सामुदायिक वन दिवस २०८३ आज भव्य समारोहका साथ मनाइँदै

काठमाडौँ । सामुदायिक वन दिवस २०८३ आज भव्य समारोहका साथ मनाइँदैछ । सप्ताहव्यापी कार्यक्रम गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघ फेकोफन नेपालले आज सामुदायिक वन दिवस मनाउन मुख्य रूपमा मनाउँदैछ । यसवर्षको सामुदायिक वन दिवसको नारा “अबको सामुदायिक वन, युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने छ ।

महासंघको केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका महासंघ र उपभोक्ता समूहहरुले पनि देशैभर विभिन्न कार्यक्रम आयोजना गरेर सामुदायिक वन दिवस मनाइरहेको महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो । वन मन्त्रालय र फेकोफनका संयुक्त आयोजनामा आज राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हलमा विशेष समारोह आयोजना गरिएको छ । त्यस अवसरमा सामुदायिक वन पुरस्कारसहित वन क्षेत्रमा योगदान गरेका उपभोक्ता समूह तथा व्यक्तिहरुलाई पुरस्कार र सम्मान प्रदान गरिँदैछ ।
महासंङ्घले हरेक वर्ष विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाउन सुरु गरेको छ। फेकोफनले यस वर्ष पनि साउन १९ देखि २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइरहेको बताउँदै वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले नेपालको सामुदायिक वन व्यवस्थापनले स्थानीय समुदायको सहभागिता सुदृढ बनाउँदै अन्तर्राष्ट्रियस्तरमा समेत सिकाइ केन्द्रका रूपमा पहिचान बनाएको बताउनुभयाे ।

महासंघकी महासचिव पार्वता गौतमले फेकोफनका प्रदेश र जिल्ला तथा स्थानीय महासङ्घहरूले पनि सामुदायिक वनका असल अभ्यास र चुनौतीका बारेमा सरोकारवालाबीच संवाद, वृक्षरोपण, अन्तर्कृया, वक्तृत्वकला लगायतका रचनात्मक कामसहित सामुदायिक वन दिवस मनाइरहेको बताउनुभयो ।


हाल देशभर २३ हजार ५ सय ९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६२ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेका छन् । सामुदायिक वनमा ३५ लाख २० हजार ९६ घरधुरी आबद्ध छन् ।
वन विकास र क्षयीकरण नियन्त्रण भई देशको कुल भूभागको ४६ प्रतिशत भन्दाबढी वनको क्षेत्रफल विस्तार भएको, सामाजिक समावेशीतामा अव्बल तथा महिला नेतृत्व तहमा ५० प्रतिशतभन्दा बढी वृद्धि भई सशक्तिकरणमा टेवा पुगेको, काठ लगायत जडीबुटी र गैरकाष्ठ वन पैदावारको आपूर्तिमा वृद्धि तथा निरन्तर योगदान पुगेको लगायतका विषयलाई सामुदायिक वनको मुख्य उपलब्धि मानिएको छ ।
यसैगरी वन तथा वातावरणको संरक्षणका साथै वनको दिगो व्यवस्थापन र जैविक विविधताको संरक्षणमा योगदान पुगेको, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै प्रकोप जोखिम न्यूनीकरणमा उल्लेखनीय योगदान पुगेको, वन पैदावारमा आधारित उद्यम विकास, सामुदायिक पर्यापर्यटन र कृषि वनका माध्यमबाट खाद्य सुरक्षामा वृद्धि भएको, रोजगारी सिर्जना, आय आर्जन र जीविकोपार्जनमा योगदान तथा प्रथाजनित ज्ञानको प्रवद्र्धन भएको लगायतका विषयलाई पनि नेपालको सामुदायिक वन अभियानका उपलब्धि हुन् ।

प्रकाशित मिति : 10 अगस्ट 2026, सोमबार
प्रतिक्रिया दिनुहोस