
रोल्पा जिल्लाको सदरमुकाम रोल्पा नगरपालिका वडा नम्वर २ मा रहेको रेउघा सामुदायिक वनले एक नमुनाका रुपमा संरक्षण र उद्यम समेत सञ्चालन गर्दै आएको छ । २०४९ सालमा समुदायलाई हस्तान्तरण भएको यो सामुदायिक वन ४३२.६२ हेक्टरमा फैलिएको छ भने ४७१ घरधुरी आवद्ध छन् ।
राम्रो र उदाहरणीय काम गरे बापत समुहलाई जिल्ला वन कार्यालयले पुरस्कृत गरेको छ । सदरमुकामसँगै जोडिएको यो सामुदायिक वन उपभोक्ता समुहले आफ्नै फर्निचरसमेत सञ्चालन गरेर रोजगारी र उपभोक्तालाई सर्वसुलभ रुपमा काठ तथा फर्निचर बजार मुल्यभन्दा कम पैसामा उपलब्ध गराउँदै आएको छ ।
उद्योगमा ३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । समुहलाई पनि आम्दानीको राम्रो बाटो बनेको छ । वनभन्दा केही टाढा व्यक्तिको निजी जग्गा भाडामा लिएर समुहले फर्निचर उद्योग सञ्चालन गरेको ८ बर्ष भैसकेको उपभोक्ता समुहका अध्यक्ष प्रविता घर्तीले जानकारी दिनुभयो ।
द्धज्ञ सामुदायिक वनले आफ्नो कार्ययोजना अनुसार वनश्रोतको उपयोग गरेर गाउँघरमै उद्यम सञ्चालन गर्न सक्छन् । त्यसले रोजगारी प्रदान गर्दै अप्रत्यक्ष रुपमा अरुलाई समेत आयआर्जनमा सघाउँछ भन्ने एउटा उदाहरण हो रेउघा वनको फर्निचर उद्योग ।
यसरी हरेक सामुदायिक वनलाई प्राकृतिक श्रोतको सही रुपमा उपयोग गर्दै आयआर्जन र उद्यममा जोड्न सरकारले सघाउने हो भने गरिबी न्यूनीकरणमा मद्धत पुग्छ भन्ने आफूहरुले देखाएको अध्यक्ष घर्तीको भनाई छ । फर्निचर उद्योग बाहेक रेउघा सामुदायिक वनले जैविक विविधता, वातावरण संरक्षण, आयआर्जन, गरिबी हटाउने, जस्ता अनेक काम गर्दै आएको छ ।
डाँडामा पर्ने वनमा सातवटा त पोखरी मात्रै बनाइएको छ । लेकमा बनाईएका यस्ता पोखरीले जीवजन्तु, जंगली जनावर, घरपालुवा पशु चौपाया जंगल लैजान पाउँदाका समयमा उनीहरुलाई पानी पिउन सजिलो भएको छ । खासगरि बर्खाको पानी संकलन गरेर पानीको श्रोत संरक्षणमा पोखरीहरुल धे ेरै मद्धत गरेका छन् ।
जैविक विविधता र मुल संरक्षणका हिसाबले यो अर्को उदाहरणीय काम हो । उपभोक्ता समुहले वनमा पर्यापर्यटनको सम्भावनालाई पनि कार्यान्वयन गर्दैछ । अधिकांश गाउँलेहरुको कुलदेवताको मन्दिर सामुदायिक वनमै रहेकोले त्यहाँसम्म पुग्ने गोरेटो बाटो बनाउने, मन्दिर संरक्षण गर्ने काम गरिएको छ ।
आगामी दिनमा पर्यटक आकर्षण गर्न वनभोज स्थल निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने योजना छ । खानेपानी आयोजनाले वनको नजिकै पानी ट्याङ्की बनाएकोले त्यहीबाट लिफ्टिङ्ग प्रविधिबाट पानी तानेर वनसम्म लैजाने र त्यहाँ पिकनिक सहित अरु पूर्वाधार बनाउने योजना समुहको छ ।
सामुदायिक वनले गरिबी न्यूनीकरण र आयआर्जनका लागि बाख्रा, बंगुर, कुखुरापालन लगायतका अन्य स–साना व्यवसायका लागि उपभोक्ताहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । घुम्तीकोष बनाएर विपन्नताको स्तर अनुसार बर्षमा ५ जनालाई र हरेक १८ महिनामा फिर्ता गर्ने गरि सहयोग दिन्छ समुहले ।
२ बटा बाख्रा दिएकोले कतिपयले त्यसैबाट थप्दै गएर घरखर्च चलाउने र आम्दानी गर्ने गर्छन् । द्धद्द यस्तो सहयोग आवश्यकता अनुसार अधिकांश उपभोक्ताले पाएका छन् । उनीहरुले १०–१२ वटासम्म बाख्रा थप्दै बनाएका छन् । पूर्वान खत्री, छवि रावत लगायतले बाख्राबाट राम्रै आम्दानी गर्नुभएको छ ।
अर्कोतिर बाख्राको मल खेतीपातीमा राख्दा उब्जनी बढ्ने र कतिपयले मल समेत बेचेर आम्दानी गर्छन् । नगद पैसाको जोहो गर्न नसक्नेहरुलाई यस्तो व्यवस्थाले धेरै राहत पुगेको छ । समुहले विपन्न परिवारका क्यान्सर पिडितलाई उपचार खर्च सहयोग गर्नेदेखि सडक दुर्घटनामा परि घाईते भएका गरिब परिवारका सदस्यहरुलाई समेत आर्थिक सहयोग गर्ने गरेको छ ।
यस्तै शौचालय, पानीधारा निर्माणमा पनि टोल टोलमा सहयोग गर्दै आएका छ । सामाजिक काममा टोलमा सडक निर्माण, विद्यालयहरुमा सहयोग, चारवटा विद्यालयका बालबालिकालाई बर्षमा पोशाक तथा छात्रवृत्ति दिने गरेको छ । समुहले मासिक बैठक, बार्षिक भेला गरेर सुशासन र पारदर्शीतालाई अवलम्वन गर्दै आएको छ ।
संरक्षण, खेतीपाती, सशक्तिकरण जस्ता विषयमा तालिम चलाउँदै आएको छ । वन संरक्षणमा उपभोक्ताको सक्रियताले जंगल हराभरा र घना भएको छ । हेरालु राखेर संरक्षण गर्ने, समुहले छड्के अनुगमन गर्ने, खाली क्षेत्रमा वृक्षरोपण गर्ने गरिएको छ । जसले गर्दा वनमा सल्ला लगायतका अन्य प्रजातिका रुखबिरुवा हुर्केका छन् ।