
काठमाडौँ, मङ्सिर १३ । समाजमा आर्थिक रुपमा कमजोर भएसम्म हिंसाको अन्त्य नहुने सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले बताउनुभयो ।
अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्दको दिवसका अवसरमा देशभरका महिला पदाधिकारीका लागि फेकोफनले हिजो र आज भर्चुअल रुपमा आयोजना गरेको दुईदिने महिला नेतृत्व प्रशिक्षणको समापन गर्नुहुँदै उहाँले समाजमा रहेका कमजोर पक्षको आवाजलाई सशक्त रुपमा उठाउने बलियो नागरिक सङ्गठनका रुपमा फेकोफन रहेको बताउनुभयो । “कुनै एउटा राजनीतिक पार्टीले आफने सिद्धान्त अनुसार समाजको वकालत गर्छ भने फेकोफनले समाजका हरेक पक्षको वकालत गर्छ”, उहाँ थप्नुहुन्छ, “सामुदायिक वनका क्षेत्रमा काम गर्ने व्यक्ति समाजको सक्षम नेता बन्न सक्छन् ।”
नेपालमा पैसाले नै सारा शक्ति किन्न थालिएको उहाँको आरोप छ । महासङ्घका महासचिव बिर्ख शाहीले दुईदिने प्रशिक्षणपछि प्रशिक्षार्थीले समाजमा नयाँ क्षमता प्रदर्शन गर्न सक्ने आशा व्यक्त गर्नुभयो ।
सो अवसरमा सचिव ठाकुर भण्डारीले तालिम पश्चात गर्ने कामको वारेमा छलफल चलाउँदै आगामी पुस ७ गतेको राष्ट्रिय कार्यसमिति बैठक र पुष ८ र ९ गते हुने राष्ट्रिय परिषदमा प्रस्तुत गर्ने गरी कार्ययोजना अनुसार सबै संरचनाका बैठक बस्नुपर्ने, आवद्ध नवीकरण काम गर्नुपर्ने बताउदै विशेषगरी सामुदायिक वनमा आवद्ध महिला पदाधिकारीको नेतृत्व क्षमतालाई तिखार्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो । महासङ्घका कार्यकारी निर्देशक डा सीता अर्यालले हिंसाविरुद्ध लड्ने क्षमता महिलामा हुनु आवश्यक रहेको पुष्टि गर्नुभयो ।
कोषध्यक्ष पार्वता गौतमले तालिममा सिकेका कुरा समुदाय सम्म लैजानु पर्ने साथै कार्ययोजना अनुसार काम हुने विस्वास व्यक्त गर्नु भयो ।
महासङ्घका पूर्वअध्यक्ष तथा तुल्सीपुर उप–महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले महिला स्वयंले व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर नभएसम्म समाजमा परिवर्तन आउन नसक्ने दाबी गर्नुभयो । त्यस्तै महासङघका कानूनी सल्लाहकार दिलराज खनालले नेपालमा महिला र पुरुषका लागि सरकारले पैतृक सम्पत्तिमा बराबरको हक प्रदान गरेको उल्लेख गर्दै आफ्नो अधिकारका लागि लड्न महिलाहरुलाई आग्रह गर्नुभयो ।