माछाको जालमा बाँचेको जीवन

दाङ –

फूलबारीको बखरीया बस्ती नै अचम्मको ठाउँमा बसेको छ । तीनतिर बबइ नदीले घेरिएझैँ लाग्ने यो ऐलानी ठाउँ त्यसैले निमुखा वादीहरुको आश्रयस्थल बन्न पुगेको हुनुपर्छ । यद्यपी बखरीया पूर्वपश्चिम राजमार्गबाट दाङ जिल्लाको तुलसीपुर जाने छोटो बाटोमा परेकोले बबइ खोलाको पुलछेउ बजारले पनि आकार बनाउँदैछ । तर यी सबैका लागि बबईमा हरेक वर्ष आउने बाढी सँधै ओछ्यानमाथि दलिनमा झुण्डिएको तरबार झैँ बनेको छ । त्यस्तो ठाउँमा कसरी ढुक्क परेर बस्न सकिन्छ ?

वर्षा सुरु हुन थालेसँगै यहाँका बासिन्दामा त्रास बढ्न थाल्छ । मध्य वर्षामा त चरमचुलीमा पुग्छ । बबइमा पानीको सतह बढ्यो कि कतिबेला त्यो अण्डाकार बस्तीको दक्षिण पूर्वी भागबाट वर्षामा समुद्ररुपी बबइ पस्छ कसैले केही भन्नै सक्दैन । बबइको पानी डुम्ना डाडामा ठोक्किन्छ र पानी रह परेर घुम्छ त्यहाँजस्तो लरतरे तारजाली हालेर बबईलाई उत्तरतिर फर्काउन आँठो ठड्याइए पनि त्यसले बबइको पानीलाई धेरैबेर धान्न सक्दैन । डुम्ना डाँडालाई बबइले फुटाउन सक्यो भने हामी सधैँका लागि यहाँबाट विस्थापित हुन्छौँ । बबइले डुम्ना डाँडालाई दिनहुँ खोपीरहेछ । माटो खसाली रहेछ । पानीमा यति करेन्ट छ की माटो कप्दाकप्दै नदी तल तल गाडिइरहेछ । त्यसअर्थमा हाम्रो गाउँका लागि डुम्ना डाँडा देवता हो । देवता नढलुञ्जेल हामी पनि ढल्दैनौँ । तर यो ढलेका दिन हामी पनि सकिन्छौँ ।

२०७१ साल साउन २९ र ३० गते आएको बबइको बाढीले बखरीयाको नामोनिसान मेटिदियो । खास गरेर पूर्वी किनारातर्फ रहेका आठवटा घरहरुको चिनो पनि नराखेर बबइले बढारेर लग्यो । त्यसबाहेक राजमार्ग छेउछाउ रहेका घर मालजाल बाख्रापाठालाई पनि बाढीले बाँकी राखेन । कुल ४६ घर भत्किए त्यतिबेला ।

रामजनम चौधरीले त्यसदिनबारे बताउँदै भने, कति सुत्छौ ? मानिसहरु कराइरहेछन् जाउ तिमी पनि … श्रीमतीले गाली गरिन् झैँ लाग्यो र कडासँग मैले उनलाई झपार्दै भनेँ, रक्सी खाएर कराउनेको कुरा कति सुन्छ्यौ ? चुप लागेर सुत अहिले राति नै छ । तर पनि पत्नीले भनिन् कहाँ रक्सी खानेहरु त्यसरी कराउँछन् । बाढी आयो जस्तो छ । यसो हेर्छु त आफू सुतिरहेको कोठामा पानी बगिरहेको पो देखियो । घरबाट १० मिटर अगाडि गएँ । बबइ त पुरै ढिस्कोलाई धकेलेर आउन पो लागेजस्तो छ । खेतको थुनिएको पानी आए जसरी बस्तीमा पानी आइरहेको छ ।

बुढिले भनि सामान सारौँ । हामी बसेकै ठाउँमा पसलका सामान थिए । मैले भनेँ तिमी सार्दै गर म माथिल्लो तलामा बा आमालाई उठाउन जान्छु । उहाँहरुलाई उठाएर तल झर्दा घुडासम्म घरभित्रै पानी पसिसकेको थियो । आत्तिएर मन ठेगानमा भए पो । सामान उठाउनै पाइएन । हेर्दाहेर्दै पसलको सामान सब गइगयो । तर मेरो मोटरसाइकल जसरी नि बचाउँछु भनेर तानेँ । ह्याण्डिल लक नगरेको भएर त्यसलाई बचाउन सकिएको हो नत्र त्यो पनि बगाउँथ्यो । ज्यान जोगाउन परिवारका सबै सदस्य अग्लो ठाउँमा गयौँ । हाम्रो घर पनि उकालो सकिएर सम्म ठाउँ सुरु भएपछि भएकाले हामी फुत्किन सकेका हौँ । अलि पर भएको भए छिनभरमा नै बाढीले हामीलाई पनि लैजान्थ्यो । धन्न मेरी श्रीमतीको शंकालु बानी र पछाडि नहट्ने बानीले मेरो र परिवारको ज्यान बच्यो ।

बाढी त भोलिपल्ट बिहान सुक्यो तर हामी सबैको बास, त्यसभित्रका सामान मालजाल सबै बाढीले लिएर गयो । त्यसपछि हाम्रो बास सडकमा भयो । मनले हरेस खाँदा अरुको अवस्था हेरेर आफैलाई सान्त्वना दिइयो । त्यतिबेलाको दुःखको वर्णन के गर्नु भनिसाध्य छैन । हाम्रो त धनमाल मात्र बाढीमा पर्यो परिवार गुमाउनेहरुको पीडा अझ दर्दनाक थियो । न बस्ने ठाउँ छ न खाने कुरा । घरमा राखिएको अन्नपात लुगाफाटो र गरगहना भाडाकुँडा केही छैन । न रुनु न त विलौना गर्नु । फेरि दुखीका कुरा पीडितलाई सुनाउनको के मतलव ? दुई दिन परोपकारीले कहिले पकाएर कहिले चिउरा भुजिया खुवाए ।

त्यसपछि टिनको टहरो ठड्याइयो । सामुदायिक वन जिल्ला महासंघको हरियो वन कार्यक्रमले मलाई पनि १५ हजार रुपैयाँ सहयोग गर्यो । टहराको बास पुरै नयाँ सिर्जनाका साथ सुरु भयो । लगाएको लुगा र ज्यान बाहेक सम्पतिको नाममा मोटरसाइकल थियो । टहरो बनाउन सापट खोजियो । म पसले भएकाले डिलरले ल पछि दिनु न त भनेर ५०∕६० हजारको सामान उदारो दिए । मैले पसल चलाएँ मेरो आधार नै यही हो ।

राजकपुर बादी, अर्जुन बादी तथा अम्मर नेपाली र सुनिल नेपाली दाजुभाइको कथा भिन्नै छ तर पीडा भने उस्तै छ । कृषि मजदुरी गर्ने यिनीहरु फुर्सदको समयमा माछाको जाल बुन्ने, मादल बनाउने, माछा मार्ने र एकदुई बाख्रा पाठा पाल्ने गर्थे । तर यिनको सीप बाहेक सबैथोक बबइको बाढीले लग्यो । न बस्ने बास न त खाने अन्न र ओढ्ने ओछ्याउने । यस्ता समयमा हामीलाई हरियो वन कार्यक्रमले प्रति परिवार १५ हजार दिएर मरिसकेकाझै भएका हामीलाई बाँच्ने आधार दियो । त्यो पैसाले माछा मार्ने जाल आफ्नै सीप लगाएर बनाइयो । जाल पनि बनाउँदै बेच्दै पैसा खेलाइयो ।

हाम्रो जिन्दगी पनि अचम्मको छ, अम्मर नेपालीले भने बाढीबाट बच्न डुम्ना डाँडा पुकार्छौँ । अनि ठूला ठूला र महंगा माछा हाम्रो जाल र बल्छिमा पार्न यही बबइ नदी पुकार्छौँ । योे नदीमा पानी भएन र माछा मार्न पाइएन भने पनि हाम्रो बिल्लिबाठ हुन्छ । त्यसैले माछा मारेपछि बबइ नदी र डुम्ना डाँडालाई अलिकति चढाउँछौँ । डुम्ना डाँडाले हाम्रो वास र हामीलाई जोगाउँछ भने बबइ नदीले हामीलाई रोजगारी दिएको छ यसले हामीलाई बचाउँछ । यसरी हाम्रो माया प्रेमको सम्बन्धले डुम्ना र बबईले हामीलाई बखरीयामा बचाइरहेछन् । हाम्रो जीवन चलिरहेछ ।

प्रकाशित मिति : 7 जनवरी 2020, मङ्गलवार
प्रतिक्रिया दिनुहोस