयो ।

उहाँले फेकोफनका प्रदेश र जिल्ला तथा स्थानीय महासङ्घहरूले पनि सामुदायिक वनका असल अभ्यास र चुनौतीका बारेमा सरोकारवालाबीच संवाद गर्दै दिवस मनाउने बताउनुभयो ।

हाल देशभर २३ हजार ५ सय ९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६२ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेको उल्लेख गर्दै उहाँले ३५ लाख २० हजार ९६ घरधुरी सामुदायिक वनमा आबद्ध भएको र वनको संरक्षणमा योगदान गरिरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष भण्डारीले सामुदायिक वन व्यवस्थापनले स्थानीय समुदायको सहभागिता सुदृढ बनाउँदै अन्तर्राष्ट्रियस्तरमा समेत सिकाइ केन्द्रका रूपमा पहिचान बनाएको बताउनुभयो ।

सामुदायिक वन दिवसले सामुदायिक वनका असल अभ्यास, सिकाइ र योगदानहरूलाइ राष्ट्रिय र अन्तराष्ट्रिय तहमा समेत आदान प्रदान गर्न र आगामी गन्तव्य तय गर्नमा मद्दत मिल्ने अपेक्षा गरिएको पनि अध्यक्ष भण्डारीले बताउनुभयो ।

सामुदायिक वन दिवसका अवसरमा फेकोफनले जारी गरेको विज्ञप्तिमा वन विकास र क्षयीकरण नियन्त्रण भई देशको कुल भूभागको ४६ प्रतिशत भन्दाबढी वनको क्षेत्रफल विस्तार भएको, सामाजिक समावेशीतामा अव्बल तथा महिला नेतृत्व तहमा ५० प्रतिशतभन्दा बढी वृद्धि भई सशक्तिकरणमा टेवा पुगेको, काठ लगायत जडीबुटी र गैरकाष्ठ वन पैदावारको आपूर्तिमा वृद्धि तथा निरन्तर योगदान पुगेको विषय उल्लेख गर्दै यसलाई मुख्य उपलब्धि मानिएको छ ।

यसैगरी वन तथा वातावरणको संरक्षणका साथै वनको दिगो व्यवस्थापन र जैविक विविधताको संरक्षणमा योगदान पुगेको, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै प्रकोप जोखिम न्यूनीकरणमा उल्लेखनीय योगदान पुगेको, वन पैदावारमा आधारित उद्यम विकास, सामुदायिक पर्यापर्यटन र कृषि वनका माध्यमबाट खाद्य सुरक्षामा वृद्धि भएको, रोजगारी सिर्जना, आय आर्जन र जीविकोपार्जनमा योगदान तथा प्रथाजनित ज्ञानको प्रवद्र्धन भएको लगायतका विषयलाई पनि मुख्य उपलब्धि मानिएको छ ।

फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले सामुदायिक वनले निकै धेरै योगदान गर्दै आएको र थुप्रै उपलव्धि हासिल गरेको बताउँदै दिगो विकासका सबै लक्ष्यमा योगदान दिनु महत्वपूर्ण भएको बताउनुभयो । काठ, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको आपूर्ति वृद्धि, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा विपद् जोखिम न्यूनीकरणमा समेत सामुदायिक वनको महत्वपूर्ण योगदान रहेको पनि उपाध्यक्ष शाहीले बताउनुभयो ।

यसैगरी महासचिव पार्वता गौतमले सामाजिक समावेशीतामा उल्लेखनीय प्रगति भई महिला नेतृत्वमा ५० प्रतिशतभन्दा बढी वृद्धि भएको र वनमा आधारित उद्यम, सामुदायिक पर्यापर्यटन तथा कृषि वन प्रणालीमार्फत रोजगारी सिर्जना, आयआर्जन र खाद्य सुरक्षामा टेवा पुगेको जानकारी दिनुभयो ।

उहाँले सामुदायिक वनको कोष परिचालनमार्फत २५ प्रतिशत रकम वन संरक्षणमा, ५० प्रतिशत महिला, आदिवासी जनजाति, दलित तथा विपन्न वर्गको क्षमता विकासमा र बाँकी रकम सामुदायिक विकासका क्षेत्रमा खर्च हुँदै आएको पनि बताउनुभयो ।

फेकोफनका सचिव डिल्ली गिरीले निकै धेरै उपलब्धि हासिल गरे पनि वन पैदावार सङ्कलनमा झन्झटिला अनुमति प्रक्रिया, दोहोरो करको व्यवस्था हट्न नसक्नु दुखद भएको बताउनुभयो ।

उहाँले नीति तथा कानून निर्माणमा समुदायको सहभागिता अभाव, प्राविधिक सहयोगको कमी, तथा विभिन्न पूर्वाधार आयोजनाद्वारा क्षतिपूर्ति बिना वन क्षेत्र अतिक्रमणजस्ता समस्या भोग्नुपरेको धारणा राख्नुभयो ।

महासङ्घले सामुदायिक वनका उपलब्धिबाट सिक्दै आगामी दिनको मार्गचित्र तय गर्न सकेमा देशलाई आत्मनिर्भर र समृद्ध बनाउन सकिने बताउँदै सामुदायिक वन अभियानमा सहकार्य र समन्वय गर्ने सबैलाइ धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : 4 अगस्ट 2026, मङ्गलबार
प्रतिक्रिया दिनुहोस