महासंघले जोखिम मोलेरै कामलाई निरन्तरता दिइरहेको छ : अध्यक्ष पाठक

काठमाडौँ, असोज १२ । सामुदायिक वन उपभोक्ता महासंघले कोभिड १९ को महामारीमा पनि जोखिम मोलेर निरन्तर काम गर्दै आएको महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो ।

सामाजिक सेवा दिवसका उपलक्ष्यमा प्रदेश नं २ को प्रदेश महासंघले जुममार्फत आयोजना गरेको सामाजिक सेवामा सामाजिक वन विषयक अन्तक्र्रियामा उहाँले कोभिडबाट सबैभन्दा धेरै प्रभावित सो प्रदेशले निरन्तर काम गरिरहनु प्रसंशनीय रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “एउटा सामुदायिक वन उपभोक्ता समूहका व्यक्तिले गरेको गल्तीलाई लिएर पुरै समूहलाई राज्यले गलत ठहर्याउनु निन्दनीय छ ।”

व्यक्ति, समाज, सरकारी तथा गैरसरकारी निकायको तत्परताबाट मात्र सामुदायिक वनको संरक्षण हुने उहाँको तर्क छ । महासंघका महासचिव बिर्ख शाहीले देशको राजनीतिक परिवर्तनमा वन उपभोक्ता समूहको अतुलनीय योगदान रहेको बताउनुभयो ।

“समूहको रगत पसिनाले सिँचित इतिहास नै समाजसेवामा समर्पित छ”, उहाँले भन्नुभयो । महासंघका सचिव ठाकुर भण्डारीले परम्परागत क्षमतालाई प्रविधिमा रुपान्तरण गरी उद्यमशीलतमा जाने उद्देश्य सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश नं २ महासंघका अध्यक्ष सोम शर्माले कोभिड १९ को महामारी रोकथाममा प्रदेश नं २ का सामुदायिक वन उपभोक्ता समूहहरुले सरकारलाई रु ५० लाख सहयोग गरी १३ हजार स्वयमसेवी समेत परिचालन गरेको जानकारी दिनुभयो । उहाँले यस्तो महामारीका समयमा पनि केन्द्रिय महासंघले देशव्यापी रुपमा आफ्ना २२ हजारभन्दा बढी उपभोक्ता समूहलाई क्रियाशील बनाउनु प्रशंंसनीय रहेको उल्लेख गर्नुभयो ।

सो अन्तक्र्रियाको सहजीकरण प्रदेश महासचिव रीता कुँवरले गर्नुभएको थियो । अन्तक्र्रियामा उत्तर मैनाली, रामबहादुर घलान, डोबबहादुर खड्का, सरस्वती निरौला, अप्सरा चौधरी लगायतले महासंघका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : 28 सेप्टेम्बर 2020, सोमवार
प्रतिक्रिया दिनुहोस