सामाजिक सेवा दिवस सप्ताहव्यापी मनाइदै

काठमाडौँ, असोज ६ । ‘सामाजिक क्षेत्रः राष्ट्रिय गोैरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने मुल नाराका साथ ४१ औं सामाजिक सेवा दिवस मनाइदैछ ।

सरकारी, गैरसरकारी तथा समुदाय र समाजिक संघसंस्थाहरूले यसपटक कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर यो दिवस मनाउँदै छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले पनि सप्ताहव्यापी कार्यक्रम सहित सामाजिक सेवा दिवस मनाउँदै छ ।  यस अवसरमा सबै जिल्लामा महासंघ र उपभोक्ता समुहमा भर्चुअल अन्तर्कृयामार्फत आफ्ना गतिविधि सञ्चालन गर्नेछन् ।

महासंघकी अध्यक्ष भारती पाठकले कोभिड १९ का कारण सार्वजनिक गतिविधि गर्न नसके पनि भर्चुअल रुपमा देशका ७७ वटै जिल्लामा छरिएर रहेका सामुदायिक वन उपभोक्ता समितिलाई समेटेर कार्यक्रमहरू गरिने जानकारी दिनुभयो । उहाँले सामाजिक सेवा दिवसलाई नारामा मात्र सीमित राख्न नहुने पनि उल्लेख गर्नुभयो ।

सामाजिक सेवा दिवसमा महासंघको भूमिका महत्वपूर्ण रहने बताउँदै उहाँले दिगो विकासको सबै सिद्घान्त वनभित्रै पर्ने भएकाले यसले अप्रत्यक्ष रुपमा राज्यलाई पुँजी संकलन गर्न सघाइरहेको पनि बताउनुभयो ।

महासंघले दिगो विकाससँगै आयआर्जनका क्षेत्रमा महिलालाई क्रियाशील बनाउन लागिरहेको पनि अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
फेकोफनका महासचिव बिर्ख शाहीले सामाजिक सेवा र समुदायको सम्वृद्दि अन्तर सम्बन्धित भएको बताउँदै महासंघले विशेष रूपमा यो दिवस मनाउन लागेको बताउनुभयो ।

दिवसका अवसरमा समाज कल्याण परिषदले विगतमा सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने संस्था र व्यक्तिलाई पुरस्कृत गर्दै आएको थियो । तर यस वर्ष भने कोभिड १९ को संक्रमणका कारण भौतिक कार्यक्रम सम्भव नभएकाले जुममार्फत सबैलाई समेट्ने उद्देश्य परिषदले राखेको छ ।

दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रशारण समेत गरिने परिषदका सुचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताउनुभयो ।

सामाजिक सेवा दिवसका उपलक्ष्यमा देशभर छरिएर रहेका पाँचसयभन्दा बढी गैरसरकारी संस्थालाई साताव्यापी रुपमा सहभागी गराउने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा सामाजिक उद्यमशीलता, नेपालमा वैदेशिक सहयोगको प्रभावकारीता र कोभिडविरुद्धको लडाइँमा सामाजिक संस्थाको योगदान गरी तीनवटा विषयमा विज्ञहरुको सुझाव संकलन गरिने छ । यो दिवस असोज ६ देखि १२ गतेसम्म मनाइनेछ ।

प्रकाशित मिति : 22 सेप्टेम्बर 2020, मङ्गलवार
प्रतिक्रिया दिनुहोस