अधिकारको आन्दोलनमा सहभागी फेकोफन अध्यक्ष पाठक सहितका पदाधिकारी प्रहरी नियन्त्रणमा

काठमाडौं । वन उपभोक्ताको अधिकार रक्षाका लागि आन्दोलनमा सहभागी भएका सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक सहितका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल फेकोफनले वन नियमावलीको मस्यौदा उपभोक्ताको अधिकार विरोधी रहेको भन्दै आन्दोलन गर्दै आएको छ ।

प्रदर्शनमा उत्रेका फेकोफनका महासचिव बीर्ख शाही, सचिव ठाकुर भण्डारी लगायत एक दर्जन भन्दा बढी लाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ । सचिव भण्डारीका अनुसार प्रहरीले फेकोफनका अध्यक्ष पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ लगायत छन् ।फेकोफनले सरकारले उपभोक्ताका अधिकार खोस्ने निति बन्द नगरेसम्म आन्दोलन जारी रहने बताएको छ ।

प्रकाशित मिति : 1 फेब्रुअरी 2022, मङ्गलवार
प्रतिक्रिया दिनुहोस