पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्वर २ इच्छानगरमा पर्छ वनशक्ति सामुदायिक वन । यो वन भारतसँग सिमा जोडिएको क्षेत्र हो । वन घना छ, बस्ती पनि बाक्लो छ । वनको छेउकै बस्ती भएको यहाँ मानव र वन्यजन्तुबीच चर्को द्धन्द छ ।
जंगली जनावरको आक्रमणमा परेर गाउँमा धेरैको बालीनालीमा मात्रै क्षति पुग्ने गरेको छैन्, कैयौंको ज्यान समेत गएको छ । वन्यजन्तुले बालीनाली नोक्सान गर्ने र व्यक्तिको ज्यानै लिँदा पनि यहाँका बासिन्दाले वन संरक्षण र वन्यजन्तुको संरक्षणमा उत्तिकै ध्यान दिँदै आएका छन् । वनशक्ति सामुदायिक वन ११ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उपभोक्ता घरधुरी संख्या झण्डै एक हजार छ । वन २०५८ सालमा समुदायलाई हस्तान्तरण भएको हो ।
द्दण्ज्ञ गाउँमा प्राय जंगली हात्तीले सताउने र ज्यानै लिने भएकोले डर र त्रास उत्तिकै हुन्छ । गैडा, पाटेबाघ, मृग, चित्तल, जरायो, घोरल, बँदेल प्रसस्तै पाईने यहाँ किसानलाई बाली जोगाउन भने सारै सकस छ । तैपनि सुरक्षा निकाय र समुदायको सहकार्यमा वन र वन्यजन्तु संरक्षण गरिँदै आइएको छ । संरक्षणमा वनशक्ति सामुदायिक वन उपभोक्ता समुहको विशेष योगदान छ । नियमित गस्ती त हुन्छ नै, उपभोक्ताले गाउँमा नयाँ व्यक्तिहरु पसेको देख्नासाथ निगरानी गर्छन् ।
कतै वन्यजन्तु चोरी शिकारी हुने हो कि, वन फडानीको खतरा पो छ कि भनेर उनीहरुले अनुगमन बढाउने र सुरक्षा निकायसँग समेत समन्वय गर्ने गर्छन् । भारतसँग त्रिवेणी आश्रमतर्फबाट जोडिएको र खुला सिमाना भएकोले पनि संरक्षणमा उनीहरुले विशेष सतर्कता अपनाउने गरेका हुन् । संरक्षणमा एकदमै महत्वपूर्ण भूमिका निर्वाह गरेर उपभोक्ताहरुले योगदान गर्दै आएका साम े ुदायिक वन उपभोक्ता समुहलाई जिल्ला वन कार्यालयले पुरस्कृत समेत गरेको छ ।
आफू जोगिँदै बालीनाली जोगाउँदै वन्यजन्तु संरक्षण गर्दै आएका उपभोक्ताले सामुदायिक वनबाट घाँसदाउरा प्रयोग गरेर जीविका सहज बनाएका छन् । वन क्षेत्रमा पर्यटक आकर्षण बढाउने उद्धेश्य र जंगली जनावरबाट समेत जोगिन भ्यूटावर बनाईएको छ । यस्तै रानीवनमा वनभोज स्थल समेत निर्माण गरिएको छ । तर आफूले संरक्षण गरेको वनबाट कार्ययोजना अनुसार सुके, ढलेका काठ निकाल्न समेत सरकारले रोकेकोमा भने उपभोक्ताहरुको चर्को असन्तुष्टि छ । ‘आफ्नो ज्यान नै जोखिममा राखेर संरक्षण गरिएकोले वनको स्तर बढेको छ ।
वन्यजन्तु चोरीशिकारी हुन पाएको छैन् । काठ बेच्दा भएको आम्दानी समेत वनकै संरक्षणमा लगाएका छौ । हेरालु राखेका छौं तर कानूनले दिएको अधिकारभित्रै रहेर ढले सुकेका काठ समेत निकाल्न रोकिँदा उपभोक्तामा असन्तुष्टि छ ।’ वनशक्ति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिष्णु विष्टले भन्नुभयो । द्दण्द्द काठ निकाल्न रोक लगाउँदा समुहले वन हेरालुलाई पारिश्रमिक समेत दिन पाएको छैन् । यसले गर्दा दशैं–तिहार जस्ता चाडबाड पनि खल्लो भएको उहाँको भनाई छ ।
अध्यक्ष विष्टले भन्नुभयो–हामीले दिलो ज्यान दिएर संरक्षण गरेका छौं तर हामीले नै कामका बेला उपयोग गर्न नपाईने अवस्था भयो । त्यसले गर्दा उपभोक्तालाई त गाह्रो भयो नै, मलाई अध्यक्ष भएर हिड्न पनि अप्ठ्यारो पर्न थाल्यो ।’ हुनपनि अध्यक्ष विष्टले वन संरक्षणमा खटिँदा धेरै चुनौतीको सामना गर्नुपरेको छ । वनमा गस्ती बढाएपछि चोरी तस्करी गर्ने समुहबाट उहाँलाई चेतावनी र धम्की आउने गरेको छ ।
गत बर्ष त उहाँमाथि आक्रमण नै भएको थियो । नेपाली भूमिमा नभएर भारतमा नुनतेल गर्न जाँदा उतै विभिन्न बाहानामा कुटपिट गर्ने र आगो लगाउने दुस्प्रयास नै भएको उहाँको भनाई छ । ‘२०७६ साल जेठ २ गते तस्करका मान्छेले विभिन्न बाहाना बनाएर मलाई कुटपिट गरेका थिए । उनीहरुले आगो नै लगाउन खोजेका थिए । तर स्थानीय र अरु साथीभाईको प्रतिरोधले जोगिएँ । तैपनि म वन संरक्षणबाट पछि हट्दिन्, कसैसँग डराएर भाग्दिन ।’ अध्यक्ष विष्टले भन्नुभयो ।
यसरी संरक्षण र मानव तथा वन्यजन्तुबीचको द्धन्द न्यूनीकरणको काममा पर्साको वनशक्ति सामुदायिक वनले नमुना काम गरेको छ । उपभोक्ताहरु आफूले सारा हानी नोक्सानी व्यहोरेर पनि वन तथा वन्यजन्तुको संरक्षणमा कति धेरै दत्तचित्त भएर लाग्छन् भन्ने एउटा उदाहरण हो यो ।