सालका पात ल्याएर महिलाहरुले टपरी र दुना बनाएर बेच्दै आएका छन् । यस्तै ब्रिक्रेट उद्योग आयआर्जनको अर्को पाटो हो । जिल्ला वन कार्यालयबाट अनुदानमा उपलब्ध गराएर महिलालाई उद्यम सञ्चालन गर्न सघाएपछि दुना टपरी तथा ब्रिकेट उद्योगबाट २५ घरपरिवारलाई लाभ पुगेको छ । सामुदायिक वनको अगुवाईले लघु उद्यमबाट आयआर्जनमा सहयोग पुगेपछि उपभोक्ताहरु पनि खुसी छन् ।
पूर्वपश्चिम राजमार्गको ढल्केबरबाट २ किलोमिटर उत्तरतर्फ पर्ने यो केमलीपुर सामुदायिक वन क्षेत्रमा १२ हेक्टरभन्दा धेरै क्षेत्रफलमा सिमसार सहितको पोखरी छ । सडक पहुँचबाट नजिक र महत्वपुर्ण क्षेत्र समेत भएकोले पर्यापर्यटनका माध्यमबाट आयआर्जन बढाउन विभिन्न कामहरु भएका छन् । वनभोज स्थल बनाएको छ । सामान्य सिजनमा पनि त्यहाँ दैनिक सरदर २ सय पर्यटक आउँछन् ।
त्यसैले ४–५ जना उपभोक्ताले पसल राखेर आम्दानी लिन थालेका छन् भने बगैंचा बनाएर त्यसको स्याहारमा २ जना उपभोक्तालाई नगरपालिकाले रोजगारी दिएको छ । सिमसार क्षेत्रमा जलासय, पोखरी र त्यस क्षेत्रको रेखदेखले जैविक विविधता संरक्षणमा समेत टेवा पुगेको छ । पोखरीमा माछापालन व्यवसाय समेत सञ्चालन गरिएको छ । त्यसबाट उपभोक्ता र समुहलाई समेत राम्रै फाईदा भएको छ । माछापालनबाट समुहलाई मात्रै बार्षिक करिब ५० हजार रुपैंया आम्दानी हुने गरेको समुहका सल्लाहकार नन्द सिलवालले जानकारी दिनुभयो ।
यस्तै वन क्षेत्रभित्र गाईवस्तु, पशुपंक्षी र जंगली जीवजन्तुलाई खानेपानीको व्यवस्था गरेर अर्को पोखरी पनि बनाइएको छ । त्यो करिब डेढ हेक्टरमा फैलिएको उपभोक्ता समुहका अध्यक्ष होमप्रसाद शर्माले बताउनुभयो । यसैगरी सामुदायिक वनले गल्छी नियन्त्रणका लागि विभिन्न उपायहरु अवलम्बन गरेको छ । पूर्वपट्टी पानीखोली खोलाले बर्खायाममा बाढीसँगै ढुंगा, गिट्टी र गेग्रेटो बगाएर ल्याउने र त्यो वन क्षेत्रमा फैलिँदा त्यसले रुखबिरुवा विनास गर्ने र सुख्खा बगर क्षेत्र बढाउने गरेकोले समुहले ढुंगा, बालुवा छिर्न नदिने गरि ग्याबिन बनाएको छ ।
त्यसको केही तल पानीमात्रै बग्ने गरी तारजाली बनाएर गेग्रेटो र बालुवा रोक्ने उपाय अपनाईको छ । गाउँमा बिद्युत बिस्तार, मर्मत–सम्हार, राष्ट्रिय आधारभूत माविको भवन निर्माण, बसई खोलामा कजवे निर्माण, खानेपानी पाईप बिस्तार, विभिन्न सामाजिक काममा उपभोक्ताहरुको जनश्रमदान लगायतका काममा पनि सहयोग गरिएका अध्यक्ष शर्मा े ले जानकारी दिनुभयो ।