संरक्षणमा मन, पालेको वन

बाजुरा बाजुराको साविकको पाण्डुसेन गाविस र हालको बुढीनन्दा नगरपालिका वडा नम्वर ८ स्थित हरियाली महिला सामुदायिक वन आँटिली महिलाले नेतृत्व गरेको एउटा नमुना वन हो । वनप्रतिको यस्तो लगाव र संरक्षणमा खटाई सायदै महिलाहरुको भेटिन्छ । हरियाली सामुदायिक वन उपभोक्ता समुहको स्थापनाकालदेखि हालसम्मकी एकमात्र अध्यक्षको नाम हो, दन्त बोहोरा । वन संरक्षण र समुहको कामबारे कुरा गर्नासाथ उहाँले धाराप्रवाह आफ्ना कुरा राख्ने क्रममा भन्नुभयो– १२ बर्ष भयो हामीले वन पालेको ।

यो महिलाको वन हो । हामीले हरियो हेरिरहने खालको बनाएका छौं । हेरालुसमेत राखेर रेखदेख गरेका छौं । कोही पनि अहिलेसम्म लुकिचोरी वनमा छिर्न समेत पाएको छैन् । यतिधेरै मेहनत गरेर महिलाहरुले संरक्षण गरेको हरियाली सामुदायिक वन हस्तान्तरण भएको भने २०७४ सालमा मात्रै हो । शुरुमा महिलाहरुको अग्रसरतामा वन संरक्षणको अभियान थाल्दा रित्तो पाखो थियो । जंगल थिएन । तर अहिले वन घना जंगलका रुपमा परिणत भएको छ । त्योपनि बाह्रै महिना हरियालीसहित ।

किनभने त्यहाँ काउलोका बिरुवाहरु रोपेर हुर्काइएकोले सधैजसो हरियै हुन्छ । त्यसैले वनको नाम नै हरियाली सामुदायिक वन राखिएको छ । काउलो एकप्रकारको जडीबुटी नै हो । वैज्ञानिक नाम लोरलस भनिने काउलोको बोक्रा चिप्लो हुन्छ । त्यसैले यसको बोक्रालाई सेल रोटी बनाउनका लागि चामलको पिठोमा मिसाउने गरिन्छ । कतिपयले काउलो लयालो हुने भन्दै कोदोको पिठोमा मिसाएर रोटी बनाएर पनि खाने गर्छन् । यस्तै बहुउपयोगी काउलोको बोक्रा र दाना अन्य धेरै काममा पनि प्रयोग हुन्छ । यसको महत्व बहुआयामिक भएकोले प्रशोधन गर्ने र अन्तराष्ट्रिय स्तरमा यसको बजार र मुल्यबारे खोजविन पनि हुन थालेको छ ।

अध्यक्ष बोहोरालो भन्नुभयो– काउलो फल्न थालेपछि टिपेर बेच्ने र समुहले आम्दानी गर्ने योजना हामीले बनाएका छौं । त्यो रकमले महिला दिदीबहिनीहरुको आयआर्जन र गरिब तथा विपन्नलाई स्वरोजगार बनाउन लगानी गर्ने हो । वनमा उत्तिस र अन्य रुखहरु पनि हुर्केका छन् । समुहले आयआर्जन बढाउने विकल्पहरुबारे पनि काम गरिरहेको छ । त्यसैक्रममा करिब ८–९ क्विन्टल हलेदो लगाइएको थियो २ बर्ष पहिले । तर सोचेजस्तो भएन्, कुहियो । तर महिला दिदीबैनीहरुले हरेस खाएनन् । फेरि हलेदो लगाएका छन् । यसपाली भने राम्रैसँग गाँजिएको छ । अब फेरि अलैंची लगाउने योजना समुहको छ । महिला समुहमा एक सय घरधुरी छन् ।

घाँसदाउरा निकाल्दा हुने ससाना आम्दानी पनि उनीहरुले खर्च नगरी समुहको बैंक खातामा राखेका छन् । वनलाई अरुभन्दा राम्रो, सधै हरियाली र त्यसबाट आम्दानी बढाउँदै सबै उपभोक्ताहरुलाई लाभ दिने सपना समुहकी अध्यक्ष बोहोरासँग छ । त्यसैले पनि वनलाई सारै जतन गरेर हुर्काएका छन् महिलाहरुले । “हावापानी राम्रो बनाउने र वातावरण जोगाउन पनि वन चाहिन्छ भन्ने कुरा बाहिर फेर जाँदा सिकेको र सामुदायिक वन उपभोक्ता महासंघले ज्ञडज्ञ वन संरक्षण गर्दै महिलाहरुलाई अघि बढाउन सक्रिय हुनुपर्छ भनेर सिकाएकोले मैले वन जोगाउन नेतृत्व लिएकी हुँ” अध्यक्ष बोहोराले भन्नुभयो ।

अध्यक्ष जस्तै अरु महिलाहरु पनि संरक्षणमा सक्रिय छन् । उनीहरुलाई छोराछोरी जस्तै प्यारो छ वन । बाउआमाको जस्तै माया छ वनको । त्यसैले त झेँक्रा काट्न पनि रोक लगाइएको छ । अध्यक्ष बोहोराले त वनमा जथाभावी सिस्नो काट्न पनि पाइन्न भनेर कडिकडाउ गर्नुहुन्छ भन्छन् उपभोक्ताहरु पनि । हुन पनि महिलाहरुको यो तहको सक्रियता नहुँदो हो त बाह्र बर्षमै रित्तो पाखो हरियाली वन कसरी हुन्थ्यो र ? त्यसैले त्यो वनलाई नजिकबाट देख्नेहरु लोभिन्छन् । सबैले कति राम्रो वन भनेर तारिफ गर्दा समुहका महिलाहरु पनि दंग पर्दै उत्साही हुन्छन् । अझ अध्यक्ष बोहोरा त फुरुङ्गै पर्नुहुन्छ ।

वन संरक्षणमा लाग्नुको कारणबारे उहाँले भन्नुभयो– जलवायू परिवर्तनले पारेको असरले नेपाललाई पनि धेरै प्रभाव परेको छ । वनका तालिम, महासंघका छलफलमा यस्तै कुरा सुनेकोले पनि मलाई वन जंगल जोगाउन र हुर्काएर त्यसबाट समुदायले लाभ लिने बनाउन मन लाग्छ । हाम्रो समुहमा मात्रै हैन, अन्यत्र जाँदा पनि मैले सबैलाई वन जोगाउन र महिलाहरुलाई त्यसको अगुवाई गर्न आग्रह गर्ने गरेकी छु । वन मेरो हृदयमा टासिँएको छ । त्यसैले मैले हाम्रो समुहका दिदीबहिनीहरुसँग भन्ने गरेकी छु– “मलाई मरेपछि पनि वनमै राखिदिनू ।”

हरियाली महिला सामुदायिक वन

प्रकाशित मिति : 13 डिसेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस