यार्सागुम्वाको खानी

डोल्पा जिल्लाको काईके गाउँपालिका वडा नम्वर ५, खानी गुम्वा गाउँस्थित नावरपानी सामुदायिक वनमा ९० घरधुरीका कुल ३६० उपभोक्ता आवद्ध छन् । २६९ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनको विधान २०६० सालमा दर्ता भएको थियो ।

सामुदायिक वनका रुपमा दर्ता र हस्तान्तरण भएपछि वनको हैसियत धेरै राम्रो भएको छ भने जडीबुटी संरक्षणका कामहरु पनि भएका छन् । हिमाली जिल्ला र भौगोलिक रुपमा नेपालकै सबैभन्दा ठूलो जिल्ला हो डोल्पा । त्यसका अलावा डोल्पा जिल्लालाई नेपालको यार्सागुम्वाको खानी भनेर पनि चिनिन्छ ।

नावरपानी त्यसमध्येको एक क्षेत्र हो, जहाँ यार्सागुम्वा एकदमै धरै हुन्छ । त्यसैले सामुदायिक वन उपभोक्ता समुहले यार्साको संकलन, संरक्षण र उपभोक्ताको आम्दानीमा धेरै सहयोग गर्दै आएको छ । सामुदायिक वनको अगुवाईमा यहाँ हरेक सिजनमा यार्सा संकलन गर्दा वनका उपभोक्ताहरुलाई विशेष प्राथमिकता र सहुलियत दिने गरिन्छ ।

यार्सागुम्वा संकलन र बिक्रीबाट यहाँका बासिन्दाले राम्रो आम्दानी ढण् गर्दै आएका छन् । उपभोक्ता समुहका अध्यक्ष सुरेश बुढाका अनुसार नावरपानीका स्थानीयको आम्दानीको मुख्य श्रोत नै यार्सागुम्वा संकलन र बेचबिखनबाट आउने पैसा हो ।

गाउँसँग जोडिएकोले सहज रुपमा पुग्न सकिने वनमा अतिस, भुत्ले, जटामसी, पदमचाल, गुच्ची च्याउ, सेतकचिनी लगायत विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । जडीबुटी संरक्षण, पुनरोत्पादन र संकलन गरेर यहाँका उपभोक्ताले राम्रो आयआर्जन गरेका छन् । आयआर्जनको मुख्यबाटो भएकोले सामुदायिक वन र उपभोक्ताले पनि जडीबुटी संरक्षणमा ध्यान दिँदै आएका छन् ।

त्यसका लागि जथाभावी वन प्रवेश नगर्ने, निश्चित मात्रामा निकाल्न दिने र त्यसलाई नासिन नदिई जोगाउँदै लैजाने काम उपभोक्ता समुहले गर्दै आएको छ । समुहले लगाएको नियम मान्ने र स्थानीयलाई खास सहुलियतमा समुहले संकलनको वातावरण बनाईदिने गरेकोले सामुदायिक वन उपभोक्ताको हितमा रहेको बुझाई गाउँलेहरुमा भएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । नावरपानी सामुदायिक वनमा नयाँ ताल फेला परेको छ । अध्यक्ष बुढाका अनुसार ‘गाउँदेखि करिब २० किलोमिटर टाढा ग्याघुचेन ताल छ ।

झण्डै तिलिचो ताल जत्तिकै ठूलो त्यो तालबारे सरकारी निकायलाई धेरै जानकारी समेत छैन् । गुगल र नेपाली डकुमेन्टहरुमा खोज्दा पनि यो तालबारे थप जानकारी भेटिदैन् ।’ त्यतिधेरै उचाईको तालमा ठूला–ठूला कछुवासमेत भेटिएको स्थानीय बासिन्दाले आफूलाई बताएको पनि उहाँले जानकारी दिनुभयो । त्यसैले ताल संरक्षण र पहिचानका लागि सामुदायिक वन उपभोक्ता समुहले सरकारसँग सहयोगको पहल थालेको छ ।

तालबारे अहिलेसम्म धेरैलाई जानकारी नै नभएकोले यो नयाँ पर्यटकीय गन्तव्यस्थल बन्ने विश्वास गाउँलेहरुको छ । त्यसको पहिचान र प्रचारप्रसारमा सरकारले ध्यानदिनुपर्ने माग स्थानीयले गरेका छन् । सल्ला, धुपी, भोजपत्रका रुख बिरुवाहरु पाईने यो सामुदायिक वनमा तिलाईलो, रैस, लोक्ता, झुले सल्ला, खरिम्ते, डालेचुक, निगालो पनि पाइन्छ ।

यसैगरी कालिज, तित्रा, च्याखुरा लगायतका पंक्षी तथा कस्तुरी, मृग, नाउर, घोरल, चितुवा, भालु लगायतका जंगली जनावरहरुको बसोवास क्षेत्र रहेको छ नावरपानी सामुदायिक वन ।

प्रकाशित मिति : 15 सेप्टेम्बर 2021, बुधवार
प्रतिक्रिया दिनुहोस