सार्वजनिक जग्गा मिच्नेमाथि कारबाही गर्न सरकार लागि पर्नुपर्छ : नेता नेपाल

काठमाण्डौ – राजनीतिक अस्थिरताका कारण कर्मचारीहरुले पनि सरकारको निर्देशन नमान्ने प्रवृत्ति रहेको गुनासो नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले गरेका छन् ।

शुक्रबार काठमाण्डौमा आयोजित पारिवारिक निजी वन संघ नेपालको दोस्रो संघीय महाधिवेशन सम्बोधन गर्दै नेता नेपालले शक्तिशाली भएर पनि सार्वजनिक जग्गा मिच्ने, हडप्ने प्रवृत्तिको अन्त्य गर्ने सवालमा सरकार दृढताकासाथ अघि बढ्न नसकेको बताए ।

नेता नेपालले अहिलेको सरकार शक्तिशाली भएकाले वनमा माफियाहरुसँग मिलेमतो गर्नेलाई सजाय दिलाउन र दीर्घकालीन सोचसहित अघि बढ्न सरकारसमक्ष सुझाव पनि दिए ।

कर्मचारीको अटेरी प्रवृत्तिको अनुभव सुनाउँदै उनले भने ‘कर्मचारी कति अटेरी हुन्छन् भन्ने कुराको त म आफैँ एउटा उदाहरण हुँ । म प्रधानमन्त्री हुँदाखेरी सर्लाही जिल्ला र इलाम जिल्लाको वन सखाप पारेछ एउटा डीएफओले । त्यो डीएफओलाई कारबाही गर्न भनेर आदेश दिएँ । जम्मै मिलेका हुँदा रहेछन् डीएफओदेखि लिएर को–कोसम्म सबै । रिपोर्ट पेश गरेर मलाई भने, हजुर कारबाही गरियो, सस्पेन्ड गरियो । म पनि दंग परेँ सस्पेन्ड पो भएछ भनेर । फेरि तीन महिना पछि उसलाई त्यही ठाउँमा पठाउनुपर्दो रहेछ । तीन महिना पछि त्यहाँ गएर के भन्छ रे ‘यो प्रधानमन्त्री कति दिनको हो ? अहिले काट्या छु १० हजार, १ लाख रुख काटेर देखाइदिन्छु ।’

उनले थप भने, ‘वन होस्, सरकारी जग्गा होस्, नदी किनारका जमिन होस् यस्ता जमिन मिचिन नदिन के गर्नुपर्दछ हामी सबैले ध्यान पुर्याउन आवश्यक छ ।’

साथै, पारिवारिक निजी वन संघको दास्रो संघीय महाधिवेशनमा सरोकारवालाहरुले विकास निर्माणको वहानामा वातावरणलाई नै प्रभावित पार्ने गरी वनविनास गर्ने क्रम रोकिनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।

पारिवारिक निजी वन संघ, नेपाल पारिवारिक निजी वन किसानहरुको छाता संगठन हो । पारिवारिक निजी वन संघ, नेपाल नेपालभरी छरिएर रहेका पारिवारिक निजी वन किसानहरुको हक अधिकारसहितको आर्थिक समृद्धि प्राप्त गर्नका निमित्त गठन भएको हो । नीति निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र पहुँच विस्तार गर्ने उद्देश्यले यो संघ स्थापना गरिएको हो ।

यो संघमा हालसम्म ८ हजार पारिवारिक निजी वन किसानहरु सदस्यको रुपमा आवद्ध भइसकेका छन् ।

प्रकाशित मिति : 29 डिसेम्बर 2019, आइतवार
प्रतिक्रिया दिनुहोस