सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यकासाथ बुधबार ‘भिजिट नेपाल २०२०’ सुरु भएको छ । भिजिट नेपालको औपचारिक सुरुवात दशरथ रंगशालामा आयोजित भव्य कार्यक्रमबीच जनवरी १ देखि सुरु भएको हो ।
नेपालले यसअघि पनि पर्यटन भित्र्याउनका लागि विभिन्न पहल गर्दै आइरहेको छ । सन् १९९८ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पहिलोपटक नेपाल भ्रमण वर्षको आयोजना गरेको थियो । सन् २०११ मा दोस्रोपटक १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन वर्षको आयोजना गरेको थियो । यति बेला पनि लक्ष्य अनुसार नेपालमा पर्यटक भित्रिएका थिएनन् ।
अहिले नेपालमा वार्षिक १२ लाख पर्यटक घुम्न आउने गरेको तथ्यांक छ । यसरी हेर्दा सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउनका लागि ठूलो मेहनतको आवश्यकता देखिन्छ ।
पर्यटन प्रवर्द्धनका लागि विकासका पूर्वाधार, पर्यटकको सुरक्षा, बस्नका लागि उपयुक्त वातावरणका साथै घुम्न लायक ठाउँहरुको बारेमा जानकारी आवश्यक छ । पर्यटकीय पूर्वाधारको अभाव र पर्यटकीय क्षेत्रको उचित प्रचारको अभावकमा एकै वर्षमा २० लाख पर्यटक आउलान् त ? भन्ने शंका अझै पनि छ ।
सरकारले भ्रमण वर्ष २०२० का लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी त्यसबारे जानकारी पनि गराएको छ । नेपाल हिमश्रृंखलाका कारण विश्वमा परिचित छ । हिमाल मात्रै हैन, प्राकृतिकदेखि सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको भण्डारका रुपमा रहेको नेपालमा धेरै सम्भावना भएका पर्यटकीय गन्तब्य ओझेलमा छन् । सरकारले केही नयाँ गन्तव्यको खोजी गरी सूचना दिए पनि प्रचार–प्रसारका लगि त्यो पर्याप्त भने छैन । पुराना र परिचित गन्तब्य नै भ्रमण वर्षको आकर्षणको सूचीमा छन् ।
नेपालले विश्वको भूगोलमा जम्मा शून्य दशमलव एक प्रतिशत जमिन ओगटेको छ । तर, जैविक विविधताका हिसाबले संसारमै धनीदेशहरूमध्ये नेपाल पनि पर्दछ । नेपालको भौगोलिक विविधतामा १ सय १८ प्रकारको पारिस्थितिक प्रणालीभित्र ३५ थरीका वन र २ सय ४८ थरीका रैथाने वनस्पतिहरू पाइने तथ्यांक छ ।
नेपालको प्राकृतिक सम्पदाको विश्वमा नै चर्चा हुने गरेको भए पनि पर्यापर्यटनमा नेपाल सरकारले वन क्षेत्र खासै समेट्न सकेको छैन । नेपालमा वन क्षेत्रको अवलोकनका लागि धेरै पर्यटकहरु आउने गरेको भए पनि आवश्यक पूर्वाधारको कमीका कारण वन क्षेत्रका पर्यटकहरु वृद्धि हुन सकिरहेका छैनन् । नेपाल सरकारले आर्थिक वर्ष २०७५∕०७६ को बजेट वक्तव्यमा घोषणा गरेका देशरका एक सय नयाँ पर्यटकीय गन्तव्यमा तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) सँगै बाउन्नकोटी सामुदायिक वन पनि रहेको थियो ।
जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिने वन क्षेत्रमा पर्यटन विकासका लागि केही पहलहरु भइरहेको भए पनि त्यो पर्याप्त भने छैन । मुखले पर्यटन प्रवर्द्धनमा सामुदायिक वन क्षेत्र अपरिहार्य रहेको भनिने गरिए पनि प्रयोगमा भने न्यून देखिन्छ । पछिल्लो समयमा सामुदायिक वन उपभोक्ता समूहहरुले पर्यापर्यटनका सवालहरु उठाउने गरेका छन् ।
पछिल्लो समय पर्यटन प्रवर्द्धनमा केही सामुदायिक वन उदाहरण पनि बनेका छन् । वनमा चराचुरुंगी अवलोकन, जंगल घुम्ने, गाडामा चढ्ने, पैदलयात्रा गर्ने, हात्ती र जीप सफारीलगायतका सुविधाका कारण सामुदायिक वनले राम्रो आम्दानीसमेत गरेका छन् । तर पनि धेरै सम्भावना बोकेका सामुदायिक वन प्रचार–प्रसार र भौतिक पूर्वाधारको असुविधाका कारण पर्यटकीय रोजाइबाट बञ्चित भएका छन् ।
पर्यटकको रोजाइमा सामुदायिक वन क्षेत्र बनाउन सके स्थानीय स्तरमै थप रोजागरीका अवसर, स्थानीय जीवनस्तरमा सुधार र सामुदायिक वनको संरक्षण, संवर्द्धन र दिगोपना पक्का छ ।
साथै, नेपालमा पाहुनालाई गरिने आतिथ्यतामा पनि सामुदायिक वनको विशेष भुमिका हुने गर्छ । विशेषगरी ग्रामिण भू–भागमा गरिने सत्कारका शैली र स्थानीयको न्यानो आतिथ्यताले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । सामुदायिक वन अवलोकन गर्न आउने पर्यटकहरुका लागि सामुदायिक वन उपभोक्ता समितिले पर्यटकको स्वागत सत्कारमा विशेष ध्यान पुर्याउन सक्छन् तसर्थ पर्यटकीय गन्तव्यका रुपमा सामुदायिक वन पनि समेटिनु आजको आवश्यकता देखिन्छ ।
देशभर छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको स्थानीय निकाय, समुदाय तथा निजी क्षेत्र समेतको सहभागितामा संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापन गरी पर्यटन बजारबाट अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।