काठमाडौं/ सामुदायिक वन उपभोक्ता महासंघले लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा देशभरका महासंघका संघीयदेखि प्रदेश र जिल्ला तहका पदाधिकारीहरुसँग छलफल गरेको छ ।
केन्द्रीय पदाधिकारी र सदस्यहरु तथा प्रदेश र जिल्ला अध्यक्षहरु गरी एक सयभन्दा धेरैको सहभागितामा फेकोफनले जुम मिटिङ गरेर लैंङ्गिक हिंसाविरुद्धको अभियान र महासंघले गरेका तथा गर्नुपर्ने कामहरुबारे छलफल गरेको हो ।
त्यस अवसरमा महासंघका अध्यक्ष ठाकुर भण्डारीले स्थापनाकालदेखि नै लैंङ्गिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि अभियानबाहेक सबैजसो समयमा सबैखाले हिंसाविरुद्द काम गरिरहनुपर्नेमा जोडदिनुभयो ।
महासंघले महिला सहभागिता, नेतृत्व विकास, आर्थिक शसक्तिकरण र संरचनात्मक परिवर्तनका लागि जनवकालत गरेकै कारण महिला नेतृत्व विकासमा योगदान पुगेको उहाँले स्मरण गर्नुभयो ।
एक्काइसौं शताब्दीमा पनि महिला तथा बालबालिका र पछाडि पारिएको वर्ग विभिन्न खाले हिंसा र असमानताको शिकार हुन विवश हुनु दुःखको विषय भएको बताउँदै अध्यक्ष भण्डारीले संस्कार, विचार, व्यवहार र कानुनको परिपालनाले नै हिंसा अन्त्य गर्न सकिने बताउनुभयो ।
महासचिव पार्वता गौतमले महिला समानताको लागि महासंघले अनवरत रुपमा संकल्प र संघर्ष गर्दै आइरहेको बताउँदै डिजिटल हिंसा अन्त्यका लागि सचेतनाको खाँचो रहेको औल्याउनुभयो ।
महासचिव गौतमले संस्कार, संस्कृतिमा भएका कुसंस्कार, कुरिती र विचार व्यवहार परिवर्तन गर्न सबैको प्रतिबद्धता, कानुनी परिवर्तनसँगै कार्यन्वयन पनि अनिवार्य भएको उल्लेख गर्नुभयो ।
अधिवक्ता सुरोज बस्नेतले सूचना तथा सञ्चार प्रविधि जस्तै मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालको प्रयोग गरी महिला वा बालिकालाई उनीहरुको लिङ्गको आधारमा शारीरिक, मानसिक वा यौनिक हानी पुर्याउनु नै डिजिटल हिंसा भएको बताउँदै यसले पीडितको मानसिक स्वास्थ्य, प्रतिष्ठा र सुरक्षामा गम्भीर असर गर्ने जानकारी दिनुभयो ।


