लैङ्गिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय भएको: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिंगारेर मुुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीति निर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजना गरेको राष्ट्रिय कार्यक्रममा उहाँले मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “यसलाई गहिरोसँग आत्मसाथ गर्दै जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासंघजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहन्छ ।”

वनजंगलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्काेतिर महिला हिंसा उन्मुलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासंघलाई धन्यवाद दिनुभयो । उहाँले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जिविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकुलन र न्यूनिकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामुलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गर्र्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो । उहाँले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थाहरुलाई आह्वान समेत गर्नुभयो ।

समाजमा अझै पनि लैङ्गिक ंिहंसा विभिन्न रुपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न संघर्ष गर्नुपरेको छ भने अर्काेतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रुप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकातर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछु ।” राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गक हिंसा उन्मुलन गर्न महिला र पुरुष दुबैको उत्तिकै सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा महांसघका अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मुलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाल सरकारी निकाय र सामाजिक संस्थाहरु जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो । नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका का प्रमुख अशोक व्यन्जुले महासंघले वन संरक्षणका साथै सामाजिक शसक्तिकरणमा पनि योगदान गरेकामा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष घनश्याम पाण्डे, सचिव ठाकुर भण्डारीलगायतले महांसघले नाङ्गा डाडालाई वनजंगल संरक्षणमार्फत हरियाली बनाउने काम मात्र नभई आर्थिक, समाजिक तथा सचेतनामूलक कार्यमा समेत विभिन्न कार्य गर्दै आइरहेको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : 5 डिसेम्बर 2021, आइतवार
प्रतिक्रिया दिनुहोस