काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले भोटेकोशी हुंदै त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले जोखिम रहेका नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्क रहन पनि आग्रह गरेको छ।
महासंघका अध्यक्ष ठाकुर भण्डारीद्वारा जारी विज्ञप्तिमा चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा प्रवेश गरेको ठूलो बाढी र त्रिशूली नदीमा समेत बढेको पानीको बहावका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहितका जिल्लामा भएको उच्च जोखिमप्रति सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल गम्भीर चिन्ता व्यक्त गर्दछ भनिएको छ।
महासंघले विशेषगरी रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रका बस्तीहरुमा बसोबास गर्ने समुदायलाई नदी किनारबाट टाढा सुरक्षित स्थानमा सर्न र उच्च सतर्कता अपनाउन हार्दिक आग्रह गरेको छ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सबै सरोकारवालाहरुसँग समन्वय गरी जोखिममा परेका नागरिकको उद्धार, सुरक्षा, राहतका लागि तत्काल पहल गर्न अपिल पनि गरेको छ ।
पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक र मुग्लिङ–नारायणगढ सडकमा सुरक्षा निकायको अनुमति विना यात्रा नगर्न, आधिकारिक सूचनालाई प्राथमिकता दिन र आफ्नो तथा समुदायको सुरक्षालाई पहिलो स्थानमा राख्नसमेत महासंघको सुझाव छ।
अध्यक्ष भण्डारीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला महासंघ, स्थानीय महासंघहरु, सामुदायिक वन उपभोक्ता समूहहरु र स्थानीय वर्ग तथा समुदायलाई सतर्कतासंगै उद्दार,राहत र पुनःस्थापनामा सक्दो समन्वय गर्न पनि अनुरोध गर्नुभएको छ ।


