अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ३ र ४ मा अवस्थित थाप्ले सामुदायिक वनले नौबिसका उपभोक्ताका लागि वरदान सावित भएको छ । गाउँमा वन नहुँदा स्थानीय बासिन्दालाई घाँसदाउराको चर्को समस्या हुने नै भयो, त्यसैले वादविवाद, प्रतिवाद र सहमति हुँदै अघि बढ्दा रित्तोपाखो अहिले घना जंगलका रुपमा परिणत भएको छ । त्यसैले त संरक्षणमा उत्कृष्ठ काम गरे बापत जिल्ला वन कार्यालयबाट पाँच पटक पुरस्कृत भएको छ र वन संरक्षणमा योगदान गरेका समुहका अध्यक्ष पदमबहादुर बोहोरालाई सरकारले समाजसेवा रत्न पदकबाट विभूषित गरेको छ ।
वन संरक्षणमा उपभोक्ताहरु पहिलेदेखि नै जागरुक थिए । किनभने नजिक वन नहुँदाको सास्ती र घाँस दाउराका लागि हण्डर–ठक्कर उनीहरुले धेरै खाएका थिए । एकभारी दाउरा र घाँसका लागि झिसमिसेमै गाँस टिपेर गाउँलेहरु, त्यसमा पनि प्रायजसो महिलाहरु बुढीगंगाको किनार ज्ञढछ हुँदै जंगल खोज्दै धाउँनुपर्ने बाध्यता थियो । दिनभर असिनपसिन हुँदै बल्लतल्ल जम्मा गरेका घाँसदाउरा लिएर झमक्क साँझ परेपछि घर फर्कदा बाटोमा गाली खानेमात्रै हैन, भारी लुटिने र खोसिने गथ्र्यो ।
त्यस्ता कैयौं घटनाका साक्षी बनेका थाप्ले सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पदमबहादुर बोहोरा भन्नुहुन्छ–‘कैयौं पटक घासँदाउरा खोसिने र लुटिन्थ्यो, भारी लुटिएपछि महिलाहरुमा रुवावासी नै चल्थ्यो । त्यसैले वन चाहिन्छ भनेर हामीले दिलोज्यान दिएर रित्तो पाखोमा बिरुवा रोप्ने र हुकार्उने गर्न थालेका हौं ।’ उहाँकै अगुवाईमा २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि सामुदायिक वन बनाइएको हो ।
सामुदायिक वनको अवधारणा र कानुनी प्रकृयाबारे तत्कालिन जिल्ला वन अधिकृत जगदिशचन्द्र बरालले जानकारी दिनुभएको थियो । त्यसरी धेरै मेहनत गरेर वृक्षरोपण गरिएको र चरिचरन बन्द गरेर संरक्षण गरेको थाप्ले सामुदायिक वनमा अहिले साल, सल्लो लगायतका रुख ३ फिटभन्दा मोटा भएका छन् । घासँदाउराको समस्या छैन् । निजी जग्गामा पनि कुकाठ र डालेघाँसका रुखहरु प्रसस्तै छन् ।
अहिले वन जुन स्थितिमा आईपुगेको छ, यो त्यही संरक्षण प्रेमको निरन्तरताको परिणाम हो । त्यसपछि २०४९ सालबाट थाप्ले वनले विधिवत् रुपमा नै सामुदायिक वनको मान्यता पाएको हो । यसरी विशेष संरक्षणमा जुट्नेहरु २१ जनालाई सम्मान गरिएको थियो । वनको क्षेत्रफल ८७.४१५ हेक्टर छ । घरधुरी संख्या ५४५ छ । समुहले उपभोक्तालाई वनको स्तर नविग्रने गरी बर्षमा प्रति परिवार ५० क्यूफिट काठ, ५० क्यूफिट सल्लाको दार क्रमशः रु एक सय र ३० रुपैंयामा दिएर सहयोग गर्दै आएको छ ।
आफ्नो कोषबाट सिंचाई, कृषि, शिक्षा र आयआर्जनमा लगानी गरेको छ । घुम्तीकोषको रकम आयआर्जनमा १ प्रतिशत व्याजमा लगानी गर्दै आएको हाल मंगलसेन नगरपालिकाका प्रमुख समेत रहनुभएका उपभोक्ता समुहका अध्यक्ष बोहोराले जानकारी दिनुभयो । त्यसो त यो वनको लामै इतिहास छ । राणा शासनको अन्त्यपछि जनस्तरबाटै वनको संरक्षण थालिएको थियो । वन फडानी जथाभावी ज्ञढट भैरहेका बेला २००७ सालमा नौबिसको खातीगाँउ टोलका ६० घर आगलागीबाट ध्वस्त भएपछि पुनर्निर्माणका क्रममा त्यही वनका साल काट्दा जंगल पुरै फडानी भएको थियो ।
त्यसपछि २००९ साल पुसमा तत्कालिन नौबिस मौजाका स्थानीयले भेला गरेरै थाप्ले वन पाल्ने सल्लाह गरेको इतिहास भेटिन्छ । त्यसैबेलादेखि एकजना वन हेरालु राख्ने गरियो । हेरालुलाई ज्याला दिनका लागि प्रत्येक घरबाट जेठमा चारमाना गहुँ र कार्तिकमा एक पाथी धान संकलन गर्ने गरिएको तथ्य देखिन्छ । थाप्ले वनको इतिहासमा उल्लेख भए अनुसार त्यो बेलाका वन चौकीदारका रुपमा भक्ते आउजी थिए । तर संरक्षण थालेपनि मुखिया, ठालु तथा चौतारियाहरुकै हालीमुहालीले वनको विकास र सोचेजस्तो संरक्षण हुन सकेन् ।
तर चौकीदार राखेर वन संरक्षणको काम सामुदायिक वनका रुपमा हस्तान्तरण भएपनि समेत कायमै छ । २०४१ सालमा पदमबहादुर बोहोराको नेतृत्वमा समिति बनाएर थालिएको संरक्षणको कामले वनलाई हराभरा र अहिलेको अवस्थामा ल्याउने काम गरेको देखिन्छ । समितिले काठ काट्न प्रतिवन्ध लगाउँदै काँचो दाउरा निकाल्न नपाईने, हप्ताको एक दिन शनिबार मात्रै वन खोल्ने तर तोकिएको नियममा रहेर झरे–गलेका दाउँरा बाहेक अरु ल्याउन नपाईने, चरिचरन बन्द गर्ने र संरक्षणका लागि बार्षिक मानापाथी तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
अध्यक्ष बोहोराका अनुसार पहिला– पहिला त वनपाले जतिसक्यो छिटो बाली उठाउन गयो उपभोक्ता महिलाहरु त्यति धेरै खुसी हुन्थे । किनभने उनीहरुलाई वनपालले सजिलैसँग घाँस काट्न देओस् भन्ने रहर हुन्थ्यो ।
समुहले संरक्षणमा कति इमान्दार भएर काम गरेको छ भने बैठक बस्दा पनि समुहको पैसाले चिया समेत खाईदैन । बरु उपभोक्ताको गरिबी हटाउन उनीहरुलाई आयआर्जनका काममा सघाउने, अत्यावश्यक काममा सहुलियतमा रकम दिने गरिन्छ । विद्यालय, सिंचाई, मठ मन्दिर जस्ता सामाजिक काममा समुहले सघाएको फेकोफन अछामका अध्यक्ष प्रेम खत्रीले जानकारी दिनुभयो ।