वन दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन इन्द्रायणी भूतखोला उपभोक्ता समूहको स्थलगत अवलोकन र अन्तर्कृया 

काठमाडौं/ सामुदायिक वन दिवस २०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन साउन २० गते संयुक्त रूपमा वन विभाग र फेकोफन नेतृत्वले समूहहरुमा भएका काम कारवाहीको स्थलगत अवलाेकन र अन्तर्कृया गरेको छ ।
नेपाल सरकार वन विभागका उपमहानिर्देशक राजिव झा तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीसहितका पदाधिकारीको टोलीले टोखा नगरपालिकामा रहेको इन्द्रायणी भूतखोला सामुदायिक वन उपभोक्ता समूहको स्थलगत अवलोकन  गरी त्यहां अन्तर्कृया गरेको हो । त्यसअवसरमा उपभोक्ता समूहले सञ्चालनमा ल्याएको जैविक मल उत्पादन, पानीको मुहान पोखरी संरक्षण, जैविक विविधता संरक्षण, पर्यापर्यटन क्षेत्रको अवलोकन गरिएको थियो ।
त्यसैगरी वनमा आधारित उद्यम तथा कृषि वनमा अम्रिसाे र अमला लगायतका खेतीहरू र धार्मिक स्थल लगायतको पनि अवलोकन गर्दै फेकोफनले समूहका कार्यहरुको प्रसंशा गरेको छ ।
त्यस अवसरमा भएकाे वन उद्यम सम्वन्धी छलफलमा वन विभागका उपमहानिर्देशक राजिव झाले सामुदायिक वनहरूले समूहकाे हितसँगै विकास र वन व्यवस्थापनमा याेगदान गरेकाे भन्दै सरकारले सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे ।
 कार्यक्रममा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन उपभोक्ता समूहहरुले आर्थिक संम्वृद्दि र समुदायको हितका पक्षमा गरेका कामलाई सकारात्मक रुपमा लिन सरकारलाई आग्रह गर्नुभयो । परम्परागत ज्ञान र सिप अनुसार समुदायले गरेको कामले पछिल्लो समय पानीको श्रोत वृद्दिमा सघाएको र जैविक मल उत्पादनले माटोको गुणस्तरदेखि अर्गानिक उत्पादनसम्मलाई प्रोत्साहन गरेको भन्दै अध्यक्ष भण्डारीले सामुदायिक वनले गरेका विकास र उद्यम नमुना बन्दै गएको उल्लेख गर्नुभयो ।
फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले समूहहरुले जैविक विविधता संरक्षणमा गरेको योगदानलाई आर्थिक उपलव्धि र मूल्यसँग जोडेर मात्रै हेर्न नहुने भन्दै उपभोक्ताहरुले गरेको अमूल्य योगदानको राज्यले कदर गर्न नसकेको बताउनुभयो ।
यसैगरी फेकोफन महासचिव पार्वता गौतमले इन्द्रायणी भूतखोला सामुदायिक वन उपभोक्ता समूहका कामहरुबाट अरुले पनि सिकेर अघि बढ्न सके थप उपलव्धि हुने बताउनुभयो ।
त्यस अवसरमा फेकोफन सचिव डिल्ली गिरी र इन्द्रायणी भूतखोला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताहरुको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : 5 अगस्ट 2026, बुधबार
प्रतिक्रिया दिनुहोस