समुदायकै जोडबलमा संरक्षण थालेपछि रित्तो र नाङ्गो पाखोलाई पनि हराभरा र लोभलाग्दो वन बनाउन सकिन्छ भन्ने एउटा उदाहरण डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ मा रहेको कुमालीकोट सामुदायिक हो । जहाँ करिब २ दशक अघिसम्म केही थिएन, थियो त केबल गौचरनका रुपमा रित्तो पाखो क्षेत्र । त्यही ठाउँ अहिले हरियाली वनमा परिणत भएको छ । आफ्नै आँखा अगाडिको खाली पाखो हेर्दाहर्दै हरियो वन बनेको देख्दा कमालीकोट गाउँका पाका पुस्ताहरु पनि अचम्म मान्छन् ।
यसरी रित्तो पखेरोलाई हरियाली वन बनाउन स्थानीय उपभोक्ताले मेहनत धेरै नै गरेका छन् । २०५४ सालमा सामुदायिक वनका रुपमा संरक्षण शुरु हुनु अघि गाईवस्तु चराउने ठाउँका रुपमा परिचित थियो । तर जब उपभोक्ता समुहले आफ्नो जिम्ममा लिए, त्यसपछि उनीहरुले निकै चासो दिएर वन बनाए । खाली चरनमा बिरुवा रोप्न नर्सरी स्थापना गरियो । बकैना, बाँस, अम्रिसो, सिसम्, रिठ्ठा लगायत विभिन्न जातका डालेघाँस ज्ञडघ र रुखका बिरुवा रोपेर स्थानीयले संरक्षणमा कडीकडाउ गरे ।
करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन जोगाउन २–३ जना हेरालु नै राखेर संरक्षण त थालियो तर त्यसका लागि आवश्यक पर्ने रकम गाउँलेहरुसँग थिएन्, नत सरकारले नै दियो । त्यसैले उनीहरुले आफैंले घर–घरबाट मानापाथी अन्न उठाउने निर्णय गरे । पाँच सय घरधुरी आवद्ध रहेको उपभोक्ता समुहले एक दैलो एक पाथी अन्न उठाउने प्रस्ताव गरेपछि गाउँलेहरुले वन जोगाउनकै लागि आफ्नो भकारीमा राखेको अन्न झिकेरै भएपनि दिन तयार भए ।
वनकै लागि एक घर एक पाथी अन्न बर्षमा दुई पटक उठाइन्छ । एक सिजन धान पाक्दा र अर्को सिजन गहुँ पाक्दा । अनि त्यही अन्न हेरालुलाई पारिश्रमिक बापत दिने गरिएको छ । अरु आम्दानी नहुँदा घरधुरीले अन्नपात उठाएर भएपनि वन जोगाउँदै आएको कमालीकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रेमसिंह कठायतले जानकारी दिनुभयो । आफूले खाने गास दिएर वन जोगाउनुले उपभोक्ताको सामुदायिक वन संरक्षण कति धेरै लगाव छ भन्ने प्रष्ट हुन्छ ।
त्यसैगरी संरक्षणको अभियानमा सहभागी वन हेरालुको उदारताले पनि यो सम्भव भएको हो । किनभने आफ्ना सारा काम र सम्भावित त्यो भन्दा राम्रो रोजगारीको अवसर छाडेर वन जोगाउँन दौडधुप गर्दा न्यून ज्याला त्यो पनि अन्नपातमा चित्त बुझाउँनु उदारता र वन संरक्षणप्रतिको लगावकै कारण सम्भव भएको हो । तर आधुनिक समयको माग र आवश्यकता तथा रोजगारीका वैकल्पिक अवसरको खोजी हुन थालेपछि वन हेरालुहरुले अब नगद नै पारिश्रमिकको माग गर्न थालेका छन् ।
तर अहिलेसम्म उपभोक्ताहरुबीच मानापाथीमै सहमति छ । तर समय धेरै परिर्वतन भएको र मानापाथीले वन हेरालुको खाजा खर्च बराबर पनि नथेग्ने भएकोले अब विकल्पका बारेमा पनि सोच्ने तयारी भैरहेको अध्यक्ष कठायतले बताउनुभयो । ज्ञडद्ध समुहले वृक्षरोपण गरि दिनरात गरेर जोगाएको वन बाक्लो हुँदैछ । रुख ठूला भैरहेका छन् । घाँसपात र जडीबुटी राम्रैसँग हुर्कँदै छ । आवश्यक पर्दा घाँस दाउरा समेत पाउन थालेपछि उपभोक्ताहरु पनि खुसी छन् ।
उपभोक्ता समुहकी सचिव कलावती कठायतले भन्नुभयो–हामी आफैले गास कटाएर जोगाएको वन अहिले हराभरा हुँदा खुसी लागेको छ । समुहले अचेल बर्षमा २ पटक वन खुला गर्छ । त्यसबेला उपभोक्तालाई न्यायपूर्ण तरिकाले घाँस दाउरा वितरण गरिँदै आएको छ । पहिलो पल्ट घर बनाउनेलाई भएसम्म काठ दिएर पनि समुहले सहयोग गर्दै आएकोले उपभोक्ताहरुलाई आफ्नोपनको आभास मिलेको समुहका उपाध्यक्ष विष्णु कठायतले बताउनुभयो ।
बस्ती आसपासमा सामुदायिक वन हुनुको फाईदा लिन थालेका कमालीकोटका उपभोक्ताले वनलाई अझै राम्रो बनाउने र लाभ पनि लिने योजना बनाएका छन् । अहिले उपभोक्ता समुहसँग आम्दानी नभएपनि बिस्तारै २–४ पैसा जम्मा गर्दै आयआर्जन बढाउने लक्ष्य उपभोक्ता समुहको छ । अध्यक्षले भन्नुभयो–‘हाम्रो समुहको खासै आम्दानी छैन्, भएको केही पैसा पनि हामीले जिल्लाबाट वनको कामका लागि कर्मचारी बोलाउँदा चिया खाजा खर्चमै सकिन्छ । त्यसैले आय बढाउने योजनामा छौं ।’
वनमा लगाएका रिठ्ठा लगायतका जडीबुटीबाट उत्पादन हुन थालेपछि बिस्तारै आम्दानी थपिने अपेक्षा समुहले गरेको छ । वन हुर्काएपछि भोलीको पुस्तालाई पनि हस्तान्तरण गर्ने र गाउँलेहरुलाई आवश्यकता पर्दा गर्जो आफ्नै वनबाट टार्ने सपना उनीहरुको छ । त्यसबाहेक गरिब तथा विपन्नलाई आयआर्जनका लागि सहयोग गर्ने, महिलाहरुलाई अघि बढाउने र क्षमता विकास लगायतका तालिम चलाएर नमुनाका रुपमा काम गर्ने लक्ष्य कुमालीकोट सामुदायिक वन उपभोक्ता समुहले राखेको छ ।