सामुदायिक वन उपभोक्ता महासंघको धर्ना कार्यक्रम सम्पन्न

काठमाडौँ, पुस ४ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले शुक्रबार पनि उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयनको माग राख्दै धर्ना कार्यक्रम गरेको छ ।

धर्नाको सम्बोधन गर्नुहुँदैै महासंघका अध्यक्ष भारती पाठकले महासंघको पहिलो चरणको कार्यक्रम अन्तर्गत धर्न कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुहुँदै पुष ७ र ८ गतेको राष्ट्रिय कार्यसमितिको बैठकले आगामी कार्यक्रम निर्धारण गर्ने जानकारी दिनुभयो । “सामुदायिक वनमाथिको ज्याजति फेकोफनलाई स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो । चुरे वन संरक्षण क्षेत्रका विषयमा फेकोफनले पटकपटक आन्दोलन गर्दा पनि त्यसको सुनुवाइ हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष भीमप्रकाश खड्काले सामुदायिक वनले संरक्षण गर्दै आएको वन क्षेत्र उपभोगको अधिकार पनि सामुदायिक वनकै भएकाले त्यो अधिकार सरकारले खोस्न नहुने बताउनुभयो । संरक्षित वनमाथि सरकारको गिद्दे नजर रहेको समेत उहाँले आरोप लगाउनुभयो । फेकोफन बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटाले सामुदायिक वनका विषयमा दुई तिहाईको सरकार आइसकेपछि पनि पन्चायतकालको जस्तै स्थिति रहेको आरोप लगाउनुभयो ।

धर्ना कार्यक्रमको सहजीकरण महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले गर्नुभएको थियो ।

सो अवसरमा फेकोफनका विभिन्न जिल्ला महासंघका पदाधिकारीहरुले सामुदायिक वनमाथिको हस्तक्षेपका विषयमा जिल्लाव्यापी रुपमा ज्ञापनपत्र बुझाउने र धर्नाका गतिविधिहरु सञ्चालन भइरहेको भइरहेको भन्दै माग सम्बोधन नभए पुनः आन्दोलनमा जाने चेतावनी दिएका थिए । सो विषयमा फेकोफनले बिहीबार पनि धर्ना गरेको थियो ।

धर्नाका क्रममा फेकोफन जिल्ला महासंघ सिन्धुपाल्चोक, जिल्ला महासंघ भक्तपुर, जिल्ला महासंघ ललितपुर, जिल्ला महासंघ रसुवा, जिल्ला महासंघ सिन्धुली लगायत जिल्लाका पदाधिकारी, प्रदेश महासंघका पदाधिकारीहरु, केन्द्रका पदाधिकारीहरु तथा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थिति थियो ।

धर्नासँगै महासंघले माइतीघर मण्डलादेखि प्रदेश महासंघ बागमतीको प्रथम ऐतिहासिक परिषद भएको ठाउँसम्म नारा जुलुस गरेको थियो ।

प्रकाशित मिति : 19 डिसेम्बर 2020, शनिवार
प्रतिक्रिया दिनुहोस