महिला हिंसाको अन्त्य गर्न समाजका सबै निकाय जिम्मेवार हुनुपर्छ – अध्यक्ष पाठक

काठमाडौँ, १० मङ्सिर : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले महिला हिंसाको अन्त्य गर्न समाजका सम्पूर्ण निकाय जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।


अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा लैङ्गिक हिंसाविरुद्धको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ महासङ्घले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पाठकले महासङ्घले स्थापनाकालदेखि नै महिला र पुरुषबीचको समानतालाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।

महासंघका अभियन्तका लागि ३६५ दिन नै हिंसाविरुद्धको दिवस भएको बताउँदै उहाँले भन्नुभयो “सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मात्र नभई समूहका महिला पदाधिकारी समेत समय–समयमा हिंसाको सिकार भएको अवस्था छ, त्यसका विरुद्धमा महासङ्घले सधैं आवाज उठाउने गरेको छ ।”

उहाँले अन्तर्राष्ट्रिय रुपमा समेत समानताका दृष्टिकोणले अग्रणी संस्थाका रुपमा परिचित सामुदायिक वन उपभोक्ता महासङ्घले महिला हिंसा अन्त्यको लागि स्थापनाकालदेखि नै विभिन्न दबाबमूलक काम गर्दै अहिलेको स्थितिसम्म आइपुगेको स्पष्ट पार्नुभयो ।

महासंघका महासचिव बिर्खबहादुर शाहीले महिला हिँसाको अन्त्यका लागि देशभरका सामुदायिक वन उपभोक्ता माझ सचेतना अभियान दिवस अवधिभर चलाइने जानकारी दिनुभयो ।

सो अवसरमा महाङ्घका सचिव ठाकुर भण्डारीले दिवसका उपलक्ष्यमा सोह्र दिनसम्म महासङ्घका तर्फबाट देशभर विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्ने जानकारी दिनुभयो । यो वर्ष कोभिड १९ का कारण भौतिक कार्यक्रम सम्भव नभएकाले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाइने उहाँले बताउनुभयो ।

कार्यक्रममा महासङ्घका कार्यकारी निर्देशक डा. सीता अर्यालले महासङ्घले गर्ने नियमित गतिविधिमध्ये यो दिवस पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

वन क्षेत्रको व्यवस्थापनमा ग्रामीण महिलाको योगदानः लैङ्गिक हिँसामुक्त वन क्षेत्र हाम्रो अभियान भन्ने कुरालाई पनि महासङ्घले मुख्य प्राथमिकतामा राखेको छ । बुधबारबाट सुरु भएको यो दिवस मङ्सिर २५ गते समापन हुनेछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत शुभकामना सन्देश दिनुभएको छ ।

प्रकाशित मिति : 25 नोभेम्बर 2020, बुधवार
प्रतिक्रिया दिनुहोस